काठमाडौं। नाडा अटो शोको १८औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनाका काठमाडौंको भृकुटीमण्डपमा मंगलबार अटो शो सुरु भएको हो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नाडा अटो शो उद्घाटन गरे। अटो शो मा सवारीसाधन, स्पेयर पार्ट्स र बैंक तथा वित्तीय संस्थाका गरी २०० स्टल राखिएका छन्।

तीमध्ये प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुई पाङ्ग्रेका १३ र स्पेयर पार्टसका ७० वटा हुन्।

चार पाङ्ग्रेतर्फ आयोन, एभलर, बीएडब्लू नेपाल, बीवाइडी, चांगन, चेरी, डीपल, डीएफएसके, डोङफेङ, एकाटा मोटर्स, फारिजोन, फेइदी, फोटोन, जीली, जीडब्ल्यूएम, हिरो, हाइगर, आईकार, जेटोर, जीनबेई, जेएमइभी, कामा, कवानई अटो, लिपमोटर, एमजी, मेटा ईभी, एमहिरो, नाम्मी, नेभो, प्रोटोन, रिडारा, स्कोडा, स्काइवेल, स्काइवर्थ, सोकोन, सुजुकी, टाटा इभी, टाटा मोटर्स कमर्सियल भेहिकल्सलगायत ब्रान्ड सहभागी छन्।

यस्तै दुई पाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा, एम्पियर, अप्रियला, सिप्रदी यात्री, भिडा, जोन्सेन, रिभोल्टलगायत ब्रान्डले स्टल राखेका छन्।

नाडाका अनुसार एपोलो टायर्स, सीएट, गल्फ, मोबिल, मिचेलिन, राल्सन, असियन ब्याट्री, टाटा ब्याट्री, एक्साइडसँग सम्बन्धित उत्पादन तथा सेवा, चार्जिङ कम्पनी, हेल्मेट ब्रान्ड, सवारी ट्र्याकिङ तथा प्रविधि कम्पनी, स्पेयर पार्ट्स र अटो कम्पोनेन्टका व्यवसायीले समेत प्रदर्शनीमा सहभागिता जनाएका छन्।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको भन्दै अब देशभित्रै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताए। उनले विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्नेमा जोड दिए।

यादवले अटो पार्ट्स र एसेसरिजतर्फ स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै युवाहरूलाई स्वदेशमै रोजगारी, तालिम र प्राविधिक कौशल प्रदान गर्नुपर्ने बताए।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल केवल सवारी साधनको व्यापारमा मात्र सीमित नरही उद्योग, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताए।
उनले अटोमोबाइल क्षेत्रलाई सरकारले केवल राजस्वको स्रोतका रुपमा मात्र नहेरि आर्थिक गतिविधि विस्तार गर्ने साझेदारका रूपमा हेर्न आग्रह गरे

उप्रेतीका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ। यो क्षेत्रबाट वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने गरेको छ। उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
‘काठमाडौंको भृकुटीमण्डप आजको आवश्यकता पूरा गर्न पर्याप्त छैन। स्थान अभावकै कारण ट्रक, बस र हेभी इक्विपमेन्टका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न सकिरहेका छैनौं,’ उनले भने।
उनले करका दर तथा नीतिमा पटक-पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भएको उल्लेख गर्दै नीतिगत स्थिरताको माग गरे।

सवारी साधनलाई ‘विलासी’ वस्तुका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। ‘सवारी साधन नागरिकको आवतजावत, व्यवसाय र रोजगारीसँग जोडिएको मुख्य आवश्यकता बनिसकेको छ,’ उनले भने।
उप्रेतीले नेपालमै एसेम्बल भइरहेका सवारी साधन र यसको स्थायित्वका लागि कम्पोनेन्ट (पाटपुर्जा) उद्योगको आवश्यकता औंल्याए। यसका लागि सरकारबाट विशेष सहुलियतको अपेक्षा गरिएको उनले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सुस्त बजार, कमजोर माग र खस्किँदो व्यावसायिक मनोबलका कारण मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीबाट गुज्रिरहेको बताए।
उनले आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो कठिन समय कहिल्यै नदेखेको भन्दै सरकारले बजेटमार्फत उच्च आर्थिक वृद्धि, प्रति व्यक्ति आय वृद्धि र लाखौं रोजगारी सिर्जना गर्ने जस्ता ठूला लक्ष्य घोषणा गरे पनि स्पष्ट रणनीति, ठोस नीति र कार्ययोजनाको अभाव रहेको बताए।

‘केवल भाषण र घोषणामा सीमित नभई देशको अर्थतन्त्रलाई गति दिन समग्र पुनर्संरचना आवश्यक छ,’ उनले भने।
उनले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए। ‘यो क्षेत्रलाई केवल उपभोग्य वस्तु नभई राजस्व र रोजगारीको मुख्य आधारको रूपमा लिन आवश्यक छ,’ उनले भने।

श्रेष्ठले बन्द भएका उद्योग आफैं चलाउन खोज्नुभन्दा निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारको ध्यानाकर्षण गराए।
‘बन्द भएका पुराना उद्योग सञ्चालन गर्ने सोच राम्रो भए पनि हाल चुनौतीपूर्ण अवस्थामा चलिरहेका र नयाँ सञ्चालित आन्तरिक उद्योग नडुबुन भन्नेतर्फ सरकार सचेत हुनुपर्छ। भुइँको टिप्दा पोल्टाको खस्ला,’ उनले भने।
श्रेष्ठले बढ्दो युवा पलायन रोक्नका लागि देशभित्र रोजगारी र ज्याला बढाउनुपर्नेमा जोड दिंदै महासंघ सरकारले लिएको १०० बिलियन डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्नका लागि सहकार्य गर्न तयार रहेको बताए।










