काठमाडौं। नेपालमै निर्मित यात्री स्कुटर सार्वजनिक गरिएको छ।
सिप्रदी यात्रुले निर्माण गरेको विद्युतीय स्कुटर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्कुटर सार्वजनिक गरे। कम्पनीले आफैं डिजाइन गरी स्कुटर उत्पादन गरेको हो।

अर्थमन्त्री डा. वाग्लेले यात्रु स्कुटर उत्पादनबाट नेपालले आफ्नो क्षमता देखाएको बताए।

उनले अरूकाे नक्कल भन्दा आफ्नाे डिजाइनमार्फत विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिंदै नेपालमै डिजाइन गरी उत्पादित स्कुटर एसेम्बल गरेको भन्दा धेरै राम्राे रहेको बताए।

‘नेपालमा केही हुँदैन, विदेश जानु पर्छ भन्ने भाष्य परिवर्तन गर्दै नेपालले बबाल गर्न सक्छ भन्ने वर्ल्ड क्लास प्राेडक्ट बनेकाे छ,’ उनले भने, ‘नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गर्न सक्नु ठूलाे विषय हो।’

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालले आफैं सवारीको डिजाइन, इन्जिनियरिङ र उत्पादन गर्न सक्छ भन्ने देखाएकाे बताए।
४४ वर्षदेखि अटाेमाेबाइल क्षेत्रमा रहेकाे सिप्रदीले यात्री माेटरसाइकलसँग साझेदारीमार्फत नवप्रवर्तनलाई सफल बनाउन खाेजेकाे उनको भनाइ छ।
उनले अहिले पी२ स्कुटर उत्पादन गरेकामा भविष्यमा नयाँ प्रोडक्ट ल्याउने उल्लेख गर्दै यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए।












