आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



बिजमाण्डू
२०८३ भदौ ८ गते ०६:४३ | Aug 24, 2026
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Vigo
GBIME
Tata

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, सोमबार राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ।