नाडा अटो शोमा देखिनेछ ‘मेड इन नेपाल’को सामर्थ्य, प्राथमिकतामा देशभित्रका ८ उत्पादन



शुक्र गिरी
२०८३ भदौ ७ गते २१:१६ | Aug 23, 2026
नाडा अटो शोमा देखिनेछ ‘मेड इन नेपाल’को सामर्थ्य, प्राथमिकतामा देशभित्रका ८ उत्पादन


काठमाडौं। नाडा अटो शो फरक स्वरुपमा आयोजना हुने भएको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अटो शोमा नयाँ तथा आयातित सवारीसाधनसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधनलाई समेत प्राथमिकता दिइने भएको छ।

Vigo
GBIME
Tata

यसअघि साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सम्पन्न भएको थियो। करिब दश दिनको अन्तरालमै सवारीसाधन प्रदर्शनीको अर्को ठूलो इभेन्ट हुन लागेको हो।

नाडामा देशमै उत्पादन र एसेम्बल गरिएका सवारीसाधनलाई प्रदर्शनीको महत्वपूर्ण हिस्सा बनाउन लागिएको आयोजकको भनाई छ। नाडाका अनुसार यस पटकको प्रदर्शनीमा देशमै बनेका ८ वटा उत्पादन राखिनेछन्।

देशभित्र पछिल्लो समय सवारीसाधन एसेम्बलसँगै अटोमोबाइलजन्य सामग्रीको उत्पादन बढ्दै गएको अवस्थामा नाडाले स्वदेशी उत्पादनलाई एउटै प्लेटफर्ममा प्रदर्शन गर्न लागेको हो। यसबाट अटोमोबाइल क्षेत्रमा भइरहेको ‘लोकलाइजेसन’को अवस्था ग्राहकले प्रत्यक्षरुपमा बुझ्न सक्नेछन्।

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती अटो शोमा स्पेयर पार्ट्ससँग सम्बन्धित प्रायः सबै कम्पनीले भाग लिने बताउँछन्।

‘हाम्रोमा नेपाली ब्रान्डसहित सबै स्पेयर पार्ट्स कम्पनी सहभागी हुन्छन्। गाडीको ब्रान्ड बाँडिन्छ। बाइकका पनि केही ब्रान्ड बाँडिने भएको छ,’ उनले भने, ‘नाडा अटो शोले समग्र अटो क्षेत्रलाई समेट्नेछ। हामीले यो पटक केही नयाँ गर्न खोजिरहेका छौं। भिजिटरहरुका लागि सरप्राइज हुनेछ।’

नाडामा मुख्यरुपमा प्राय: सबै व्यापारिक घराना सहभागी हुँदैछन। एमएडब्लू, चौधरी ग्रुप, सिप्रदी ट्रेडिङ, लक्ष्मी ग्रुप, शंकर ग्रुप, विशाल ग्रुप, शारडा ग्रुप, गोल्छा समूह र बीवाइडीको विक्रेता साइमेक्स इंकले सहभागिता जनाउँदै छन्।

सिप्रदी ट्रेडिङले टाटा ब्रान्डको गाडी राख्नेछ। यस्तै, स्पेयर पार्ट्स पनि राख्ने कम्पनीको योजना छ। नाडा अटो शोमा नेपालमा पहिलोपटक उत्पादन भएको दुई पाङ्ग्रे यात्री पनि सहभागी हुँदैछ।

सिजी होल्डिङ्सको सुजुकी र अन्य लुब्रिकेन्ट्स कम्पनी पनि नाडामा सहभागी हुँदैछन्। सीजी ग्रुप अन्तर्गत रिडारा, अवतार, आयोन, स्मार्ट, हिरो तथा लाइट कमर्सियलमा किङलङ र केवाइसी छन्। यी नाडा अटो शोमा राखिनेछन्।

एमएडब्लू ग्रुपले डिपल, नामी र नेभो गाडी तथा लाइट कमर्सियलतर्फ फोटोन र सोकोनलाई नाडा अटो शोमा राख्नेछ। यामाहाका मोटरसाइकल पनि नाडा अटो शोमा देखिनेछन्।

साइमेक्स इंकले नाडा अटो शोमा बीवाइडीका ३ देखि ४ वटा नयाँ मोडलका गाडी राख्ने योजना बनाएको छ।

नेपालकै ८ उत्पादन

नाडाले नेपाली उत्पादनलाई जोड दिंदै आएको छ। जसमा टायर, लुब्रिकेन्ट्स, हेलमेट जस्ता उत्पादन छन्। यो पटक नेपालमै बनेको यात्री स्कुटर मुख्य आकर्षण हुनेछ। 

नेपाली डीएनए भएको सिप्रदी यात्रीको स्कुटर नाडा अटो शोमा डिस्प्ले गर्न लागिएको हो। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ स्वदेशी उत्पादनका कारण पनि नाडा अटो शो पृथक बन्ने बताउँछन्। 

नेपालमा उत्पादित अटो रिक्सा र एसेम्बल हुने ब्रान्डका बाइक पनि नाडा अटो शोमा रहनेछन्।

फ्युचर मोबिलिटीलाई ध्यानमा राख्दै ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्ने योजना नाडाको छ। नेपालमा उत्पादन हुने हेलमेट केपीआई ब्रान्डले पनि सहभागिता जनाउने छ। कोहिनुर प्लास्टिक इन्डष्ट्रिजले केपीआई ब्रान्डको हेलमेट उत्पादन गर्दै आएको छ।

नाडाका अनुसार ‘मेड इन नेपाल’ पेभेलियनमा एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिको एसटीसी राइड एन्ड इनर्जी, एसियन ब्याट्रिज लिमिटेड, नेपाल ल्युब आयल लिमिटेडको गल्फ, पूर्वाञ्चल ल्युब आयल लिमिटेडको पीएलओ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज प्रालिको केपीआई हेल्मेट्स, ल्युब भिस्टा प्रालिको डकह्याम्स, ग्रिन टायर र सिप्रदीको यात्री राखिनेछ।

यसले देशमा अटोमोबाइल उत्पादन तथा एसेम्बलको सम्भावना देखाउनुका साथै बजारमा चिनाउन सहयोग गर्नेछ। ठूलो प्लेटफर्ममा प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने व्यवसायीहरु बताउँछन्।

केपीआईका संस्थापक सुमन बस्यालले नाडा अटो शोले घरेलु उत्पादनलाई स्थान दिनु सकारात्मक भएको बताए। ‘यो प्रदर्शनीले नेपाली उत्पादनको ब्रान्डिङ गर्न ठूलो मद्दत पुर्‍याउँछ,’ उनले भने।

बस्यालका अनुसार नेपाली हेलमेट बजारमा हाल स्वदेशी उत्पादनको हिस्सा ४० प्रतिशत छ। यस्तै लुब्रिकेन्ट बजारमा पनि स्वदेशी उत्पादनको हिस्सा ४० प्रतिशतभन्दा बढी छ।

नेपाल ल्युब आयल लिमिटेड, पूर्वाञ्चल ल्युब आयल र ल्युब भिस्टाले कच्चा पदार्थ विदेशबाट ल्याएर लुब्रिकेन्ट उत्पादन गर्छन्। आफूले उत्पादन गरेका लुब्रिकेन्टको गुणस्तर राम्रो भएको उद्योगीहरुको दाबी छ। पूर्वाञ्चल ल्युबले पीएलओ, मेघा र स्टार लुब्रिकेन्ट उत्पादन गर्छ।

एसटीसी राइड/इनर्जी लिड एसिड ब्याट्री नाडाका अध्यक्ष उप्रेतीको एसटीसी ग्रुपका उत्पादन हो।

ग्रिन टायरका उत्पादक रहेका नाडाका उपाध्यक्ष विक्रम सिंघानिया देशभित्रको उत्पादनले आयातित बजारलाई केही हदसम्म प्रतिस्थापन गर्ने बताउँछन्।

‘हामीले नाडा अटो शोमा मेड इन नेपाल उत्पादन राख्दैछौं। यसमा हाम्रो टायर पनि हुन्छ,’ उनले भने।

नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन र १३ ब्रान्डका दुई पाङ्ग्रे राखिंदैछ। यस्तै अटोमोबाइल पार्टपुर्जा र उत्पादनका करिब ७० स्टल रहनेछन्।