दरबारमार्गमा ३० रोपनी जग्गा किन्दै राष्ट्र बैंक, १२ अर्ब मूल्यांकन, २२ तले टावर बनाइने



बिजमाण्डू
२०८३ भदौ ५ गते ०९:२१ | Aug 21, 2026
दरबारमार्गमा ३० रोपनी जग्गा किन्दै राष्ट्र बैंक, १२ अर्ब मूल्यांकन, २२ तले टावर बनाइने


काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ तले भवन निर्माण गर्ने गरी काठमाडौंको दरबारमार्गमा जग्गा खरिद गर्ने भएको छ। राष्ट्र बैंकले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको जग्गा खरिद गर्न लागेको हो।

Tata
GBIME

‘हामी माथिल्लो तहमा जग्गा खरिद गर्न सहमत भइसकेका छौं,’ गभर्नर डा. विश्वनाथ पौडेलले बिजमाण्डूसँग भने, ‘राष्ट्रिय वाणिज्य बैंकसँग मोलभाउ भइरहेको छ।’ 

दरबारमार्गको त्यो जग्गाको अगाडितिर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। उत्तर-पूर्वतिर राष्ट्रिय वाणिज्य बैंककै कार्यालय छ। त्यहाँ २०७२ बैशाखको भूकम्पपछि राष्ट्र बैंककै बैंक सुपरिवेक्षण विभागसमेत राखिएको थियो।

सो स्थानमा कूल ३० रोपनी जग्गा छ। सरकारी मूल्यांकन र बजार भाउ फरक भएकाले मूल्य तय गर्न अहिले जटिल भइरहेको छ। 

काठमाडौं महानगरपालिकाले दरबारमार्गको जग्गाको भाउ आनाको ७६ लाख रुपैयाँ निर्धारण गरेको छ। यसअनुसार जग्गाको मूल्य ३ अर्ब ६४ करोड ८० लाख मात्र हुन्छ। तर, बजार भाउ प्रति आना ४ करोड रुपैयाँसम्म पनि छ।

राष्ट्रिय वाणिज्य बैंकले प्रति आना २ करोड ५० लाख रुपैयाँ मागिरहेको छ। यस अनुसार उसले ३० रोपनीको १२ अर्ब रुपैयाँ माग गरेको छ। बजार भाउ र सरकारी मूल्यांकन बीच तादात्म्य मिलाएर ‘डिल’ गर्नु पर्ने भएकाले मोलमोलाइ जारी छ।

राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति बिक्री गरेको पैसाबाट पुँजी वृद्धि गर्नु पर्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्रिय वाणिज्य बैंकलाई पुँजी वृद्धि गराउन भनिसकेको छ। सरकारले पनि चालु आर्थिक वर्षको बजेटमार्फत बैंकको पुँजी वृद्धि गर्ने घोषणा गरेको छ।

नाफाबाट मात्र ठूलो रुपमा पुँजी वृद्धि गर्न बैंकलाई समस्या छ। यस्तो अवस्थामा बैंकको ३० रोपनी जग्गा प्रयोजनबिहीन बसेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँगको लिज सम्झौता पनि सकिँदैछ। त्यसपछि उसले अरुलाई जग्गा लिजमा दिन मिल्दैन।

‘हामीलाई पनि धेरै काम आइरहेको छैन। राष्ट्र बैंकले किन्दा विवाद पनि हुँदैन,’ राष्ट्रिय वाणिज्य बैंक उच्च स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयसँग यस बारेमा सरसल्लाह भइरहेको छ।’

राष्ट्र बैंकको संचालक समितिमा पनि राष्ट्रिय वाणिज्य बैंकको जग्गा खरिदका बारेमा छलफल भइसकेको छ। संचालकहरु जग्गा किन्न सकारात्मक छन्। अर्थ सचिव घनश्याम उपाध्याय पनि जग्गा खरिद बिक्रीका लागि सहमत भइसकेका छन्।

गभर्नरका अनुसार त्यहाँ बहुतले आधुनिक भवन निर्माण गरिनेछ। नयाँ भवनमा वित्तीय जानकारी इकाइलगायत महत्वपूर्ण विभाग सारिनेछ। अहिले राष्ट्र बैंकका केही विभाग ललिता निवासभित्रको गैरआवासीय नेपाली संघको भवनबाट संचालित छन्।

राष्ट्र बैंकले खरिद गर्न चाहेको जग्गा अगाडि अन्नपूर्ण स्क्वायर होटल निर्माण हुँदैछ। त्यहाँ पनि २४ तले भवन निर्माण हुनेछ। राष्ट्र बैंकले दरबारमार्गमा मुम्बईमा रिजर्भ बैंक अफ इण्डियाको जस्तो आधुनिक भवन निर्माण गर्न चाहेको छ।

२०७२ को भूकम्पले बालुवाटार र थापाथलीको भवन भत्किएपछि बनाइएको नयाँ भवनमा भर्खरै सरेको राष्ट्र बैंकलाई अझै पनि केही विभाग राख्ने ठाउँको अभाव छ।

नियमन, सुपरिवेक्षणलगायतको दायरा बढ्दै जाँदा राष्ट्र बैंकको काम थपिएको छ। त्यही भएर उसले सरकारी स्वामित्वको बैंकको जग्गा खरिद गर्न चाहेको हो।