काठमाडौं। भदौ ९ गते सुरु हुने नाडा अटो शोका लागि टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा इभी नेपाल आइपुगेको छ।
टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले बुधबार सिएरा इभीलाई थापाथलीस्थित आफ्नो शोरुममा ल्याएको हो।
कम्पनीका अनुसार नाडा अटो शोमा प्रदर्शन गर्ने उद्देश्यसहित सिएरा इभी नेपाल ल्याइएको हो। नयाँ डिजाइन र विद्युतीय प्रविधिसहितको यो गाडीले ग्राहकको ध्यान खिच्ने अपेक्षा कम्पनीको छ।
सिप्रदीले नाडा अटो शोमा टाटाको पन्च इभी र टियागो इभीको फेसलिफ्ट संस्करण पनि प्रदर्शन गर्नेछ। यससँगै टाटाको विद्युतीय गाडीको नयाँ लाइनअप शोमा देख्न पाइनेछ।

सिएरा इभी ४.३ मिटर लामो छ। यसको ह्वीलबेस २ हजार ७३० मिलिमिटर छ। गाडीको ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर छ।
यसमा ६२२ लिटरको बुट स्पेस दिइएको छ। गाडीमा १८ र १९ इन्चका एलोय ह्वील विकल्प उपलब्ध छन्।
सिएरा इभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्। यसमा सिंगल मोटर र डुअल मोटर विकल्प पनि उपलब्ध छन्।
गाडीमा विभिन्न सडक र भू-भागअनुसार चलाउन मिल्ने टरेन मोड दिइएको छ। यसमा नर्मल, ग्रास, स्नो, ग्राभेल, स्यान्ड, रक क्रल र कस्टम मोड छन्।
चार्जिङका लागि ७.२ किलोवाटको एसी फास्ट वाल चार्जर उपलब्ध छ। यससँगै ३.३ किलोवाटको पोर्टेबल चार्जर पनि छ।

सिएरा इभीमा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ विकल्प छन्। यसले सहरी यात्रासँगै फरक भूगोलमा समेत गाडी प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गरेको देखिन्छ।
नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिने सिएरा इभी टाटाको विद्युतीय सवारी खण्डमा थप आकर्षण बन्ने अपेक्षा गरिएको छ। शोमार्फत नेपाली बजारमा यसको डिजाइन, प्रविधि र क्षमताबारे ग्राहकले प्रत्यक्ष जानकारी लिन सक्नेछन्।








