अनुसन्धानमा दीर्घकालीन लगानी बढाउँदै एआई पूर्वाधार विकासमा जोड दिनुपर्छ : सन्ध्या सिटौला



बिजमाण्डू
२०८३ साउन ३० गते १८:२७ | Aug 15, 2026
अनुसन्धानमा दीर्घकालीन लगानी बढाउँदै एआई पूर्वाधार विकासमा जोड दिनुपर्छ : सन्ध्या सिटौला


काठमाडौं। नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले नेपालमा एआईको विकास र प्रयोग बढाउन अनुसन्धानलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने बताएकी छन्।

Tata
GBIME

उनले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्र नहेरी सरकारी तथा निजी क्षेत्रमा यसको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिइन्।

सिटौलाले अनुसन्धानबाट तत्काल प्रतिफल नआउने बताइन्। त्यसैले अनुसन्धानमा निरन्तर र दीर्घकालीन लगानी आवश्यक रहेको उनको भनाइ छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्। ‘एआई एण्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ विषयक संवादमा उनले एआईको सम्भावनाबारे चर्चा गरिन्।

सिटौलाका अनुसार अहिले एआईले गर्ने कामबारे आम मानिसमा पहिलेभन्दा धेरै जानकारी पुगेको छ। तर, यसको सम्भावना र प्रयोगका विषयमा अझै व्यापक रूपमा बुझाउन आवश्यक रहेको उनले बताइन्।

उनले एआईसम्बन्धी बहसमा रोजगारी गुम्ने विषयलाई मात्रै प्राथमिकता दिन नहुने बताइन्। एआईले सेवा प्रवाह, काम गर्ने शैली र उत्पादकत्वलाई कसरी सहज बनाइरहेको छ भन्ने विषयमा पनि बहस आवश्यक रहेको उनको भनाइ छ।

सरकारी निकायमा समेत एआईको प्रयोग विस्तार गर्नुपर्ने सिटौलाले बताइन्। नयाँ प्रविधिको प्रयोगले सरकारी तथा निजी क्षेत्रका धेरै कामलाई सरल र प्रभावकारी बनाउन सक्ने उनको धारणा छ।

सिटौलाले अनुसन्धानसँगै डेटा सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि लगानी बढाउनुपर्ने बताइन्। नेपाल प्रविधिको उपभोक्ता मात्र नभई अनुसन्धान र प्रविधि विकासमा योगदान गर्ने मुलुकका रूपमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार एउटा मात्र अनुसन्धान संस्थाको प्रयासले प्रविधिको विकास सम्भव हुँदैन। सरकार, निजी क्षेत्र, विश्वविद्यालय र अनुसन्धान संस्थाबीच सहकार्य बढाउन आवश्यक रहेको उनले बताइन्।

नेपालमा भएका अनुसन्धानलाई स्थानीय समस्या समाधानमा प्रयोग गर्न सकिने सिटौलाको भनाए छ। स्थानीय डेटा प्रयोग गरेर समस्या समाधान गर्न सकिने अनुसन्धानलाई व्यवहारमा लागू गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको धारणा छ।

नेपालमा प्रतिभाशाली विद्यार्थी र नयाँ सोच भएका युवाको संख्या ठूलो रहेको उनले बताइन्। तर, उनीहरूलाई आवश्यक अवसर, स्थान र एक्सपोजर दिन नसकिएको भन्दै उनले निजी क्षेत्रले पनि नेपाली प्रतिभामाथि विश्वास गर्नुपर्ने बताइन्।

सिटौलाका अनुसार अनुसन्धान र नवप्रवर्तनमा सरकारको भूमिका महत्त्वपूर्ण भए पनि निजी क्षेत्रको लगानी उत्तिकै आवश्यक छ। सहकार्य बढाउन सके स्थानीय समस्या समाधान गर्ने प्रविधि विकाससँगै नेपाली प्रतिभालाई देशमै अवसर सिर्जना गर्न सकिने उनले बताइन्।

उनले एआई र नयाँ प्रविधिलाई रोजगारीमा पर्ने असरबाट मात्र मूल्याङ्कन गर्न नहुने बताइन्। अनुसन्धान, डेटा सुरक्षा, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि र नेपाली प्रतिभाको उपयोगसँग जोडेर एआईको विकास अघि बढाउनुपर्ने उनको निष्कर्ष छ।