सञ्जय पौडेल भन्छन्- सवारी साधनको डेटा सुरक्षादेखि गुणस्तर परीक्षणमा सरकार गम्भीर बन्नुपर्छ



बिजमाण्डू
२०८३ साउन ३० गते १७:५७ | Aug 15, 2026
सञ्जय पौडेल भन्छन्- सवारी साधनको डेटा सुरक्षादेखि गुणस्तर परीक्षणमा सरकार गम्भीर बन्नुपर्छ


काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले सवारी साधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण र प्रविधि नियमनमा सरकार सक्रिय हुनुपर्ने बताएका छन्।

Tata
GBIME

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को कार्यक्रममा बोल्दै पौडेलले सरकार, उद्योग र प्रविधि प्रदायकबीच सहकार्य आवश्यक रहेको बताए। उनले आधुनिक सवारी साधनलाई प्रविधिको दृष्टिकोणबाट हेरेर नीति र पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए।

पौडेलले आयात हुने सवारी साधनको गुणस्तर परीक्षणका लागि प्रयोग हुने प्रविधि र उपकरण समयानुकूल बनाउनुपर्ने बताए। सीमा नाकादेखि गुणस्तर परीक्षणसम्मका प्रणालीलाई आधुनिक बनाउनुपर्ने उनको भनाइ छ।

उनका अनुसार आयातअघि र आयातपछि सवारी साधनसम्बन्धी डेटा कसरी संकलन गर्ने भन्ने स्पष्ट प्रणाली आवश्यक छ। संकलित तथ्याङ्कको गुणस्तर मापन र प्रयोगका लागि पनि सरकार तथा सम्बन्धित निकायले प्रविधि प्रदायकसँग सहकार्य गर्नुपर्ने उनले बताए।

आधुनिक सवारी साधनले ठूलो मात्रामा डेटा उत्पादन गर्ने भएकाले त्यसको व्यवस्थापनलाई नीतिगत विषय बनाउनुपर्ने पौडेलको भनाइ छ। अहिले कम्पनीहरूले आफैँ डेटा राख्ने र त्यसैका आधारमा समस्या समाधान गर्ने अवस्था रहेकाले यसमा सरकारी भूमिका आवश्यक रहेको उनले बताए।

विशेषगरी विद्युतीय सवारी साधनबाट ब्याट्री, रेन्ज, चार्जिङ, ऊर्जा खपत र सुरक्षासम्बन्धी धेरै डेटा उत्पादन हुन्छ। यस्तो तथ्याङ्क व्यवस्थित रूपमा प्रयोग गर्न सके अनुसन्धान, नीति निर्माण र उपभोक्ता सुरक्षामा सहयोग पुग्ने पौडेलले बताए।

सवारी साधनमा सफ्टवेयर, सेन्सर र कनेक्टिभिटीको प्रयोग बढेसँगै डेटा साइबर सुरक्षाको विषय पनि बनेको छ। त्यसैले डेटा कहाँ राख्ने, कसरी सुरक्षित गर्ने र त्यसको जिम्मेवारी कसको हुने भन्ने विषय स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

पौडेलले नेपालमा साइबर सुरक्षा नीति कार्यान्वयनमा रहेको र राष्ट्रिय एआई नीति पनि अघि बढाइएको बताए। अब प्रविधिको क्षेत्रमा लगानी गर्दा नेपालको आवश्यकता र आर्थिक सम्भावनाका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए।

सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा निश्चित क्षेत्र पहिचान गरेर अनुसन्धान अघि बढाउनुपर्ने पौडेलको धारणा छ। सरकारसँग प्रविधि विकासका स्पष्ट प्राथमिकता र निश्चित समयसीमा हुनुपर्ने उनले बताए।

सरकारी निकाय, अटोमोबाइल कम्पनी, विश्वविद्यालय, अनुसन्धान संस्था र प्रविधि कम्पनीबीच सहकार्य बढाउनुपर्नेमा पनि पौडेलले जोड दिए। डेटा, ज्ञान र अनुसन्धानमा खुलापन बढाउन सके नेपालले नयाँ प्रविधिको विकास र प्रयोगलाई तीव्र बनाउन सक्ने उनको भनाइ छ।

नेपालमा विद्युतीय र स्मार्ट सवारी साधनको संख्या बढिरहेका बेला प्रविधिको मापदण्ड र गुणस्तर परीक्षणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ। त्यससँगै डेटा सुरक्षा र साइबर सुरक्षालाई समेटेर स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता पनि पौडेलले औँल्याएका छन्।