काठमाडौं। भारतीय ब्याट्री रिसाइकल कम्पनी रिब्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) करण खुरानाले अटो व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु व्यवहारिक नहुने बताएका छन्।
उनले नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले शुक्रबार गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा ब्याट्री व्यवस्थापन व्यवसायीको व्यावसायिक दायित्वभित्र नपर्ने बताए।
‘नेपालमा हाल ब्याट्री रिसाइक्लिङको कुनै छुट्टै उद्योग छैन। अधिकांश रिसाइक्लिङका काम अन्यत्रै हुने गर्छन्। यदि अटोमोबाइल आयातकर्तालाई नै ब्याट्री रिसाइक्लिङको जिम्मा लिन भनियो भने त्यो उनीहरूको मुख्य व्यावसायिक दायित्वभित्र नपर्ने हुनाले यो व्यवहारिक नहुन सक्छ,’ उनले भने।
उनले पुराना ब्याट्रीको व्यवस्थापन र रिसाइक्लिङको विषय निकै संवेदनशील भएको बताए। उनले नेपालको भौगोलिक बनावट र खुला सिमानाका कारण अन्य देशको तुलनामा यहाँ ब्याट्री रिसाइक्लिङ र ट्र्याकिङमा फरक चुनौती रहेको बताए।
उनले काठमाडौंमा ब्याट्री रिसाइक्लिङको इकोसिस्टम बनाउन केही सहज भए पनि दुर्गम तथा हिमाली क्षेत्रमा निकै जटिल हुने बताए। त्यसैले, राजमार्गमा आधिकारिक संकलन केन्द्र तोक्नुपर्ने उनको सुझाव छ।
ब्याट्री रिसाइकल कम्पनी लोहम क्लिनटेक इन्डियाका असिस्टेन्ट जनरल म्यानेजर जतिन मक्कारले इभीमा भएको ब्याट्री रिसाइकल गरेपछि मूल्यवान वस्तु बन्ने बताए। उनले ब्याट्रीलाई खतरनाक फोहोर भनिए पनि सुन जस्तै अत्यधिक मूल्यवान सामग्री भएको बताए।
‘नेपाल र भारत जस्ता देशमा आयात हुने ब्याट्रीमा अलुमिनियम, कपर, लिथियम, निकल र कोबाल्ट जस्ता क्रिटिकल तथा बहुमूल्य खनिज हुन्छन्,’ उनले भने, ‘जबसम्म हामी ब्याट्रीलाई केवल फोहोर वा खतरनाक भनेर सोच्छौं, तबसम्म यसलाई जसरी पनि पन्छाउने सोच विकास हुन्छ। तर, यसलाई उपयोगी र मूल्यवान सामग्रीका रूपमा हेर्न थालेपछि यसलाई संरक्षण गर्ने दृष्टिकोण बन्छ।’

मक्कारका अनुसार नेपालमा आयात हुने गाडीका ब्याट्री ५० देखि ६० किलोवाट आवर क्षमता र करिब ४०० किलो तौलका हुने भएकाले त्यसमा रहेका करिब ३०० किलोभन्दा बढी सामग्रीहरूलाई पुनः प्रयोग गर्न सकिन्छ।
ब्याट्रीको जीवन समाप्त भएपछि पनि यसमा पर्याप्त ऊर्जा बाँकी रहने हुनाले यसको आर्थिक मूल्य हुने उनको भनाइ छ। ‘यसमा ऊर्जाको पुनः प्रयोगबाट प्राप्त हुने मूल्य एलिमेन्ट निकाल्दा भन्दा बढी हुन्छ,’ उनले भने।










