काठमाडौं। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)का संस्थापक आकाश गोल्छाले ब्याट्री व्यवस्थापन सवारी आयातकर्ताले मात्र गर्न नसक्ने भन्दै अलग्गै कम्पनी खडा गर्नुपर्ने बताएका छन्।
नाइमाले शुक्रबार गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा गोल्छाले भारतको उदाहरण दिँदै ब्याट्री व्यवस्थापनका लागि छुट्टै कम्पनीको आवश्यकता औंल्याएका हुन्।
उनले इभी मात्र नभई मोबाइल फोन, ल्यापटप लगायत उपकरणको ब्याट्री व्यवस्थापन गर्न जरुरी रहेको बताए।
‘नेपालमा इभीको मात्रै होइन, मोबाइल फोन र ल्यापटप जस्ता उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन आज ठूलो चुनौती बनेको छ,’ उनले भने, ‘अहिले यस सम्बन्धी कुनै कानुन छैन। सरकारलाई समेत यसको यथार्थ अवस्थाबारे पूर्ण जानकारी छैन।’
गोल्छाले ब्याट्री व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको बताए। ‘अहिले आयातकर्तामा वारेन्टीसहितका ब्याट्री मात्र फिर्ता आउने गरेका छन्। गाडी दुर्घटनापछि ब्याट्री फालिएमा त्यसको जिम्मेवारी कसको भन्ने स्पष्टता छैन। सरकारले आयातकर्तालाई नै दोषी वा जरिवाना गर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यो समस्या समाधानका लागि सरकारले स्पष्ट नीतिगत व्यवस्था गर्न आवश्यक छ।’
उनले नेपालबाट ब्याट्री निर्यात गर्न पनि समस्या रहेको बताए। ‘ब्याट्री निर्यात गर्दा उचित मूल्य पाइने हो भने ब्याट्री ग्रे मार्केटमा जानबाट रोक्न सकिन्छ,’ उनले भने, ‘नेपालमा ब्याट्री रिसाइक्लिङको पूर्वाधार नभएको अवस्थामा भारततर्फ निर्यात गर्न सकिन्छ, यसले भ्यालू एड गर्न सक्छ।’
सरकारले ब्याट्री व्यवस्थापनमा कडा नियम ल्याए स्टील उद्योगमा जस्तै समस्या निम्त्याउने उनको भनाइ छ।










