काठमाडौं। स्मार्ट टेलिकमको धितो लिलाम गरेर पैसा उठाएको नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई मुद्दा दायर भएपछि राष्ट्र बैंक बोलेको छ।
सरकारले बुधबार साँझ निक्षेपकर्ताको पैसा सुरक्षित गर्न लिलामीमार्फत ऋण उठाएको बैंकका प्रतिनिधिहरुमाथि मुद्दा दायर गरेको थियो। आफ्नो कार्यक्षेत्रमा ठाडो हस्तक्षेप गर्दा समेत नबोलेको राष्ट्र बैंकले बिहीबार भने विज्ञप्ति जारी गर्दै बैंक सवल अवस्थामा रहेको जनाएको छ।
अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने राष्ट्र बैंकले सुपरिवेक्षणमा कैफियत नभएपनि प्रहरीले लगाएको आरोपको खण्डन गरेको छैन। राष्ट्र बैंकले यही अभिभावकीय भूमिका निर्वाह नगरेको भन्दै बैंकर तथा समग्र व्यवसायीहरु निरास भएका बेला बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकलाई नजिकबाट नियालीरहेको जनाएको छ।
‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध सम्मानित काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषय नेपाल राष्ट्र बैंकको जानकारीमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ।
बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा आफूले नजिकबाट अनुगमन गरिरहेको तथा विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल भइरहेको जनाएको छ।
‘हाल बैंकको तरलताको अवस्थालगायत वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डबमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्र बैंकले मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा थप छलफल र कानुनी राय समेत लिएर कानुनबमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन एवम् बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने जनाएको छ।










