हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू नेपाल ल्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा अटो एक्स्पो कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गरेको हो।
जुन सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएको कम्पनीले जनाएको छ।
हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको कम्पनीले जनाएको छ।
अटो एक्स्पोमा ७.२ मिटरका कम्फार्टबस २५+१ र सिटि बस २७+१ सीट क्षमताका बसहरू सार्वजनिक गरिएको छ। यी बसको बजार मल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ देखी सुरु हुने भनिएको छ। नाइमा अटो एक्स्पोमा बुक गर्ने पहिलो ५० ग्राहकहरुलाई पाँच लाख रुपैयाँ विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यो बसको वारेन्टी ५ वर्ष वा २ लाख कि.मि. दिइएको छ। ग्राहकले थप ३ वर्षको एक्सटेन्डेड वारेन्टी समेत खरिद गरी लिन सक्ने कम्पनीले भनेको छ। सार्वजनिक गरिएको बस बिना एयरकन्डिसन रहेको तर ग्राहकको माग बमोजिम थप एयरकन्डिसन समेत खरिद गरी लिन सकिने जनाइएको छ। त्यस्तै, ग्राहकको माग बमोजिम लक्जरी सिट पनि खरिद गरि लिन सकिनेछ।
बसको प्रवेश गर्ने ढोका पनि ग्राहकको माग बमोजिम एक वा दुई नि:शुल्क जडान गर्न सकिने तर दुईवटा ढोका भएमा दुईवटा सिट घट्ने भनिएको छ।
साथै यो कम्पनीले निकट भविष्यमा यसै कम्पनीका ७.२ मिटरका स्कुल बस, ९ मिटरको ३८ सिट र १२ मिटरका ५२ सिट क्षमता भएका बसहरू पनि नेपाल ल्याउन लागेको जानकारी गराएको छ।









