सरकार धेरै समय नटिक्ने प्रचण्डको दाबी, ‘प्रधानमन्त्रीकै कारण परिवेश छिट्टै परिवर्तन हुन्छ’



बिजमाण्डू
२०८३ साउन २५ गते १८:४७ | Aug 10, 2026
सरकार धेरै समय नटिक्ने प्रचण्डको दाबी, ‘प्रधानमन्त्रीकै कारण परिवेश छिट्टै परिवर्तन हुन्छ’


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्वको सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।

Tata
GBIME

उनले सोमबार सिंहदरबारमा संचारकर्मीसँग कुराकानीका क्रममा प्रधानमन्त्री बालेनकै कारण राजनीतिक परिवेश छिट्टै परिवर्तन हुने दाबी गरेका हुन्।

‘सरकार अपरिपक्व छ, आफैं वैचारिक राजनीतिक दिशाबिहीन छ। समुद्रमा कम्पास हराएको जहाज जस्तो भएको हुनाले यो धेरै जाँदैन,’ प्रचण्डले भने, ‘मलाई के लाग्छ भने छिट्टै नै परिवर्तन हुन्छ। लोकतान्त्रिक दिशातिर नै परिवर्तन हुन्छ भन्ने लाग्छ। अब समय तोक्ने त कुरो भएन। भन्नलाई मान्छेले विभिन्न भन्छन्।’

उनले अरु पार्टीमाजस्तै रास्वपामा पनि प्रष्ट रुपमा विवादका संकेत देखिएको बताए। ‘प्रमुख नेतामध्ये एक नेताले मसँग हामी त बाटा बाटामा भेट्या मान्छे लिएर बनाएको पार्टी न हो, कति बेला को कहाँ छुट्छन भन्ने कुरा त्यति टुंगो छैन भने। बाटोमा हिंड्दा हिंड्दै बटुलिएको छ हिंड्दा हिंड्दै सबै हराउने हुन् कि भन्ने डर छ भन्थे,’ प्रचण्डले भने।

उनले रास्वपाभित्र एमाले, कांग्रेस र माओवादीकै मान्छेको जमात रहेको र विवाद उत्पन्न हुनासाथ त्यहाँ उनीहरुलाई टिक्न मुस्किल हुने बताए।

प्रचण्डले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतासँग नियमित संवादमा रहेको र सत्ता सञ्चालनका विषयमा परामर्श हुने गरेको बताए।

सभापति रवि लामिछाने, सभामुख डीपी अर्याल र विराजभक्त श्रेष्ठ सबै मेरो क्याबिनेटमा बसेको साथीहरु हुनुको नाताले मलाई उहाँहरुसँग बुझ्न पनि गाह्रो छैन। उहाँहरुलाई भन्न पनि गाह्रो छैन। संवाद मेरो चाहिँ रेगुलरै भइराख्या छ। कैयौं कुरामा सल्लाह मिलि पनि राख्या हुन्छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन् त्यहाँ त्यस्तो केही भएको छैन,’ उनले भने।

उनले राजनीतिक हिसाबले रविमा परिपक्वता देखिन थालेको भन्दै पछिल्लो भूमिकालाई लिएर प्रशंसा समेत गरे। प्रचण्डले आफूले प्रधानमन्त्री रहेकै बेला रवि निर्दोष रहेको बताएको भन्दै उनले राजनीतिक हिसाबले गुन तिर्न बाँकी रहेको बताए।

उनले संसद् बैठकमा केही नयाँ सांसद देख्दा दिग्दारी लागेको र पूर्वप्रधानमन्त्रीहरु नहुँदा आफूले केही असहज महशुस गरेको बताए। ‘पार्लियामेन्टमा अलि कम भयो मेरो उपस्थिति। त्यो साँचो कुरा हो। पोलिटिकल कल्चरको दृष्टिकोणले फिलोसोफी आइडियोलोजी बुझेका त्यहाँ धेरै छैनन्। कहिलेकाहिँ बडो असहज फिल हुन्छ,’ उनले भने।

प्रचण्डले प्रधानमन्त्री बालेनका सरकारका कारण राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामा चुनौती देखिएको बताए। धर्मनिरपेक्षता हटाउनका लागि राजनीतिक रुपमै केही व्यक्ति योजनावद्ध लागेको उनको दाबी छ।

प्रचण्ड र ओली। फाइल तस्वीर

आफू लगायत केही शीर्ष नेता सरकार बनाउन र ढाल्नमा मात्रै केन्द्रित हुँदा जनतामा आक्रोशित बढेर भदौ २३ र २४ गते निम्तिएको प्रचण्डको स्वीकारोक्ति छ। ‘संविधान बनेपछि हाम्रो ध्यान सरकारमा मात्रै गयो। प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने सरकार बनाउने गिराउने यतै पट्टि हामी घुमि राख्यौं,’ उनले भने।

प्रचण्डले प्रदेशमा आफ्नो पार्टीसँग मिलेर सरकार बनाउने सहमतिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नाविरुद्धको आवाज थामथुम बनाउने औजारका रुपमा मात्र प्रयोग गर्न सक्ने आशंकासमेत गरे।