अटो शोले अफसिजनमा बनाउँदैछ बजार भाइब्रेन्ट, मन्दीलाई बिर्साउने र व्यापार चम्काउने अवसर



शुक्र गिरी
२०८३ साउन २५ गते २१:३६ | Aug 10, 2026
अटो शोले अफसिजनमा बनाउँदैछ बजार भाइब्रेन्ट, मन्दीलाई बिर्साउने र व्यापार चम्काउने अवसर


काठमाडौं। कारोबारका हिसाबले साउन र भदौलाई सामान्यतया सुस्त महिना मानिन्छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजेट कार्यान्वयनका लागि नयाँ कार्यविधिको तयारी र व्यवसायीको नयाँ रणनीतिका कारण आर्थिक गतिविधि तुलनात्मक रुपमा कम हुने गर्छ।

Tata
GBIME

तर, पछिल्लो वर्षदेखि साउन र भदौको यो तस्विर फरक देखिन थालेको छ। कारण हो, लगातार सवारीसाधनको दुई कुम्भमेला। अटो शो नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्दैछन्।

आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षासहित मंगलबार नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदैछ। भदौ ९ गतेदेखि नाडा अटो शो गर्ने तालिका छ। फरक ब्यानरमा हुने दुई अटो शोले यस क्षेत्रको कारोबारलाई नयाँ उचाइमा पुर्‍याउने व्यावसायीहरुको विश्लेषण छ।

एउटै बजारलाई लक्षित गरेर लगातार हुने यी दुई प्रदर्शनीले सामान्यतः सुस्त मानिने साउन-भदौलाई चलायमान समय बनाइरहेका छन्।

तर, यी दुई प्रदर्शनी केवल गाडी देखाउने र बिक्री गर्ने मञ्च मात्र होइनन्। अटोमोबाइल क्षेत्रको आगामी दिशा, लगानीको वातावरण, नयाँ ब्रान्डको प्रवेश, विद्युतीय सवारीको विस्तार, उपभोक्ताको माग र सरकारको कर नीतिसम्मको प्रभाव देखाउने महत्वपूर्ण इन्डिकेटर पनि हुन्।

अटोमोबाइल क्षेत्र नेपालमा गाडी बिक्रीसँग मात्रै जोडिएको छैन। यससँग बैंक तथा वित्तीय संस्था, बीमा, स्पेयर पार्ट्स, सर्भिस सेन्टर, चार्जिङ पूर्वाधार, इन्धन, रोजगारीदेखि सरकारको राजस्वसम्मको ठूलो हिस्सा जोडिएको छ। त्यसैले अटो शोमा हुने कारोबारले एउटा उद्योगको मात्र अवस्था देखाउँदैन, अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्साको ‘मुड’ समेत देखाउँछ।

लगातार हुने यी दुई अटो शोले बजारलाई कति चलायमान बनाउलान्? यसपटकको अटो शोमा लाग्ने घुइँचो र कारोबारले अटो बजारको भविष्य कस्तो छ भन्ने संकेत गर्ला? भन्नेमा व्यवसायीहरुमाझ चासो छ।

नाइमाका संस्थापक तथा अटो व्यवसायी आकाश गोल्छाका अनुसार अटो शोले आर्थिक गतिविधिलाई बढावा दिन्छ।

‘स्टल बुकिङ गर्नेदेखि लिएर स्टल बनाउनेसम्म काम भएको छ। टिकेटिङदेखि लिएर भित्र फुड कोर्ट हुनेछन्। यी सबै कुरामा आर्थिक गतिविधि हुन्छन्,’ गोल्छा भन्छन्, ‘साथै एउटै स्टल ६०/७० लाख रुपैयाँ खर्च गरेर बनाइएका छन्। साढे १८ लाख रुपैयाँ त स्टलको रेन्ट नै छ। यो सबै चक्रभित्र अर्थतन्त्रका विभिन्न क्षेत्र चलायमान हुन्छन्।’

गोल्छाका अनुसार विभिन्न क्षेत्रमा पैसा जाँदा अर्थतन्त्रलाई टेवा पुग्छ। ‘अटो शोले सर्ट-टर्मको रोजगारी पनि सिर्जना गर्छ। स्टल बनाउने मान्छेले काम पाएका छन्। त्यहाँ नजिक भएका होटल तथा पसलको व्यापार बढ्छ,’ गोल्छाले भने।

अटो शोमा सवारीसाधन बुकिङ हुन्छन्। जुन सवारीसाधन दसैंतिहारसम्म डेलिभरी गरिन्छ। यसले सरकारको खातामा पनि ठूलो रकम जान्छ।

नेपालमा गाडी किन्न वा बुक गर्न ‘अटो शो’ कुर्नेहरु धेरै छन्। उपभोक्ताले ‘अटो शो’लाई नयाँ सवारी खरिद गर्ने वा एक्सचेन्ज गर्ने मेलाका रुपमा हेर्ने गरेका छन्। विशेषगरी दसैंको मुखमा नयाँ गाडी भित्र्याउने संस्कृतिको विकास भएको छ जसलाई यी दुई शोले ‘क्यास’ गर्न खोजेका छन्।

व्यवसायीबीच नयाँ मोडल ल्याउने होडबाजीले पनि अटो बजारमा चमक आउँछ।

शारडा ग्रुपका निर्देशक तथा ‘नाइमा मोबिलिटी एक्स्पो समिति’का संयोजक गौरव शारडा यो एक्स्पोले देशको आर्थिक वातावरणलाई चलायमान बनाउने जिकिर गर्छन्।

‘दीर्घकालीन रुपमा काम गर्नकै लागि रास्वपालाई जनताले छानेर पठाएका हुन्। अहिलेको सरकारका लागि यस्ता कार्यक्रमले आर्थिक गतिविधिमा टेवा दिएर अर्थतन्त्रलाई पनि सबल बनाउन सहयोग गर्छ,’ उनले भने।

एक्स्पोले मन्दीबाट बाहिर निस्किन र व्यावसायिक आत्मबल बढाउन सहयोग गर्नेमा शारडा विश्वस्त छन्। ‘व्यापार गरेर मन्दीबाट बाहिर निकाल्न प्रयास गर्नु हाम्रो धर्म नै हो। अर्थतन्त्र र उद्योग व्यवसायलाई मन्दीबाट निकाल्नका लागि पनि एक्स्पोले सानो भूमिका खेल्न सक्छ भन्ने मेरो ठम्याइ हो,’ शारडाले भने, ‘त्यही भएर हामीले एक्स्पोमा ध्यान दिएका हौं। एक्स्पो राम्रो हुनेमा कुनै शंका छैन।’

शारडाका अनुसार एक्स्पोमा बुकिङ मात्रै भन्दा पनि डेलिभरीले महत्व राख्छ। ‘एक्स्पोको समयमा बुकिङ र व्यापार दुबै हुन्छ। हामीले व्यापार मात्रै हेरेका छैनौं,’ उनले भने।

अर्कातर्फ, नाडा अटो शो आफैंमा एउटा बृहत् ‘इकोसिस्टम’ बनिसकेको छ। जहाँ गाडी मात्र नभएर कम्पोनेन्ट, एसेसोरिज र अन्य स्टल रहनेछन्। समग्रमा, दुवै अटो शोले बजारमा सकारात्मक चहलपहल ल्याउने र विगतका वर्षभन्दा राम्रो आर्थिक गतिविधि हुने अपेक्षा अटो व्यवसायीले गरेका छन्।

नाडामा पहिलो पटक मेड इन नेपाल दुई पाङ्ग्रे सिप्रदी यात्रीको इलेक्ट्रिक स्कुटर अनबक्सिङ हुँदैछ। यसले नेपालको अटो सेक्टरमा एउटा आशाको किरणका रुपमा हेरिएको छ। यसले अब देशभित्र सवारीसाधन उत्पादन गर्न सकिने कुरामा आशा जगाउने व्यवसायीहरुको बुझाइ छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस्ता अटो शोले अर्थतन्त्र र इकोसिस्टममा टेवा पुग्छ।

‘यस्ता अटो शोमा एकतर्फीरुपमा गाडी मात्रै बिक्छ भन्ने हुँदैन। गाडी सँगसँगै अर्कातर्फ बैंकमा थुप्रिएको पैसा पनि ऋणमार्फत बजारमा जान्छ। बीमाको व्यापार पनि गुल्जार हुन्छ। स्पेयर पार्ट्सदेखि सबै इकोसिस्टममा प्रभाव पर्छ। यसले प्रत्यक्ष र अप्रत्यक्षरुपमा आर्थिक गतिविधि भाइब्रेन्ट बनाउँछ,’ उप्रेतीले भने।