काठमाडौं। व्यापारीले कुखुराको मासुको मूल्य लगातार बढाउन थालेका छन्। पशुसेवा विभागले साउन लागेपछि काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण नदेखिएको बताएपछि व्यापाराीले लगातार भाउ बढाइरहेका हुन्।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी फेरि मूल्य बढाएको छ। संघले जिउँदो कुखुराको भाउ प्रति केजीमा १० रुपैयाँ बढाएर २४० रुपैयाँ पुर्याएको छ।
कुखुराको भाउ बढेसँगै तयारी मासु पनि महँगिएको छ। कुखुराको तयारी मासुको मूल्य प्रति केजी ३३० रुपैयाँ पुगेको छ। यसअघि मासुको मूल्य प्रति केजी ३१५ रुपैयाँ तोकिएको थियो।
संघले उत्पादन कम भएका कारण भाउ बढेको बताएको छ। बर्डफ्लुले कुखुराको मासुको खपत ३० प्रतिशतसम्म घटेपछि व्यवसायीले उत्पादन नै घटाएका थिए।










