भन्सारको लफडा नमिल्दा वर्षौँदेखि व्यापार कम्पनीको गोदाममा थन्कियो करोडौंको मदिरा



बिजमाण्डू
२०८३ साउन २१ गते १६:४४ | Aug 6, 2026
भन्सारको लफडा नमिल्दा वर्षौँदेखि व्यापार कम्पनीको गोदाममा थन्कियो करोडौंको मदिरा


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि तयारी गरेको करोडौं रुपैयाँ बराबरको मदिरा अझै गोदाममै थन्किएको छ। लामो समयदेखि भन्सार प्रक्रिया टुंगो नलाग्दा करिब ४ करोड रुपैयाँ बराबरको मदिरा बिक्री हुन नसकेको हो।

Tata
GBIME

उक्त मदिरा करिब १८ वर्षअघि तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेसनले ड्युटी फ्रिमा आयात गरेको थियो। पछि नेशनल ट्रेडिङ कर्पोरेसन खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गाभिएपछि उक्त मदिराको जिम्मेवारी पनि कम्पनीमै आएको हो। त्यसयता मदिरा गोदाममै रहँदै आएको छ।

कम्पनीले गत वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसलमार्फत मदिरा बिक्री गर्ने योजना बनाएको थियो। तर, भन्सार तिर्ने विषयमा सहमति जुट्न नसक्दा योजना कार्यान्वयन हुन सकेन। यस वर्ष पनि समस्या समाधान नहुँदा बिक्री प्रक्रिया अघि बढ्न सकेको छैन।

भन्सार विभागले खरिद गरिएका सबै मदिराको भन्सार महसुल तिर्नुपर्ने अडान राखेको छ। तर, कम्पनीले बिक्री गर्न मिल्ने अर्थात् खानयोग्य मदिराको मात्रै भन्सार तिर्ने प्रस्ताव गरेको छ। यही विषयमा सहमति नजुट्दा प्रक्रिया रोकिएको हो।

कम्पनीका अनुसार १८ वर्षअघि आयात गरिएका मदिराको भन्सार महसुल मात्रै करिब डेढ करोड रुपैयाँ पुग्छ। गोदाममा रहेका केही वाइन, बियर र चुरोटको म्याद सकिइसकेको छ।

गत वर्ष गरिएको परीक्षणमा भने महँगा ब्रान्डका करिब ४ करोड रुपैयाँ बराबरका मदिरा अझै खानयोग्य अवस्थामा रहेको निष्कर्ष निकालिएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले मदिरा बिक्रीका लागि भन्सार विभागसँग निरन्तर समन्वय भइरहेको बताए।

‘उताबाट सहजीकरण गर्दिने कुरा आएको छ। तर, कसरी यसको टुंगो लगाउने भनेर कुनै निर्णय भएको छैन,’ उनले भने, ‘मदिरा बिक्री गर्न भन्सार तिर्नुपर्ने कुरा छ।’

उनका अनुसार गत वर्ष पनि कम्पनीले लामो समयसम्म विभागसँग समन्वयका लागि कर्मचारी खटाएको थियो। तर, विवाद समाधान हुन नसक्दा चाडपर्वका बेला सुपथ मूल्य पसलबाट मदिरा बिक्री गर्ने योजना असफल भयो।

अहिले पनि कम्पनीले यही समस्या समाधानका लागि पहल जारी राखेको छ।

२०६५ सालमा करिब साढे ५ लाख अमेरिकी डलर खर्चेर ह्विस्की, रम, ब्रान्डी, जिन र भोड्का आयात गरिएको थियो। ती मदिरा लामो समयसम्म कम्पनीको रामशाहपथस्थित गोदाममा भण्डारण गरेर राखिएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा आएको बाढीले गोदाममा क्षति पुर्‍याएपछि कम्पनीले मौज्दात मदिराको अवस्था परीक्षण गरेको थियो। परीक्षणपछि खानयोग्य रहेका मदिरा छुट्याएर बिक्री गर्ने निर्णय गरिएको थियो।

तर, भन्सार विवाद समाधान नभएकाले निर्णय कार्यान्वयन हुन सकेन।

हाल कम्पनीसँग विफिटर जिन, गेलभिज जिन, हवाना क्लब, ल्याम्ब्स नेभी रम, डेनिस कार्पेन्टर, केमस भीएस, गोडेट सेलेक्सन लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा मौज्दात छन्। भन्सार प्रक्रिया टुंगिएपछि मात्रै ती मदिरा बिक्रीमा ल्याउने कम्पनीको तयारी छ।