काठमाडौं। नेपाली आइटी कम्पनीले विदेशमा सेवा निर्यात बढाउन थालेका छन्। सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेसँगै पछिल्ला वर्ष सेवा निर्यात बढ्दै गएको हो।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुका अनुसार गत आर्थिक वर्ष ११ महिनामा आइटी सेवा निर्यातबापत ८१ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्ष आइटी सेवा निर्यात बापत ६५ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो।
‘आइटी सेवा निर्यातबापत ठूलो पैसा आइरहेको छ। आइटी सेवा निर्यातले विदेशी मुद्रा बढाउनुका साथै अर्थतन्त्रमा राम्रो योगदान पुर्याइरहेको छ,’ राष्ट्र बैंकका एक अधिकृतले भने, ‘हामीले कुन सेवा निर्यातबाट कति रकम भित्रिन्छ भन्ने छुट्याउनका लागि तयारी थालेका छौं। यसपछि पोलिसी बनाउन र सम्भावनाका आधारमा प्रोत्साहन गर्न सहयोग पुग्नेछ।’
विशेषगरेर रिसर्च, डिजाइन, कन्सल्टेन्सी, डिजिटल सेवा तथा फ्रिलान्सिङबाट सेवा निर्यात भइरहेको छ। पछिल्लो समय विभिन्न मुलुकबाट मेडिकल रिसर्च, डेटा प्रोसेसिङ, सफ्टवेयर डेभलपमेन्ट तथा अन्तर्राष्ट्रिय परियोजनासँग सम्बन्धित रकम नेपाल भित्रिने क्रम बढेको छ।
नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने जनशक्तिको संख्या बढिरहेको छ। आइटी इन्जिनियर, डेटा विश्लेषक, मेडिकल रिसर्चर, डिजाइनर तथा विभिन्न डिजिटल सेवामा संलग्न नेपालीले डलरमा आम्दानी गरिरहेका छन्।
सरकारले पछिल्लो समय डिजिटल अर्थतन्त्र र आइटी सेवा निर्यातलाई प्राथमिकतामा राखेको छ। राष्ट्र बैंकले आइटी क्षेत्रमा कर्जाको जोखिम भार न्यून गरी प्रोत्साहन गर्ने नीति लिएको छ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आइटी)का अध्यक्ष गौरव पाण्डेले विदेशबाट सेवाको माग बढेको र सरकारी प्रोत्साहनका कारण आइटी क्षेत्रमा लगानी बढिरहेको बताए।
‘आइटी सेवाको मागका कारण स्वदेशी कम्पनी त थपिइरहेका छन् नै, विदेशी कम्पनीसमेत नेपाल आइरहेका छन्। स्वदेशी कम्पनी मात्र अहिले २ हजारको हाराहारीमा छन् जसले रोजगारी बढिरहेको छ,’ उनले भने, ‘अधिकांश आइटी कम्पनीले सफ्टवेयर बनाएर बिक्री गर्ने गरेका छन्। एकाउन्टिङ सफ्टवेयर र हेल्थ केयर सफ्टवेयरको माग बढी छ।’
यसबाहेक मोबाइल एप्लिकेसन, वेबसाइट, कम्पनी संचालनका इन्टरनल एप्लिकेसन बनाइदिने काम पनि उतिकै आइरहेको छ।
‘हाम्रा धेरै कम्पनीले ठूलो संख्यामा अमेरिकाको हेल्थ केयर सेन्टरका लागि काम गर्छन्। अस्ट्रेलियाको होम लोन प्रोसेसिङ सिस्टम र त्यसको डेटा एनालाइसिमा पनि हाम्रो धेरै जनशक्ति प्रयोग भइरहेको छ,’ अध्यक्ष पाण्डेले भने, ‘सेवाको मागका कारण नेपाली कम्पनीको क्यापासिटी पनि बढिरहेको छ। हाम्रो डायोस्पोराले गर्दा पनि अन्य देशमा जाने आइटी सेक्टरका काम नेपालमा आइरहेका हुन्।’
विदेशी कम्पनीलाई नेपालबाट आइटी सेवा लिंदा सस्तो पर्छ। भने अनुसारको काम र लागत कम पर्ने भएका कारण विदेशी कम्पनीहरु नेपालीहरुमा निर्भर हुने क्रम बढेको आइटी कम्पनीका सञ्चालकहरु बताउँछन्।
राष्ट्रिय योजना आयोगका पूर्वाउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले आइटी सेवा निर्यातका कारण अर्थतन्त्रको बाह्य सूचक सुदृढ बनाउन सहयोग पुगेको बताए।
‘आइटी सेक्टर लगानीका लागि नयाँ एभिन्यूका रुपमा देखिएको छ। कम्पनीहरुले विदेशमा सेवा निर्यात गर्दा डलर त भित्रिरहेको छ नै देशभित्र रोजगारी बढाउन पनि सहयोग पुगेको छ। समग्रमा यो अर्थतन्त्रका लागि नै राम्रो हो,’ उनले भने।










