एउटा घर बनाउन १४७ वस्तु प्रयोग, गभर्नरले घरजग्गा व्यवसायीलाई भने- प्रधानमन्त्रीलाई भेटिहाल्नुस्



बिजमाण्डू
२०८३ साउन २५ गते १२:१४ | Aug 10, 2026
एउटा घर बनाउन १४७ वस्तु प्रयोग, गभर्नरले घरजग्गा व्यवसायीलाई भने- प्रधानमन्त्रीलाई भेटिहाल्नुस्


काठमाडौं। एउटा पक्की घर तयार गर्न श्रमबाहेक १४७ वटा फरक-फरक वस्तुको खाँचो पर्दो रहेछ- यो तथ्य सुन्दा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल एकछिन अचम्मित परे। 

Tata
GBIME

घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरेले गभर्नरलाई प्रयोग हुने वस्तुको सूची मात्र सुनाएनन्, घरजग्गा क्षेत्र अगाडि बढ्यो भने त्यसका पछाडि थुप्रै साना-ठूला उद्योग, श्रमिक र आपूर्तिकर्ता स्वतः तानिएर आउँछन् र अर्थतन्त्र नै अगाडि बढ्छ भन्ने हिसाब देखाइदिए।

कोभिडपछिको वर्षदेखि मन्दीतर्फ ढल्किएको अर्थतन्त्र आजसम्म उक्सिन सकेको छैन। अर्थतन्त्रमा फैलिएर गुणात्मक प्रभाव देखाउनु पर्ने पैसा अहिले कि घरजग्गामा गएर जमेको छ या सेयर बजारमा गएर घटेको छ। 

गभर्नर पौडेलका लागि घिमिरेले बुझाउन खोजेको ‘इकोसिस्टम’ नौलो थिएन। पदमा आएदेखि नै उनी अर्थतन्त्रलाई कुनै न कुनै किसिमले धक्का दिनैपर्छ भन्नेमा प्रस्ट छन्।

उनले गभर्नरको जिम्मेवारी सम्हालेयता सेयर बजार र घरजग्गासँग जोडिएका धेरै नीति खुकुलो बनाइसकेका छन्। राष्ट्र बैंकले गरेको पहललाई बजारले भने प्रतिक्रिया देखाएको छैन।

सेयर बजारका हकमा आफूले थप गर्नुपर्ने केही बाँकी नरहेको ठम्याइ गभर्नरको छ। तर, घरजग्गाको हकमा राष्ट्र बैंकसँगै सरकारले पनि अलिकति हस्तक्षेप गरिदियो भने अर्थतन्त्रले लय समात्न थाल्छ।

सरकारको हस्तक्षेपको अपेक्षा गरिरहेका गभर्नरलाई घिमिरेले बताएको १४७ वस्तुको तथ्यांकले ‘ट्रिगर’ गरेको छ। 

गभर्नर डा. विश्व पौडेल

सरकारले ल्याएको बजेटले लगानीकर्तालाई उत्साहित बनाउन सकेको छैन। धेरै क्षेत्रमा डरकै माहोल छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका प्रतिनिधिका साथै बैंकरसम्मलाई भेटिसकेका छन्। अर्थमन्त्री वाग्लेको आश्वासनलाई कसैले पनि गम्भिर रुपमा लिन सकेका छैनन्।

प्रधानमन्त्री बालेन्द्र शाह आफैं पनि अर्थमन्त्रीबाट अर्थतन्त्र अगाडि बढ्न सक्नेमा ढुक्क देखिन छाडेका छन्। उनले आफ्नो अर्थशास्त्रीका रुपमा गभर्नर पौडेललाई नै प्रक्षेपण गरिरहेको विभिन्न घटनाक्रमहरुले देखाउँछ। नियमित अन्तरालमा भेटेर गभर्नरका कुरा प्रधानमन्त्रीले ध्यान दिएर सुन्ने गरेका छन्।

यही विश्वासका आधारमा गभर्नर पौडेलले घरजग्गा व्यवसायीलाई एक पटक प्रधानमन्त्रीसँग भेट्न सुझाव दिएका छन्। उनले प्रधानमन्त्रीसँग आफैं भेट्दा पनि उनले घरजग्गा व्यवसायको विषय उठाउने गरेका छन्। 

‘घरजग्गा क्षेत्रमा धेरै पैसा अड्किएको छ। त्यसलाई गतिशील बनाउनका लागि घरजग्गा व्यवसायीलाई ठूला परियोजना गर्नुस्, राष्ट्र बैंकले गर्ने सहयोग गरिहाल्छ, सरकारसँग पनि कुरा गर्नुस् भनेको हुँ,’ गभर्नर पौडेलले बिजमाण्डूसँग भने।

घरजग्गा व्यवसायी महासंघका अध्यक्ष घिमिरेले पनि गभर्नरले आफूहरुलाई धेरै ठूलो आश्वासन दिएको र सरकारले सहयोग गरेको अवस्थामा निर्माण क्षेत्रबाट अर्थतन्त्र गतिशील बनाउन सकिने बताए।

विष्णु घिमिरे

उनका अनुसार, सरकारले मूख्यतय: कित्ताकाट गर्न दिनु पर्ने र हदबन्दीको व्यवस्थामा लचकता अपनाउनु पर्छ। यी दुई कारणले ठूला परियोजना आँट गर्न गाह्रो भएको छ। पैसा पनि अड्किएको छ।

‘गभर्नर साबलाई हामीले सबै कुरा बताएपछि उहाँले पनि प्रधानमन्त्रीसँग भेट्न पहल गरिदिने बताउनु भएको छ,’ घिमिरेले भने, ‘सरकारले हाम्रो मागमा विचार गरिदियो भने निजी निर्माण बढेर जान्छ। अर्थतन्त्रमा पैसा आउन थाल्छ।’

अहिले ३० रोपनीभन्दा बढी जग्गा राख्न पाइँदैन। यही हदबन्दीका कारण धेरै व्यवसायीले पहिले किनेको जग्गामा पनि काम गर्न सकेका छैनन्। साथै अहिले ब्याजदेखि जग्गाको मूल्यसम्म घटेका बेला निश्चित समयसम्म जग्गा किनेर राख्न पनि समस्या भएको छ।

भेषराज लोहनी

‘हदबन्दीका कारण मैले मुलपानीको परियोजना बनाउन छुट्टाछुट्टै १३ वटा कम्पनी बनाएर जानु पर्‍यो,’ महासंघका पूर्वअध्यक्ष तथा ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनीले भने, ‘एउटै कम्पनीबाट हुने काम धेरै कम्पनीमार्फत जाँदा छुट्टै लेखा, छुट्टै कर्मचारी, छुट्टै नापनक्साका लाइसेन्स लिनु पर्छ। यस्तो झन्झट कसैले पनि लिन चाहँदैन।’

घरजग्गामा अड्किएको रकमध्ये बिक्री गरेर करिब २ खर्बको मात्रै बजारमा ल्याउन पाए अर्थतन्त्र बौरिने घिमिरे बताउँछन्। ‘हामीलाई गभर्नर साबले त्यही नै भन्नु भएको हो,’ उनले सुनाए, ‘प्रधानमन्त्रीसँग कुरा राख्नुस्, उहाँले यस्ता समस्या सल्टाइ दिनु हुन्छ, तपाइँहरुले लोकस्ट हाउजिङलाई प्राथमिकता दिनुस् भन्नुभएको छ।’

गभर्नर पौडेलले प्रधानमन्त्रीलाई निर्माण क्षेत्रबाट नै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताएका छन्। ठूला पूर्वाधार बाहेक निजी निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्ने कुरा उनले व्यवसायीलाई पनि भनेका छन्।

‘मैले एकै ठाउँमा ५ सय, हजार वटा घरका योजना ल्याउनुस् भनेको हो। एउटा घर बन्दा एकै पटक १४७ वटा वस्तु प्रयोग हुने रहेछ। बालुवा, सिमेन्ट, डण्डीबाहेक पनि रङ, धारा, बत्ति, प्लाइलगायत वस्तु उत्पादन गर्ने उद्योग पनि सँगसँगै चल्छन्,’ उनले भने, ‘अर्थतन्त्र गतिशील हुन थाले त्यसपछि हामी हाम्रो प्राथमिकताको काम गर्न सक्छौं।’