एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराइँदै, साढे ८ अर्बको आइपीओ निष्कासनको तयारी



बिजमाण्डू
२०८३ साउन १४ गते १७:३१ | Jul 30, 2026
एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराइँदै, साढे ८ अर्बको आइपीओ निष्कासनको तयारी


काठमाडौं। गैरआवासीय नेपाली (एनआरएन)ले दोस्रो बजारमा प्रवेशको माग गरेका छन्।

Tata
GBIME

एनआरएनले नेपाल धितोपत्र बोर्डसँग एनआरएन नेपाल डेभलपमेन्ट फण्डको आइपीओ निष्कासनमार्फत पुँजी परिचालनको बाटो खुलाउन माग गरेका हुन।

फण्डले ८५ प्रतिशत आइपीओ निष्कासन गरेर पुँजी परिचालनका लागि सेबोनसँग माग गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए। फण्डले पहिलो चरणमा ८ अर्ब ५० करोडको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ।

‘हामीले सबै पूर्वाधार तयार पारिसकेका छौं। एनआरएनको पुँजी संकलनका लागि डायस्पोरा इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिस्टम बनाएका छौं,’ भट्टराईले भने, ‘कानुनी रुपमा धेरै काम भइसकेका छन्। सेबोनसँग भएको छलफलमा एक महिनाभित्रै सहजीकरण गर्ने आश्वासन पाएका छौं। हामीले एनआरएनमार्फत फण्ड ल्याएर नेपालको विभिन्न पूर्वाधार र परियोजनामा लगाउने छौं।’

आइपीओ निष्कासन पछि दोस्रो चरणमा १० अर्ब रुपैयाँको बण्ड जारी गर्ने तयारी रहेको भट्टराईले बताए। भट्टराईका अनुसार, एनआरएन नेपाल डेभलपमेन्ट फण्डमार्फत लगानीका लागि २०० आयोजना पाइपलाइनमा छन्।

एनआरएन नेपाल डेभलपमेन्ट फण्डमा एनआरएनले मात्रै लगानी गर्नेछन्। आइपीओ निष्कासनपछि कम्पनी नेप्सेमा इन्भेष्टमेन्ट क्षेत्रमा सूचीकृत हुनेछ। सूचीकृत भएपछि कम्पनीले विभिन्न क्षेत्रका परियोजामा आधारित लगानी एनआरएनमार्फत जुटाउनेछ।

एनआरएनहरुलाई न्यूनतम् १ लाख रुपैयाँ लगानीको सीमा तोकिने भट्टराईले बताए।