काठमाडौं। ‘मिडिया म्यानेज’ गर्ने भन्दै नेपाल राष्ट्र बैंकले पत्रकारलाई सल्लाहकार बनाउने निर्णय गरेको छ। राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले पत्रकारलाई नियुक्ति गर्ने निर्णयको मस्यौदा तयार पारिसकेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले सञ्चार माध्यमहरूमा दिने विज्ञापनमा कडाइ गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले ‘मिडिया म्यानेज’ गर्ने भन्दै पत्रकारलाई भर्ती गर्न खोजेको हो।
‘बैंक तथा वित्तीय संस्थाले सञ्चार माध्यमलाई विज्ञापन दिन्छन्। ती सञ्चार माध्यमले नियामक राष्ट्र बैंकलाई नै प्रश्न गर्दै समाचार लेख्छन्,’ मिडियामा विज्ञापन नियन्त्रण गर्ने नीतिको मस्यौदाको छलफलमा बसेका एक अधिकृतले बिजमाण्डूसँग भने, ‘हामी अन्तर्गतका संस्था विज्ञापन दिने, हामीले नै प्रश्नको सामना गर्नुपर्ने अवस्था नबनोस् भनेर एउटा नीति तयार पार्न खोजिएको हो।’
उनका अनुसार यही सिलसिलामा पत्रकारलाई अधिकृत सरहको तलब सुविधा दिएर सल्लाहकार नियुक्त गर्न लागिएको छ।
राष्ट्र बैंकले विज्ञापन नियन्त्रण गर्नका लागि सबै बैंक तथा वित्तीय संस्थासँग कुन सञ्चार माध्यममा वार्षिक कति विज्ञापन गयो भन्ने तथ्यांक मागेको थियो। त्यसका आधारमा उसले ‘यति धेरै पैसा किन दिएको’ भनेर प्रमुख कार्यकारी अधिकृतहरूलाई र्याखर्याख्ति समेत पारेको थियो।
‘तपाईँहरूले विज्ञापन दिएर हामीविरुद्ध पत्रकारहरूले समाचार लेखिरहेका हुन्छन्,’ राष्ट्र बैंक उच्च पदाधिकारीहरूको भनाइ उदृत गर्दै एक प्रमुख कार्यकारी अधिकृतले भने, ‘विज्ञापन नदेऊ भन्ने घुमाउरो अभिव्यक्ति आइरहेको हुन्छ।’
राष्ट्र बैंकमा छुट्टै सूचना तथा सञ्चार महाशाखा छ। त्यसमा राष्ट्र बैंककै कर्मचारीहरूलाई राखिएको छ। तर, अहिले भने ‘मिडिया म्यानेज’ नै गर्ने भनेर एउटा पद सृजना गरिएको एक उच्च अधिकारीले जानकारी दिए।










