इन्स्योरेन्स कम्पनी लगानी गर्ने ठाउँ नपाएर तनावमा, ‘बैंकले लिन मान्दैन, पैसा हाल्ने ठाउँ छैन’

सुनिल कुँवर
२०८३ साउन १३ गते ०६:१६ | Jul 29, 2026
इन्स्योरेन्स कम्पनी लगानी गर्ने ठाउँ नपाएर तनावमा, ‘बैंकले लिन मान्दैन, पैसा हाल्ने ठाउँ छैन’


काठमाडौं। बैंकको ब्याजदर घट्दा नाफा प्रभावित भएर ब्यालेन्स सिटमै प्रभाव देखिने भएपछि इन्स्योरेन्स कम्पनीले लगानीको दीर्घकालीन उपकरण खोज्न थालेका छन्।

Vigo
GBIME
Tata

इन्स्योरेन्स कम्पनीले मुद्दतीमा थुपारेको रकम अरु क्षेत्रतिर परिचालनको बाटो खोज्न थालेका हुन्। बैंकमा राखेको लगानीले लागत समेत नउठ्ने भएपछि इन्स्योरेन्सले लगानीका नयाँ क्षेत्र खोजिरहेका छन्।

‘फण्ड परिचालनमा सकस भएको छ। मुद्दती निक्षेपको लगानीले लागत नै उठ्न छोड्यो। त्यसमा पनि बैंकहरूले पैसा लिएर जानुस् भनिरहेका छन्,’ एक कम्पनीका सीइओले भने, ‘यता बैंकको रेट घट्दा हाम्रो बिजनेस बढ्यो। तर, त्यो पैसा निक्षेपमा उनीहरूले नै लिन नमानेपछि कहाँ हाल्ने तनाव भएको छ।’

बैंकको ब्याजदर पछिल्लो ३ वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ। मुद्दती निक्षेपको ब्याजदर अहिले २.७६ प्रतिशत रहे पनि ऋणको माग नहुँदा बैंकहरूले पैसा राख्न अस्वीकार गरिरहेका छन्। यसको प्रभाव इन्स्योरेन्स कम्पनीमा देखिएको बिमकहरू बताउँछन्।

ब्याजदरबाट प्रतिफल स्वात्तै घटेपछि निक्षेपकर्ताहरू इन्स्योरेन्सतिर गएका छन्। बीमा कम्पनीको पोलिसी बिक्री बढ्दा प्रिमियम निकै वृद्धि भएको बिमकहरूले बताएको छन्।

‘लगानी गर्ने ठाउँ नै भएन। मुद्दतीमा राखेको रकम रेट घटेपछि अलिअलि बण्ड, अरु सेक्युरिटीतिर लगानी गर्न मात्रै प्रयोग भएको छ,’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने, ‘हामीले अहिले भायबल प्रोजेक्ट आएपछि म्यानुफ्यक्चरिङ सेक्टरतिर लगानी गरिरहेका छौं। त्यसबाहेक ऋणपत्रतिर लगानी बढेको छ।’

नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरूका लागि लगानीको क्षेत्र तोकेको छ। इन्स्योरेन्स कम्पनीको ७० प्रतिशत रकम मुद्दती निक्षेपमा छ। त्यसबाहेक उनीहरूले सरकारी र बैंक तथा वित्तीय संस्थाको ऋणपत्र, सेयर बजारमा लगानी गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ को चैतसम्म जीवन बीमा कम्पनीको कुल लगानी ८ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। कम्पनीहरूले यो फण्डमध्ये ६ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखेका छन्।

लाइफ इन्स्योरेन्ससँग लामो अवधिको फण्ड हुने भएकाले लगानी गर्ने नयाँ उपकरण चाहिएको बिमकहरू बताउँछन्।

‘१/२ वर्षका लागि कुनै क्षेत्रमा रिस्क लिएर लगानी गर्न सक्ने अवस्था छैन। हामीसँग १५/२० वर्षका लागि दीर्घकालीन फण्ड हुन्छ,’ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डेले भने, ‘त्यसैले सरकारले दीर्घकालीन रुपमा कुनै बण्डहरूतिर लगानीका लागि खुला गरिदिनुपर्छ। त्यसले कम्पनी र देशलाई नै राम्रो गर्छ।’

रामेश्वर खनालको नेतृत्वमा गठित आर्थिक सुधार सुझाव आयोगले २०८१ चैतमा इन्स्योरेन्स कम्पनीको फण्डलाई बण्डमार्फत दीर्घकालीनरुपमा पूर्वाधारण क्षेत्रमा परिचालन गर्न सुझाव दिएको थियो।

सरकारले त्यसलाई अहिलेसम्म कार्यान्वयन गरेको छैन। जबकि इन्स्योरेन्स कम्पनीले पूर्वाधार बण्डदेखि विदेशी मुद्रामा लगानी गर्न दिनुपर्ने माग राख्दै आएका छन्।

ब्याजदर घटेर लागत समेत नठ्ने देखिएपछि इन्स्योरेन्स कम्पनीले अहिले जोखिम लिएरै केही रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका छन्।

इन्स्योरेन्सले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्यसहितका क्षेत्रमा १३ अर्ब ५७ करोड १२ लाख रुपैयाँ लगानी गरेका छन्।

कम्पनीहरूले यी क्षेत्रमा गरेको लगानी अघिल्लो वर्ष चैतसम्मको तुलनामा १७.१४ प्रतिशत बढी हो। इन्स्योरेन्स कम्पनीले २०८१ चैतसम्म यी क्षेत्रमा ११ अर्ब २४ करोड ४७ लाख रुपैयाँ लगानी गरेका थिए।

गत चैतसम्म उत्पादनमूलक क्षेत्रमा राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा धेरै ६ अर्ब २ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ। सियन लाइफले ३ अर्ब ५२ करोड र नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड लगानी गरेका छन्।

घरजग्गामा हिमालयन लाइफ इन्स्योरेन्सले मात्रै लगानी गरेको छ। यो कम्पनीले घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ।