काठमाडौं। ब्रेक फेल भइ पल्टिएको ट्रकामा भएको आगलागीमा चालकको मृ्तयु भएको छ। घटना तमोर-करिडोर सडकखण्डको धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा सोमबार राति भएको हो।
मृत्यु हुनेमा चालक भोजपुरका ३० वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ। प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै थियो। अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि ट्रकमा आगलागी भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्रकको अगाडिको भागमा लागेको आगोमा परेका चालक राई बाहिर निस्किएका थिए। तर धेरै जलेका उनको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ।
दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ-९ का १८ वर्षीय सञ्जीव संग्रौला भने सकुशल छन्। दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।










