काठमाडौं। पैसा थुप्रिएर लगानीकर्ताले लगानीको क्षेत्र खोजिरहेका बेला सार्वजनिक निष्कासनको प्राथमिक बजार ठप्प बनेको छ। आइपीओ, हकप्रद सेयर, ऋणपत्र, सामूहिक लगानी कोष योजना लगायत उपकरणको निष्कासन रोकिएको छ।
बैंकको ब्याजदर घटेर २.७५ प्रतिशतमा आएका बेला लगानीकर्ताले लगानीको ठाउँ खोजिरहेका छन्। तर, तीन महिनायता प्राथमिक बजारका उपकरण निष्कासनको अनुमति रोकिएको छ।
नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष नियुक्तिमा भएको ढिलाइका कारण आइपीओ, हकप्रद, ऋणपत्र र म्युचुअल फण्डको इकाइ निष्कासनको अनुमति रोकिएको हो। सेबोनमा अध्यक्ष पद वैशाख पहिलो साता रिक्त भएकामा सरकारले दुई महिनापछि नियुक्त गरेको थियो।
असार दोस्रो साता सेबोन अध्यक्षको जिम्मेवारी सम्हालेका डा.गोपाल भट्टले नयाँ कम्पनीलाई निष्कासनको अनुमति दिएका छैनन्।
असार मसान्तसम्मको विवरण अनुसार ९९ कम्पनी आइपीओमार्फत ७० अर्ब रुपैयाँ उठाउनका लागि तयार छन्। यस्तै विभिन्न कम्पनी २५ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर, १४ अर्बको ऋणपत्र र ७ अर्ब रुपैयाँभन्दा बढीको सामूहिक योजना निष्कासन अनुमतिको पाइपलाइनमा छन्।
संस्थागत र व्यक्तिगत लगानीकर्ताले अहिले लगानीको ठाउँ खोजिरहेका छन्।










