काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारलाई सरकारले रोजगारी बढाउने थलोका रुपमा लिएको भन्दै लगानीकर्ताको मनोबल बढाउन काम गरिरहेको बताएका छन्।
उनले सोमबार विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्जका अध्यक्षको उपस्थितिमा स्टक ब्रोकर्स र लगानीकर्तालाई बोलाएर छलफल गरी सरकारले बजारको सुधारका लागि आवश्यक काम अगाडि बढाइसकेको बताएका हुन्।
उनले लगानीकर्ताको कन्फिडेन्स बढाउनका लागि प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायसँगको समन्वयमा काम गरिरहेको बताए। बालेनले सेयर लगानीकर्तालाई विना त्रास निर्धक्क भएर लगानी गर्न समेत आग्रह गरे।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, सेयर ब्रोकर प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेलसँगको छलफलमा बालेनले सेबोनका अध्यक्ष डा. गोपाल भट्ट र नेप्सेका अध्यक्ष अमृत लम्साललाई पनि सहभागी गराएका थिए।

बालेनले बजारको सुधारका लागि सरकारले आवश्यक काम गरिरहेको र निर्धक्क भएर लगानी गर्न भनेपछि सेयर ब्रोकरहरु आशावादी भएर फर्किएका छन्।
लगानीकर्ता अम्बिका पौडेलले प्रधानमन्त्रीसँग पुँजी बजारमा लगानीकर्ताको कन्फिडेन्स बनाउने र बजारमा गर्नुपर्ने सुधारका विषयमा छलफल भएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले पुँजी बजारलाई पुँजी परिचालनको प्रमुख क्षेत्रका साथै रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउने विषयमा चासो राख्नु भयो। उहाँले पुँजी बजारको विकास, विस्तार र लगानीर्ताको कन्फिडेन्स बढाउन काम गरिरहेको बताउनुभयो,’ उनले भने।
बालेनसँगको संवादमा सहभागी सेयर ब्रोकर रेग्मीले पुँजी बजारमा सुधारका लागि प्रधानमन्त्रीकै तहबाट पहल गरिनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए।
‘पुँजी बजारका विषयमा छलफल गर्न यसअघि हामीलाई कुनै प्रधानमन्त्रीले पनि बोलाएको जानकारी छैन। बजार बियरिस भएर लगानीकर्ता आत्तिएको अवस्थामा प्रधानमन्त्रीले बोलाएर सुधारको काम गरिरहेको बताउनुलाई हामीले सकारात्मक मानेका छौं,’ रेग्मीले भने।
सेयर ब्रोकरहरुले सुरुमा प्रधानमन्त्रीसामु आइपीओ निष्कासनमा १० कित्ते नीति हटाउनुपर्ने, बुक बिल्डिङ विधि लागू गर्नुपर्ने, इन्ट्रा डे र सर्ट सेल सञ्चालन गर्नुपर्ने लगायत माग पेस गरेका थिए। उनीहरुले आफ्ना माग पेस गर्ने क्रममा बालेनले बीच बीचमा आफ्ना कुरा राखेका थिए।

‘हामीले बजारका समस्या राखिरहँदा उहाँले गम्भिरतापूर्वक सुन्नुभयो। उहाँले राष्ट्र बैंक, सेबोन, नेप्से र सीडीएससीसँग छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ,’ रेग्मीले भने।
अन्तर्क्रियात्मक शैलीमा भएको छलफल एक घण्टा चलेको थियो। बालेनसँगको संवादपछि सेयर ब्रोकरहरु प्रधानमन्त्रीको सचिवालयका सदस्यसँगको छलफलमा बसेका थिए।
सेयर बजारप्रति चासो राखेर बालेनले संवाद गरेको प्रभावस्वरुप नेप्से ४१.७० अंकले उकालो लागेको छ। नेप्से २७१९ अंकमा पुगेको छ। नयाँ आर्थिक वर्षको दुई कारोबार दिनमै नेप्से १२१.४४ अंकले बढेको छ।










