हिमालयको जहाजमा जडान भयो जीवनदायी उपकरण, ‘यात्रुमा जटिल समस्या आए समाधान गर्ने’

बिजमाण्डू
२०७८ भदौ ३१ गते १२:३३ | Sep 16, 2021
हिमालयको जहाजमा जडान भयो जीवनदायी उपकरण, ‘यात्रुमा जटिल समस्या आए समाधान गर्ने’

काठमाडौं। हिमालय एयरलाइन्सले यात्रु सुरक्षालाई मध्यनजर गर्दै चारैवटा जहाजमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (एइडीएस) जडान गरेको छ।

Tata
GBIME
Nepal Life

जीवन सुरक्षा केन्द्रित यो उपकरण जडान सँगै आउँदो दिनमा उडान यात्रा थप सुरक्षित, विश्वसनीय र आरामदायी हुने कम्पनीले जनाएको छ।

यो जीवनदायी उपकरणले यात्रुको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकेर हृदयगति सुचारु राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ। कम्पनीले आफूसँग भएको तीनवटा एयरबस ३२० र एउटा एयरबस ३१९ मा यो उपकरण जडान गरेको हो।

यो सँगै हिमालयको जहाजमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राख्ने मुलुककै पहिलो र एक मात्र कम्पनी भएको छ।

'अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितव्यमा यदि कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आएमा त्यस्ता बिरामीको ज्यान बचाउने कार्य गर्छ,' कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ।

यो उपकरण प्रणाली जडानसँगै कम्पनीले सबै उडानमा आबद्ध कर्मचारीलाई यस सम्बन्धी तालिम दिइसकेको जनाएको छ। कम्पनीका अनुसार यो उपकरण गैरीधारास्थित प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पनीको ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरिसकिएको छ।

विमानस्थलमा पनि यो सेवा सुरु गरेसँगै विमानस्थल भ्रमण गर्ने कुनै पनि यात्रुमा आकस्मिक समस्या आएमा तत्काल निराकरण गर्दै स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न सकिने कम्पनीले जनाएको छ।