प्रधानमन्त्री-गभर्नर भेट : बालेन सेयर बजार र लगानीप्रति गम्भीर, अरु के विषयमा भयो छलफल?



बिजमाण्डू
२०८३ असार ३२ गते १८:२८ | Jul 16, 2026
प्रधानमन्त्री-गभर्नर भेट : बालेन सेयर बजार र लगानीप्रति गम्भीर, अरु के विषयमा भयो छलफल?


काठमाडौं। सार्वजनिक निकायका प्रमुखमध्ये प्रधानमन्त्री बालेन्द्र शाहले अक्सर भेटिरहनेमा पर्छन् नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल।

Tata
GBIME

बालेनले आफ्नै मन्त्रीहरुलाई पनि क्याबिनेट बैठकमा बाहेक खासै भेटेको सुनिँदैन। तर, उनै बालेनले प्रधानमन्त्री भइसकेपछि गभर्नर पौडेलसँग आधा दर्जनभन्दा बढी पटक भेटिसकेका छन्। 

आफ्नै मुख्यसचिवसँग पनि दुई/चार मिनेट कुराकानी गर्ने बालेन गभर्नर पौडेलसँग भने पौने घण्टासम्म गफ्फिने गरेको स्रोत बताउँछ। यो सिलसिला अझै चलिरहेको छ।

आगामी वर्षको मौद्रिक नीति र त्यसलाई कार्यान्वयन गर्न निर्देशन जारी गरेपछि बिहीबार गभर्नर पौडेल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए।

उनीहरुबीच अर्थतन्त्र विस्तार, खर्च प्रणाली, व्यवसायीमा भएको डर, अहिलेको थुनछेक, घट्दो सेयर बजार, बैंकिङलगायत बारेमा लामै छलफल भएको छ।

‘अहिले व्यवसायी डराएका छन् भन्ने सुनेको छु। तर, हामीले त पुरानै अनुसन्धानहरुलाई निरन्तरता दिएको मात्र हो,’ गभर्नरसँग बालेनको कुराकानी उद्यृत गर्दै एक उच्च अधिकारीले बिजमाण्डूसँग भने, ‘व्यवसायीहरुले निर्धक्क लगानी गरुन्। नागरिकले रोजगारी पाउन् भन्ने नै हामी चाहन्छौं।’

बालेन नेतृत्वको सरकार बनेपछि वित्तीय अपराधीका रुपमा स्थापित केही व्यक्ति बाहेकमाथि पनि धरपकड भएको छ। स्रोतका अनुसार गभर्नर पौडेलले व्यावसायिक मनोबल घटिरहेको अवस्थामा प्रधानमन्त्री तहबाटै त्यसलाई उकास्नु पर्ने र डरको माहोल चिर्नु पर्ने बताएका छन्।

प्रधानमन्त्री बालेनले आफूले निजी क्षेत्रको विस्तार चाहेको बताएका थिए। आफू प्रधानमन्त्री बनेर आएपछि नयाँ अनुसन्धान नगरिएको र पुरानै अनुसन्धानले निरन्तरता पाएको उनको भनाइ थियो।

सरकारको नेतृत्व गरेको १०० दिनसम्म खासै भेटघाटमा संलग्न भएका बालेनले पछिल्ला केही दिनयता व्यावसायिक संगठनका प्रतिनिधिहरुलाई पालैपालो भेटिरहेका छन्। छलफलमा बालेनले व्यवासायीहरुलाई बिना कुनै डर लगानी गर्न प्रोत्साहन गरिरहेका छन्।

बिहीबार गभर्नरलाई भेट्नुअघि पनि बालेनले महिला उद्यमीहरुको संस्थाका पदाधिकारीसँग लामै छलफल गरेका थिए। तर, ती छलफलबाट पनि बजारमा राम्रो संकेत जान सकेको छैन

बिहीबारको भेटमा गभर्नर पौडेलले अर्थतन्त्र सुधार तथा विस्तार आजको भोलि नहुने र त्यसका लागि वातावरण तयार पार्न सुझाव दिएको स्रोत बताउँछ।

‘प्रधानमन्त्री तहबाटै व्यवसायी र लगानीकर्ताको मनोबल बढाउनु पर्छ,’ पौडेलको सुझाव थियो।

उनले आर्थिक वृद्धि माथि लैजाँदै रोजगारी बढाउन ठूला पूर्वाधार सडक, सुरुङमार्ग, द्रुतमार्गमा काम गर्नु पर्ने पनि बताएका थिए। प्रधानमन्त्रीसँगको प्रत्येक भेटमा उनले ठूला पूर्वाधार र नयाँ शहरको विस्तारमा जोड दिने गरेका छन्।

बालेनले बिहीबारको भेटमा सर्वसाधारणले सहज र सर्वसुलभ हिसाबले ऋण लिएर व्यापार व्यवसाय गर्ने वातावरण तयार पार्नु पर्ने भनाइ राखेका थिए।

‘ऋण लिएर भोलि तिर्नु पनि पर्छ। तिर्न नसक्ने गरी दिनु पनि भएन। तर, सर्वसुलभ हिसाबले ऋण पाउने सुनिश्चितता हुनु पर्छ,’ प्रधानमन्त्रीले गभर्नरसामु भनेको कुरा उद्यृत गर्दै स्रोतले भन्यो।

बालेन प्रधानमन्त्री बनेयता सेयर बजार ओरालो लागिरहेको छ। त्यसैले बालेन र गभर्नर पौडेलबीच सेयर बजारका बारेमा बढी नै कुराकानी भएको थियो।

उनले मनोबल कमजोर पार्नु पर्ने कुनै कारण नरहेको गभर्नरमार्फत स्पष्ट पार्न खोजेका थिए।

गभर्नरले प्रधानमन्त्रीलाई राष्ट्र बैंकले लगानीकर्ताले माग्ने गरेका ५ वटै माग पूरा गरिसकेको र बुधबार मात्रै ऋण विस्तार बढाउन राम्रा कम्पनीको सेयरमा ८० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरेको जानकारी गराएका थिए। 

छलफलमा गभर्नर पौडेलले अर्थतन्त्रको नेतृत्व सरकारको वित्त नीतिबाट हुनु पर्ने दोहोर्‍याएका थिए। उनले मौद्रिक नीति र राष्ट्र बैंकले दिने सुविधा अल्पकालीन हुने भन्दै सरकारले नेतृत्व गरेर अगाडि जाँदा दिगो वृद्धि हुने बालेनसामु बताए।