काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन सेयर बजार उकालो लागेर बन्द भएको छ। नेप्से परिसूचक बिहीबार ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ।
फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन क्षेत्र बाहेकका उपसमूहले बजार बढाएका हुन्। म्युचुअल फण्डको सूचक सबैभन्दा धेरै १.६६ प्रतिशतले बढेको छ।
बजारमा १२१ कम्पनीका लगानीकर्ताले कमाएका छन्। एनआइबिएल ग्रोथ फण्डको मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशत बढेको छ। फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य १४.६७ प्रतिशतले उकालो लागेको छ।
१५१ कम्पनीको सेयर मूल्य घटेको छ। कर्पोरेट विकास बैंकको ८.७७ प्रतिशतले सेयर मूल्य घटेको छ।
आर्थिक वर्षको अन्तिम दिन सूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार बजारमा ४ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै २४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।








