काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण आवश्यक परे बाह्य विज्ञबाट जाँचबुझ गराउने भएको छ।
सेबोनले आइपीओका लागि आवेदन दिने कम्पनीले पेस गरेको वित्तीय विवरणको पुनरवलोकन तथा जाँचबुझ बाह्य विज्ञबाट समेत गराउने गरी आगामी आर्थिक वर्षको पुँजि बजार नीति ल्याएको छ। कतिपय कम्पनीले आफ्नो दायित्व लुकाएर वित्तीय विवरण पेस गरी अनुमति लिएको बाहिरिएपछि सेबोनले अब बाह्य विज्ञबाट जाँचबुझ गराउने भएको हो।
सेबोनले १० कित्ताको नीतिमा पनि पुनरवलोकन गर्ने भएको छ। १० कित्ते नीतिले बजारमा विकृति बढेको निष्कर्षमा सेबोनले सीमा पुनरवलोकन गर्ने भएको हो।
आइपीओ बुक बिल्डिङ विधिबाट जारी गर्दा योग्य संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई छुट्याइने प्रतिशतबारे पनि पुनरवलोकन गरिने भएको छ।
सेबोनले नेप्सेमा अब नयाँ सूचकांक विकास गर्ने भएको छ। सेयर बजारमा कारोबारलाई थप विश्वसनीय एवं प्रभावकारी बनाउन भन्दै नयाँ सूचकांक विकास गरिने भएको हो।
‘नेप्से सूचकांकलाई अल इक्विटी इण्डेक्सका रुपमा कायम राखि कारोबारयोग्य सेयरका आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकांकको रुपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरवलोकनको व्यवस्था मिलाउने,’ नीतिमा भनिएको छ।
सेयर बजारमा कारोबार हुने कम्पनीलाई क्रेडिट रेटिङ र अन्य मानकका आधारमा वर्गीकरण गरी दोस्रो बजार कारोबारको सुरु मूल्य र मूल्य सीमाको सम्बन्धमा विशेष व्यवस्था गर्ने नीतिमा उल्लेख छ।
सेयर ब्रोकरमार्फत कारोबार खाता, डिम्याट खाता र बैंक खाता इन्टिग्रेसन गरी लगानीकर्ताको खातामा आवश्यक रकम रहेको सुनिश्चित भए मात्र खरिद कारोबार हुने व्यवस्था मिलाइने भएको छ।
सामूहिक लगानी कोषलाई लकइन अवधि हटाउनेदेखि सेयर सूचीकरणपछि पहिलो कारोबार मूल्य सम्बन्धी व्यवस्था वैज्ञानिक बनाउने लगायत विषय नीतिमा समेटिएका छन्।
सेबोनले पुँजीबजारप्रति लगानीकर्ताको विश्वास बढाउन आइपीओ बिक्री बापत उठाएको पैसा सम्बन्धित कम्पनीले उद्देश्य अनुसार परिचालन गरे/नगरेको बारे अनुगमन गर्ने भएको छ।










