आइपीओमा विकृति रोक्नेदेखि लगानीकर्ताको मनोबल बढाउने उपाय खोजी, नयाँ उपकरण ल्याउँदै सेबोन



सुनिल कुँवर
२०८३ असार ३१ गते ११:४२ | Jul 15, 2026
आइपीओमा विकृति रोक्नेदेखि लगानीकर्ताको मनोबल बढाउने उपाय खोजी, नयाँ उपकरण ल्याउँदै सेबोन


काठमाडौं। आइपीओको अनुमतिमा रहेको विकृतिलाई लिएर सांसदहरुले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)माथि प्रश्न उठाएका छन्।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा सांसदहरुले जस्तासुकै कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएर सर्वसाधारणको लगानी जोखिममा पारेको भन्दै सेबोनमाथि प्रश्न उठाएका हुन्।

उनीहरुले सेयर बजारमा हुने चलखेल रोक्न नियमन बढाउनुपर्नेमा जोड दिंदै लगानीका नयाँ उपकरण ल्याउन सेबोनलाई सुझाव समेत दिएका छन्।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएका बेला सेयर बजार बियरिस हुँदा लगानीकर्ता विचलित भएको भन्दै यो विषयलाई सम्बोधन गर्नुपर्नेमा पनि सांसदहरुले जोड दिएका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नीतिमा कार्कीले कर्मचारीलाई तलब खुवाउन नसक्ने कम्पनीलाई समेत आइपीओ बिक्री गर्न दिएर सर्वसाधारणको लगानी जोखिममा पार्ने काम भइरहेको बताइन्।

‘पुँजी बजार केही व्यक्तिको हातमा छ। तलब खुवाउन पनि नसकिरहेका कम्पनीलाई आइपीओ जारी गर्न दिइएको छ,’ उनले भनिन्। उनले सेबोनले लगानीकर्ताको मनोबल बढाउने काम गर्नुपर्ने बताइन्।

रास्वपाकै अर्की सांसद करिस्मा कठरियाले पनि टाट पल्टिएका कम्पनीलाई समेत सेबोनले प्रभावित भइर आइपीओ जारी गर्न अनुमति दिइरहेको आरोप लगाइन्।

‘कतिपय टाट पल्टिएका कम्पनी बाेर्डलाई प्रभावित गरेर आउने र कतिपय राम्रो कम्पनीले समेत अनुमति नपाउने अवस्था छ। यसलाई बाेर्डले राम्रोसँग हेर्नुपर्छ,’ उनले भनिन्। उनले वस्तु विनियम बजार किन सञ्चालनमा नल्याएको भनेर प्रश्न समेत गरिन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङले बैंकमा पैसा थुप्रिएका बेला सेयर बजार किन घटेको हो भनी प्रश्न गरे। ‘बैंक र क्यापिटल मार्केटकाे सम्बन्ध जान्न खाेजेकाे। अहिले लिक्विडिटी थुप्रिएकाे छ। यसअघि बैंकमा लिक्विडिटी हुँदा बजार बढ्ने गरेकाे थियाे। तर अहिले घटिरहेको छ। के हुँदैछ याे देशमा? के गर्दा बढ्ने हाे?,’ उनले सेबोनका अध्यक्ष डा. गोपाल भट्टलाई प्रश्न गरे, ‘बजारमा अहिलेको चुनाैती के हाे? डुब्नेहरु देखिए। बिजनेस नै छाेडेर भाग्नुपर्नेहरू पनि देखिए। सफल हुन के गर्नुपर्ने हो?’

रास्वपाका सांसद देवराज पाठकले बजारमा लगानीका उपकरण बढाउनुपर्नेमा जोड दिए। उनले लगानीकर्तामा आधारभूत तथ्य अध्ययन नै नगरी लहडका भरमा सेयर किनबेच गर्ने प्रवृत्तिले पनि समस्या बढेको बताए।

‘कम्पनीकाे आधारभूत कुरा थाहा नपाएर जसकाे मूल्य बढ्याे त्यसमै लगानी गर्ने गरेको देखिन्छ। उता कम्पनीहरुले भने टाट पल्टिने अवस्थामा पुगेपछि आइपीओ विक्री गरेर पैसा उठाइरहेका छन्। र, सञ्चालक भागिरहेका छन्। जसले पुँजी बजारप्रतिको विश्वास घट्दै गएकाे छ,’ पाठकले भने, ‘लगानीका विविध उपकरण पनि भएन। यसमा सेबाेनकाे याेजना के छ?’

एमाले सांसद डा. पुष्पराज कँडेलले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति लिन आग्रह गरे।

‘बजारमा अहिले प्रडक्टिभ र लङटर्म इन्भेष्टमेन्ट जानुपर्ने ठाउँमा लगानी गइरहेकाे छैन। केही हाइड्राेमा बाहेक दीर्घकालीन पुँजी परिचालन भएन। कर्पाेरेट गभर्नेन्स कमजाेर भएकाे छ। कम्पनी सुरूवात गर्नेहरूप्रतिकाे विश्वास नै कमजाेर भएकाे छ,’ उनले भने।

उनले आइपीओ र हकप्रद सेयरका लागि पाइपलाइनमा रहेका कम्पनीको निवेदनमा सेबोनले फटाफट निर्णय गर्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले सेयर बजार बियरिस हुँदा लगानीकर्ताहरु डिप्रेसनमा गएको बताए। उनले लगानीकर्ताको मनोबल बढाउने योजना के छ भनी सेबोन अध्यक्षसँग सोधे।

‘सेयर बजारमा लाग्ने मेरा नजिककै साथीहरू डिप्रेसनमा गएका छन्। निजी क्षेत्र किन हामीसँग विश्वस्त हुन सकेका छैन? अहिले स्टेबल सरकार छ। लगानीकर्ताले फाेन गरेर बजार असाध्यै घटेपछि अर्थमन्त्रीलाई भनिदिनु पर्‍यो, समितिमा भन्नु पर्‍यो भन्नु भनिरहेका छन्। लगानीकर्ताकाे विश्वास बढाउने उपाय के हाे?,’ उनले प्रश्न गरे।

सेयर बजार नयाँ सरकार गठनयता बियरिस छ। साढे तीन महिनामा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ गुमाइसकेका छन्।

कांग्रेसकै अर्का सांसद खडक बहादुर बुढाले बजारमा चलखेल रहेको तर नियमन धेरै कमजोर भएका कारण स्वार्थ समूह हावि भइरहेको बताए।

‘याे सरकारलाई हामीले गर्न सकेनौं भन्ने छुट छैन। सेयर बजारमा चलखेल छ। जाेखिम उत्तिकै छ। सुपरिवेक्षण कमजाेर छ। स्वार्थ समूह उत्तिकै हाबी छन्। त्यसैले सर्वसाधारणलाई बझाउन आवश्यक छ,’ उनले भने।

रास्वपाका सांसद सागर भुसालले जस्तासुकै कम्पनीलाई आइपीओ अनुमति दिएका कारण सेयर बजारमा विकृति बढेको भन्दै त्यस्ता कम्पनीको अनुगमन गर्नुपर्नेमा जोड दिए।

सेबोनका अध्यक्ष डा. भट्टले लगानीकर्ताले कमाउने अवस्था सिर्जनाका लागि नयाँ उपकरण ल्याउने तयारी गरिरहेको बताए। बजार घट्दा पनि लगानीकर्ताले कमाउन सक्ने गरी नयाँ उपकरण ल्याउन लागेको जानकारी दिंदै उनले प्रिआइपीओकाे विकृति रोक्ने बताए।

‘अब हामीले बजार बढ्दा हाेस् वा घट्दा पनि लगानीकर्ताले कमाउने गरी नयाँ उपकरण ल्याउँदैछाैं। सर्टसेलिङ र इन्ट्राडेका उपकरण ल्याउन लागेका छाैं। प्रिआइपीओकाे काराेबारलाई नियमन गर्दैछौं,’ उनले भने।

उनले सेयर बजारमा घटबढलाई स्वाभाविकरुपमा लिनुपर्ने बताए। ‘लगानीकर्ता बजार घट्याे भने चिन्तित हुन्छन्, बढ्याे भने खुसी हुन्छन्। बजार नबढे के हेरेर बसेकाे भनेर सेबाेन घेराउ गर्न आउँछन्। मेराे जीवनकालमा पहिलाेपल्ट हिजाे घेराउकाे सामना गर्नुपर्‍यो। बजार ३ हजार, ३५००, ५ हजार पुगे पनि काेही खुसी हुनेवाला छैन। लगानीकर्ताले कमाउन हाम्रो बजार बढ्नैपर्ने हुन्छ, तर संसारभरीकाे बजार सधैं बढिरहने हुँदैन,’ उनले भने।

समितिले नेप्सेकाे पुनर्संरचना गर्न सरकार र सेबाेनलाई निर्देशन दिएको छ। समितिले धिताेपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयास र उपलब्धिकाे विवरण पनि मागेको छ। यसका लागि १० दिनको समय दिइएको छ।