काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आइपीओ निष्कासनमा कडाइ गर्ने भएको छ।
सेयर बजार बियरिस भएपछि लगानीकर्तालाई मंगलबार बिहान रेस्क्यु प्लान ल्याउने आश्वासन दिएका सेबोन अध्यक्ष डा. गोपाल भट्टले अपराह्न आफ्ना प्राथमिकता सार्वजनिक गर्नै आइपीओ अनुमतिमा कडाइ गर्ने बताएका हुन्।
सेबोनले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र पुँजी बजार विकासका प्राथमिकताको प्रारम्भिक रुप सार्वजनिक गर्दै आइपीओ अनुमतिको व्यवस्थामा हेरफेर गर्ने बताएको छ।
‘सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरूबाट प्राप्त सुझाव समेतलाई समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवम् व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाइनेछ,’ सेबोनले भनेको छ।
सेबोन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र सेयर बजार सुधार मार्गचित्र ल्याउने अन्तिम तयारीमा छ। लगानीकर्ताले मंगलबार बिहान पुँजी बजार सुधारको कार्यक्रम चाहियो भन्दै कार्यालय अगाडि प्रदर्शन गरेपछि सेबोनले सुधारको नीति तथा कार्यक्रम र बजार विकासका प्राथमिकता सार्वजनिक गरेको हो।
सेबोन अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्तालाई तत्काल बजार सुधारका लागि रेस्क्यु प्लान ल्याउने आश्वासन दिएका थिए।
सेबोनले अब कम्पनीको आइपीओ सूचीकृत भएपछि दोस्रो बजारमा हुने अस्वाभाविक मूल्य उचाल्न रोक्ने गरी आपूर्ति बढाउने व्यवस्था गर्न लागिएको जनाएको छ। सेबोनले कम्पनीले म्युचुअल फण्डलाई निष्कासन गर्ने आइपीओको लकइन अवधि तत्काल हट्ने व्यवस्था गर्ने भएको हो।
‘सूचीकरण पश्चातको कारोबारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरवलोकन गरिनेछ,’ सेबोनले भनेको छ।
आइपीओ बिक्रीपछि अहिले सामूहिक लगानी कोषलाई ६ महिने लकइन अवधि लाग्छ। यसले बजारमा माग उच्च र सेयर न्यून हुँदा सेयर मूल्य उचालिने क्रम रोकिने विश्लेषण छ।
सेबोनले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत लगानीकर्ताको लागत घटाउने गरी प्राथमिक र दोस्रो बजार शुल्कमा हेरफेर गर्ने भएको छ। नेप्से सूचकांक गणना विधिलाई फेर्ने योजना बनाइएको छ।
‘लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गरिनेछ,’ सेबोनले प्रारम्भिक सुधारको योजनामा भनेको छ, ‘नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम राखी कारोबारयोग्य सेयरको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाइनेछ।’
सेबोनले प्रिआइपीओलाई नियमन गर्ने बताएको छ। अहिले कम्पनीको आइपीओ निष्कासन अगाडि नै १०० रुपैयाँको सेयर दोस्रो बजारमा यति मूल्य पुग्छ भनेर सामाजिक सञ्जालमार्फत महँगो मूल्यमा बिक्री भइरहेको छ। कर छलीको यो धन्दा मौलाइरहेका बेला सेबोनले कुनै काम गर्न सकेको थिएन।
‘सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्कासनअघि संगठित संस्थाहरूबाट हुने पुँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमनको व्यवस्था मिलाइनेछ,’ सेबोनले भनेको छ।
धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने योजना ल्याउन लागिएको छ। सेबोनले सेयर बजारलाई प्रभावित गर्ने गतिविधि नियमन गरेर कारबाही गर्ने योजना अघि सारेको छ।
‘पुँजी बजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखी बोर्डको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई समयबद्धरूपमा कार्यान्वयन गर्ने सम्पूर्ण पक्षहरूलाई जानकारी गराउँछौं,’ सेबोनले भनेको छ।
बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरी राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने सेबोनको योजना छ।










