काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तत्काल गर्ने काम र दीर्घकालीन सुधारको योजनासहित सेयर बजार विकासको मार्गचित्र ल्याउने तयारी गरेको छ।
सेबोन एक साताभित्र
सेबोन अध्यक्ष डा. गोपाल भट्टले तत्कालका लागि इन्ट्राडे, सर्टसेलिङ जस्ता उपकरण ल्याउने विषय समेटेर सेयर बजार विकासको मार्गचित्रको तयारी गरिरहेका छन्।
सेबोनका कर्मचारीहरुका अनुसार मध्यकालमा विभिन्न कानुन संशोधनको योजना बनाइएको छ। आइपीओ निष्कासनमा व्यापक फेरबदल ल्याउने धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनको प्रक्रियामा छ।
धितोपत्र सम्बन्धी ऐन यसअघि संसद् पुगेकामा दफाबार छलफल नै नभइ प्रतिनिधि सभा विघटन भएकाले अहिले फेरि अर्थ मन्त्रालयमार्फत अगाडि बढाउने तयारी छ।
विशिष्टिकृत लगानी कोष नियमावली, बुक बिल्डिङ निर्देशिका लगायत कानुन संशोधन हुन सकेका छैनन्। अर्थतन्त्र र सेयर बजार सुधारका लागि सरकारबाट यसअघि गठित विभिन्न अध्ययन समितिले दिएका प्रतिवेदनलाई आधार मानेर कानुन संशोधनको योजनासहित मार्गचित्र ल्याउन लागिएको छ।
दीर्घकालीनरुपमा सेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, नियामकीय क्षमतामा सुधार, नियमन र सुपरिवेक्षण प्रणाली बलियो बनाउने अध्यक्ष भट्टको योजना छ।
सेबोनले एक साताभित्रै पुँजी बजार विकास मार्गचित्र ल्याउन लागेको छ। साथै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि केही दिनभित्रै ल्याउने तयारी छ।










