काठमाडौं। नेपाल राष्ट्र बैंकको सञ्चालकमा एक जना महिला अनिवार्य गर्नु पर्ने सांसदहरुले माग गरेका छन्।
प्रतिनिधि सभामा पुगेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता गराउँदै पाँच जना सञ्चालकमध्ये एक जना महिला अनिवार्य गर्नु पर्ने संशोधन दर्ता गराएका हुन्।
प्रस्तावित ऐनमा कुल ७६ वटा संशोधन दर्ता भएको छ।
सांसदहरु पुष्पराज कँडेल, लिमा अधिकारीले एक जना महिला अनिवार्य हुनु पर्ने प्रस्ताव गरेका हुन्। पर्शुराम खापुङले चार जना मात्र सञ्चालक हुनु पर्ने भन्दै संशोधन दर्ता गराएका छन्।
डेपुटी गभर्नर पनि तीन जना हुनु पर्ने संशोधन दर्ता गरिएको छ। विधेयकमा दुई जनालाई नै निरन्तरता दिइएको छ।
सांसदहरुले तीन जनामध्ये एक जना राष्ट्र बैंकको सेवाभन्दा बाहिरको नियुक्त गर्नु पर्ने प्रस्ताव गरेका छन्।
सांसदहरु खुस्बु ओली, सुशिल खड्का, कमल सुवेदी, गोपाल शर्मा, गुरुप्रसाद बराल, गणेश पराजुली र रमेशकुमार मल्लले तीन जना डेपुटी गभर्नरको प्रस्ताव दर्ता गराएका छन्।











