लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सरकारले फेरि माग्यो आवेदन, दोस्रो सूचना जारी



बिजमाण्डू
२०८३ असार १८ गते १०:३१ | Jul 2, 2026
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सरकारले फेरि माग्यो आवेदन, दोस्रो सूचना जारी

काठमाडौं। लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सरकारले दोस्रो पटक दरखास्त मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार पुनः एक साताको म्याद थप गरी आवेदन माग गरेको हो।

Tata
GBIME
Nepal Life

यसअघि गत जेठ २९ गते पहिलो पटक १५ दिनको समयावधि राखेर आवेदन माग गरिएको थियो। उक्त अवधिमा ‘प्राप्त निवेदन कायम राखी छनोट प्रक्रियालाई थप प्रतिष्पर्धी बनाउन’ भन्दै सरकारले समयावधि थपेर पुनः सूचना गरेको हो।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयका अनुसार इच्छुक उम्मेदवारहरूले शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ।

परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हुनुपर्ने सूचनामा छ। दरखास्त दिनेले आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ।

आवेदनका साथमा नेपालमा लगानीको अवस्था र सम्भाव्यताको विश्लेषण, लगानी बोर्डको विश्लेषण तथा लगानी प्रवर्द्धनको रणनीतिक योजनाको खाका समेटिएको कार्ययोजना बुझाउनुपर्ने छ।