धोवीघाट र चोभारबाट ९ चिनियाँ नागरिक नियन्त्रणमा, पर्यटक भिसामा काम गरेको आशंका



बिजमाण्डू
२०८३ असार १८ गते ०७:१४ | Jul 2, 2026
धोवीघाट र चोभारबाट ९ चिनियाँ नागरिक नियन्त्रणमा, पर्यटक भिसामा काम गरेको आशंका

काठमाडौं। अध्यागमन विभागले ललितपुरको धोवीघाट र कीर्तिपुरको चोभारमा गरेको अनुगमनका क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

शंकास्पद गतिविधिमा ठूलो संख्यामा चिनियाँ नागरिक संलग्न रहेको सूचनाका आधारमा विभागको टोलीले धोवीघाटस्थित एक घरमा खानतलासी गरेको थियो। त्यहाँबाट ३ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको थियो भने चोभारस्थित ट्रेजर्स प्रालिबाट थप ६ जनालाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानमा धोवीघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको छ। विभागको टोली पुगेका बेला ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक त्यहाँ फेला परेका थिए।

तीमध्ये ४ जना व्यावसायिक (बिजनेस) भिसा र १८ जना पर्यटक (टुरिस्ट) भिसामा नेपालमा रहेको पाइएको छ। सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्रै राहदानी देखाएका थिए।

बाँकी ४ जनाले राहदानी भिसासम्बन्धी कामका लागि कानुन व्यवसायीसँग रहेको बताएका थिए। त्यसपछि अनुसन्धानका लागि उपलब्ध १८ थान राहदानी विभागले नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा उक्त घर ड्रागन ब्रिज इन्टरनेसनलले लिजमा लिएर संचालन गरिरहेको खुलेको छ। घरलाई होस्टल भनिए पनि संचालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला परेन।

त्यहाँ महिला र पुरुषलाई एउटै आवासमा राखिएको भेटिएको विभागले जनाएको छ। आफूलाई होस्टल संचालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बस्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत नरहेको पाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपालमा बस्दै चोभारस्थित ट्रेजर्स प्रालि र ड्रागन ब्रिज इन्टरनेसनल प्रालिसँग आबद्ध भएर काम गरिरहेको खुलेको छ। यसबाट उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको विभागको निष्कर्ष छ।

विभागले चोभारस्थित ट्रेजर्स प्रालिमा पनि छुट्टै अनुगमन गरेको थियो। भारतीय आयुर्वेदिक उत्पादनको प्रदर्शनी केन्द्रका रूपमा संचालन गरिएको उक्त भवनमा अत्यधिक सुरक्षा व्यवस्था, ठूलो संख्यामा सीसीटीभी, निजी सुरक्षा गार्ड र सर्वसाधारणलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको अवस्था भेटिएको छ।

अनुगमनका क्रममा करिब १८ जना चिनियाँ नागरिक त्यहाँ कार्यरत रहेको र अधिकांश पर्यटक भिसामा रहेको पाइएको छ। कर्मचारीहरूको अभिलेख उपलब्ध नगराइएको, राहदानी तथा परिचयपत्र देखाउन अस्वीकार गरिएको र कम्पनीको वास्तविक संचालकबारे कर्मचारीहरू अनभिज्ञ रहेको विभागले जनाएको छ।

भवनभित्र फोटो र भिडियो खिच्नसमेत निषेध गरिएको थियो। विभिन्न कोठामा ‘पर्यटक निषेध’ लेखिएका स्टिकर टाँसिएको र निजी संस्थाले प्रयोग गर्ने पास कार्डमा नेपालको राष्ट्रिय निशान छाप प्रयोग गरिएको पनि भेटिएको छ।

अनुगमनका क्रममा सीसीटीभी डाटा रुमसँग जोडिएको झ्यालविहीन अन्धकार कोठामा बाहिरबाट ताल्चा लगाएर ७ जना चिनियाँ नागरिक लुकाइएका भेटिएका थिए। तीमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको छ भने २ जना फरार छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको आशंका पनि गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

अनुसन्धानबाट धोवीघाटस्थित आवास र चोभारस्थित ट्रेजर्स प्रालिबीच प्रत्यक्ष सम्बन्ध रहेको खुलेको छ। होस्टल संचालक कर्मा शेर्पा र मञ्जु लामाले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रालिमै कार्यरत रहेको स्वीकार गरेका छन्।

यसबाट धोवीघाटस्थित घर चिनियाँ नागरिकको आवासीय केन्द्र र चोभारस्थित कम्पनी उनीहरूको कार्यस्थलका रूपमा प्रयोग भइरहेको देखिएको विभागको भनाइ छ। दुवै स्थानबीच नियमित आवतजावत र समन्वय रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसअघि पनि सोही घरबाट विदेशी नागरिकमार्फत धार्मिक गतिविधि संचालन भएको भेटिएको थियो। २०८२ भदौ ५ गते सोही स्थानबाट ४ जना इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएर ३ वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको थियो।

अध्यागमन विभागले दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक तथा सम्बन्धित व्यक्ति र संस्थामाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।