पेट्रोल र डिजलको भाउ लिटरमा ३० रुपैयाँसम्म घट्ने, ग्यास पूरै सिलिण्डर विक्रीको निर्णय गरिंदै



शुक्र गिरी
२०८३ असार १६ गते १९:३१ | Jun 30, 2026
पेट्रोल र डिजलको भाउ लिटरमा ३० रुपैयाँसम्म घट्ने, ग्यास पूरै सिलिण्डर विक्रीको निर्णय गरिंदै

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ।

Tata
GBIME
Nepal Life

इन्डियन आयल कर्पोरेसन(आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार नेपाल आयल निगमले भाउ घटाउने भएको हो।

आईओसीले मंगलबार पठाएको नयाँ मूल्यसूची अनुसार नेपालमा पेट्रोल प्रति लिटर करिब २० रुपैयाँ र डिजल प्रति लिटर ३० रुपैयाँले घट्ने भएको छ।

पछिल्लो समय इरान र अमेरिका तनावका कारण नेपालमा पेट्रोलियमको मूल्य अचाक्ली रुपमा बढेको थियो। जसले गर्दा निगमले चार महिनामा करिब ३८ अर्ब रुपैयाँसम्म घाटा बेहोर्नुपरेको थियो।

खाडी तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्यरुपमा घटेको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले भाउ घटाउन लागेको हो।

हवाई इन्धनको मूल्य पनि घट्ने भएको छ। स्रोतका अनुसार एलपी ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य समायोजन हुनेछ।

आइओसीले एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ३०० रुपैयाँ घटाएर पठाएको छ। तर प्रति सिलिण्डर ११७८ रुपैयाँ घाटा भइरहेकाले निगमले ग्यासको भाउ भने नघटाउने स्रोतले बतायो।

अहिले पेट्रोलको भाउ प्रति लिटर २१७, डिजलको मूल्य प्रति लिटर २२५ र एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २१६० रुपैयाँ छ। आइओसीले पठाएको मूल्य सूचीलाई आधार मानेर भाउ घटाउन अहिले निगम सञ्चालक समितिको बैठक बसिरहेको छ।

डिपोबाट व्यवसायीले उठाएनन् तेल

भारतबाट तेलको मूल्य घटेर आउने संकेत पाएपछि व्यवसायीले मंगलबार पेट्रोलियम पदार्थ खरिद गरेका छैनन्। निगमको थानकोट डिपोका अनुसार मंगलबार पेट्रोल १८१ किलोलिटर र डिजल ६६ किलोलिटर मात्रै खरिद भएको छ।

इन्धन व्यवसायीले सोमबार पेट्रोल ८३६ किलोलिटर र डिजल ६०५ किलोलिटर उठाएका थिए। नेपालगंज र धनगढी डिपोमा सोमबार पेट्रोल र डिजल बिक्री नै भएन।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार संसद्‍मा पेट्रोल र डिजलको मूल्य लिटरमा २० रुपैयाँसम्म घट्ने बताएका कारण पनि व्यवसायीले मंगलबार निगमका डिपोबाट तेल खरिद नगरेका हुन्।

‘अर्थमन्त्रीले नै संसद्‍मा तेलको मूल्य घट्छ भनेर बोल्नु भएको छ। त्यही कारण व्यवसायीले मंगलबार निक्कै कम परिमाणमा मात्र किनेका हुन्,’ निगमका एक कर्मचारीले भने।

ग्यास पूरै सिलिण्डर विक्रीको निर्णय गरिंदै

निगमले अभाव हुन नदिन भन्दै फागुन अन्तिमदेखि ग्यास आधा सिलिण्डर मात्रै बिक्री गर्दै आएकामा अब पूरै सिलिण्डर वितरण गर्ने विषयमा पनि मंगलबार निर्णय हुने स्रोतले बतायो।

पछिल्लो समय हेलो सरकारमा आधा सिलिण्डरका कारण अप्ठेरो भएको गुनासो बढेका कारण सरकार अब पूरै सिलिण्डर ग्यास बेच्न लचिलो भएको हो।

ग्यास पूरै सिलिण्डर बेच्ने निर्णय गर्न व्यवसायीहरुले पनि निगम र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको ध्यानाकर्षण गराउँदै आएका छन्।

‘निगमले आज ग्यास पूरा सिलिण्डर नै बेच्ने निर्णय गर्ने सुनिएको छ। उद्योगमन्त्रीले व्यवसायीहरुलाई फूल सिलिण्डर लागू गर्ने आश्वासन दिइसकेकामा प्रधानमन्त्री कार्यालयबाट पनि ग्रिन सिग्नल आएको छ,’ स्रोतले भन्यो।

निगमले करिब एक महिनाअघि नै ग्यास पूरै सिलिण्डर बेच्ने् निर्णय गर्न खोज्दा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको हस्तक्षेपका कारण रोकिएको थियो।