दीपक भट्टसँग विष्णु पौडेलको ‘अदृश्य व्यावसायिक साझेदारी’, अरुको कम्पनी हडप्न यसरी सघाउँथे भट्टलाई



सुदर्शन सापकोटा
२०८३ असार ८ गते १८:१९ | Jun 22, 2026
दीपक भट्टसँग विष्णु पौडेलको ‘अदृश्य व्यावसायिक साझेदारी’, अरुको कम्पनी हडप्न यसरी सघाउँथे भट्टलाई
एमाले र तत्कालीन माओवादीबीच पार्टी एकीकरणको सहमतिमा हस्ताक्षर हुँदा दीपक भट्ट (बायाँतर्फ)

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ। विवादास्पद व्यवसायीसँग मिलेर अवैध ढंगले सम्पत्ति आर्जन गरेको खुल्दै गएपछि थप अनुसन्धानका लागि विभागले पौडेललाई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

दीपक भट्टलगायत विवादास्पद व्यवसायीहरुलाई लाभ पुर्‍याउनेदेखि विभिन्न व्यवसायीबाट लाभ लिएको संलग्नता  खुलेपछि विभागले पौडेललाई पक्राउ गरेको हो।

केही दिनअघि मात्र विभागको अनुसन्धानपछि दायर गरिएको मुद्दामा विशेष अदालतले भट्टसँगै व्यवसायी सुलभ अग्रवाललाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।

चार पटक अर्थमन्त्री भइसकेका पौडेलले नीतिगत निर्णयमार्फत आर्जन गरेको पैसा अरु कसैको नाममा सम्पति खरिद गर्न प्रयोग गरेको देखिन्छ। साथै उनले भट्टलाई लाभ हुने गरी विभिन्न ‘डिल’ गराएको पनि फेला परेको छ।

विभिन्न कालखण्डमा गरिएका निर्णय र ‘डिल’बाट भट्टलाई लाभ पुर्‍याउँदै पौडेलले आफूलाई प्राप्त पैसाबाट गाइपालक किसानका नाममा जग्गा जमिन खरिद गरेको अनुसन्धानका क्रममा भेटिएको छ। ‘बुटवलका एक गाइपालक किसानका नाममा पौडेलले सम्पति जोड्ने काम गरेको देखिन्छ,’ स्रोतले भन्यो।

एक जना चर्चित व्यवसायीको साझेदारीसमेत पौडेलले ती गाइपालक किसानसँग गराएका छन्। ती किसान र व्यवसायी मिलेर किनिएको भनिएको जग्गामा होटल बनाउने योजना छ। ती व्यवसायी पछिल्लो समय सर्वसाधारणलाई निस्कासन गरिएको सेयरलाई लिएर विवादमा परेका थिए। 

पौडेलले ‘डिल’ मिलाइदिएबापत ती किसानको नाममा जग्गाजमिन खरिद गरेको देखिएको छ। यी गाइपालक किसानको केही वर्षअघिसम्म सम्पत्ति देखिँदैन। जब पौडेल सरकारमा पुगे, त्यसपछि उनको आर्थिक उदय ह्वात्तै बढेको देखिन्छ।

विष्णु पौडेल

आर्जन गरिएको सम्पतिमा पौडेलको प्रत्यक्ष स्वामित्व देखिँदैन। तर नियन्त्रण र लाभ भने पौडेलले लिएको देखिन्छ। सम्पति शुद्धीकरणको भाषामा यसलाई ‘इन्डाइरेक्ट बेनिफिसियल ओनरसिप’ अर्थात ‘अप्रत्यक्ष वास्तविक धनी’ भनिन्छ।

पौडेलको सहयोगमा उदाएका केही व्यवसायीलाई पछि दबाब दिएर भट्टका नाममा सेयर हस्तान्तरण गर्न लगाएको पनि पाइएको छ।

भैरहवा क्षेत्र आसपासका केही व्यवसायीले वर्षौंदेखि सञ्चालन गरेर राम्रो नाफा आर्जन गरिरहेको कम्पनीमा पौडेलले भट्टलाई साझेदार बनाउन लगाएको पाइएको छ। भट्ट ती कम्पनीको साझेदार भएको दुई वर्ष हाराहारी भएको छ।

भट्टले ती कम्पनीबाट लाभांश भने करोडौं लगिसकेका छन्। त्यसको लाभ पौडेलले पनि लिने गरेको स्रोतको दाबी छ।

भट्ट र पौडेलको निकट सम्बन्ध पुष्टी हुने थुप्रै कागजपत्र र तस्बिरसमेत फेला परेका छन्। विभागले केही दिनअघि पौडेलको निवासमा छापा मारेको थियो। सरकार बनाउने र ढाल्ने सम्झौता गर्दा भट्ट प्रत्यक्षरुपमा संलग्न भएको भेटिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग त्यति राम्रो सम्बन्ध नहुँदा पनि पौडेललाई भट्टको दबाबमा अर्थमन्त्री बनाइएको थियो। 

बिजमाण्डूलाई प्राप्त तस्बिर अनुसार, २०७५ जेठ २ गते एमाले र तत्कालीन माओवादीबीच पार्टी एकीकरणको सम्झौता भट्टले गराएको देखिन्छ। सात बुँदे सम्झौतामा एमालेबाट विष्णु पौडेल र तत्कालीन माओवादीबाट पूर्वअर्थमन्त्री जनार्दन शर्माले हस्ताक्षर गरेका छन्। 

सम्झौतामा हस्ताक्षर गर्दा एमाले अध्यक्ष ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा एमाले नेता विष्णु रिमाल पनि तस्बिरमा देखिन्छन्। हस्ताक्षरको भोलिपल्ट पार्टी एकीकरणको घोषणा भएको थियो।

त्यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भट्टको रोजाइमै जनार्दन अर्थमन्त्री भएका थिए। एमाले र तत्कालीन माओवादीले २०७४ मंसिरको निर्वाचन गठबन्धन गरेर लडेका थिए। निर्वाचनमा बहुमत आएपछि एमाले अध्यक्ष ओली फागुन ३ गते प्रधानमन्त्री बनेका थिए।

२०८१ असारमा कांग्रेस र एमालेबीच गठबन्धनको सम्झौतामा हस्ताक्षर गर्दा पनि भट्ट संलग्न भएका थिए। पार्टी एकीकरणमा संलग्न भट्टको पौडेलसँगको सम्बन्ध त्यसपछि झन् बलियो बनेको थियो।  

रुपन्देही-२ बाट पौडेलको जित घोषणा हुनुअघि त्यहाँ केही घटना भएका थिए, जुन कानुनी रेकर्डमा त छैन तर त्यसका बारेमा पौडेल स्वयं र भट्टलाई थाहा छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै विष्णु निर्वाचित भएका थिए। विष्णुले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशले २५ हजार ७८२ मत ल्याएका थिए।

तर, त्यसबीचमा गणना रोकिएको थियो। बत्ति काटिएको थियो। ८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा गणना अवरुद्ध भएको थियो। हो, त्यतिबेलैको गणनापछि विष्णुले विजय हात परेका हुन्। ‘लास्ट आवर’मा विष्णुलाई विजयी बनाएको जस भट्टले लिने गरेका थिए।