काठमाडौं। उपत्यकाको सडक सञ्जाललाई नयाँ स्वरुप दिने तथा भारत र चीनका नाकासम्म व्यापारिक आवागमन सहज बनाउने उद्देश्यसहित दुई ठूला एक्सप्रेस-वे परियोजना प्रस्ताव गरिएको छ।
काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकलाई मूर्त रुप दिन भन्दै टेकु दोभान-भक्तपुर-ताथली-रविओपी-पाँचखाल भायडक्ट र सुरुङमार्ग एक्सप्रेस वे तथा खोकना-टेकु दोभान-टोखा एक्सप्रेस वे निर्माणको प्रस्ताव गरिएको हो। यी दुई आयोजनाका लागि १ खर्ब ८५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
लगानी बोर्डले यी दुई परियोजनालाई यातायात पूर्वाधारमा निजी लगानी आकर्षित गर्न सकिने आयोजनाका रुपमा हेरेको छ। दुवै आयोजना सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने प्रस्ताव छ।
पहिलो आयोजनाको अनुमानित लागत १ खर्ब ५ अर्ब र दोस्रोको ८० अर्ब रुपैयाँ छ। दुवै आयोजनाको मुख्य उद्देश्य काठमाडौं-तराई द्रुत मार्गबाट आउने र जाने सवारीलाई उपत्यकाभित्रको भीडमा नअल्झाई वैकल्पिक मार्गबाट बाहिर निकाल्नु तथा चीन र भारतसँगको व्यापारिक आवागमनलाई जोड्ने उत्तर-दक्षिण सडक सञ्जाल विकास गर्नु हो।
काठमाडौं-तराई द्रुतमार्गले काठमाडौंलाई वीरगञ्जतर्फ जोड्नेछ भने प्रस्तावित खोकना-टेकु दोभान-टोखा एक्सप्रेस-वेले उत्तरी करिडोरतर्फको पहुँच सहज बनाउनेछ।
आयोजना निर्माणपछि यात्रा समय घट्ने, इन्धन खपत कम हुने, सवारीसाधनको मर्मत खर्च घट्ने र कार्बन उत्सर्जन कम हुने अपेक्षा गरिएको छ।
टेकु दोभान-भक्तपुर-ताथली-रविओपी-पाँचखाल भायडक्ट तथा सुरुङमार्ग एक्सप्रेस-वे काठमाडौं उपत्यकाबाट भक्तपुर हुँदै काभ्रेको पाँचखालसम्म पुग्ने प्रस्तावित सडक आयोजना हो। यसको मुख्य संरचना चार लेनमा २७ किलोमिटर लामो हुनेछ। ताथलीदेखि रविओपीसम्म करिब ७ किलोमिटर सुरुङमार्ग बनाउनुपर्नेछ।
आयोजना खोकनाबाट सुरु भइ टेकु दोभानमा दुईतर्फ विभाजित हुनेछ। एउटा टोखातर्फ जानेछ भने अर्को भक्तपुर हुँदै पाँचखालमा अरनिको राजमार्गसँग जोडिनेछ।
यो आयोजना निर्माणपछि काठमाडौं-पाँचखालको हालको सडक दूरी करिब १२ किलोमिटर छोट्टिनेछ।
यो एक्सप्रेस वे मुख्यतः बागमती, मनोहरा र हनुमन्ते नदी किनार र राइट अफ वे प्रयोग गरेर निर्माण गर्ने अवधारणा छ। नदी किनारमा आधारित संरचना भएकाले जग्गा अधिग्रहण धेरै गर्नु नपर्ने बोर्डका अधिकारीहरुले बताएका छन्।
उचाइमा निर्माण हुने सडकका लागि पाइल फाउन्डेसन, पियर, गर्डर र डेक स्ल्याब प्रयोग गर्ने प्रस्ताव छ। विद्यमान सडक तथा बस्तीको आवागमनलाई सकेसम्म प्रभावित नगरी माथिल्लो तहमा एक्सप्रेस वे निर्माण गर्ने भनिएको छ।
ताथली-रविओपी ७ किलोमिटर सुरुङको क्रस सेक्सन मोडिफाइड हर्स सु आकारको हुने उल्लेख छ। सुरुङको चौडाइ ११.३ मिटर र उचाइ ७.४४ मिटर हुनेछ। यसमा ९.५ मिटर चौडाइको दुई लेनको मुख्य सडक र एक लेनको आपत्कालीन निकास सुरुङ रहनेछ। सुरुङभित्र आरसीसी पेभमेन्ट निर्माण गर्ने प्रस्ताव छ।
काठमाडौं-तराई द्रुतमार्गबाट आउने सवारीलाई उपत्यकाबाट बाहिर निकाल्न बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनाइएकामा अघि नबढेपछि वैकल्पिक मार्गका रुपमा यो एक्सप्रेस वे प्रस्ताव गरिएको हो।
यो एक्सप्रेस वेले काठमाडौं-तराई द्रुतमार्गबाट आउने सवारीलाई भक्तपुर-पाँचखाल हुँदै चीनतर्फको सडक सञ्जालमा जोड्ने भएकाले कोटेश्वरसहित उपत्यकाका मुख्य सडकमा सवारी चाप घट्ने अपेक्षा गरिएको छ।
रक्सौल-तातोपानी चार घण्टा
काठमाडौं-तराई द्रुतमार्ग र प्रस्तावित एक्सप्रेस वे तथा सुरुङमार्ग निर्माणपछि भारतको रक्सौलदेखि चीनसँगको तातोपानी नाकासम्मको यात्रा करिब चार घण्टामा पूरा गर्न सकिने अनुमान छ।
यसले नेपाल, भारत र चीनबीचको त्रिदेशीय व्यापारलाई सहज बनाउने, पाँचखालमा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज) र आसपासका औद्योगिक करिडोरलाई बजारसँग जोड्ने अपेक्षा छ।
आयोजना सार्वजनिक-निजी साझेदारीअन्तर्गत बिल्ड-अन-अपरेट-ट्रान्सफर (बुट) मोडलमा विकास गर्ने प्रस्ताव छ। निजी क्षेत्रले डिजाइन, निर्माण, वित्तीय व्यवस्थापन, सञ्चालन तथा मर्मत सम्भार र राजस्व संकलन गर्नेछ। निश्चित अवधिपछि आयोजना सरकारलाई हस्तान्तरण गरिने छ।
खोकना-टेकु दोभान-टोखा एक्सप्रेस वे
खोकना-टेकु दोभान-टोखा एक्सप्रेस वे काठमाडौं-तराई द्रुतमार्गलाई उत्तरी नाकातर्फ जाने सडक सञ्जालसँग जोड्ने रणनीतिक आयोजना हो।
करिब २१ किलोमिटर लामो यो एक्सप्रेस वे चार लेनको हुनेछ। बागमती र विष्णुमती नदी करिडोर हुँदै उचाइमा भायडक्ट निर्माण गरेर सडक सञ्चालन गर्ने प्रस्ताव छ।
प्रस्तावित सडकको सुरुवात विन्दु खोकना वा आसपासको क्षेत्रलाई बनाउन स्थानीयसँग छलफल गरिरहेको बोर्डले जनाएको छ। सडक टोखातर्फ प्रस्तावित टोखा-छहरे सुरुङमार्ग सुरु हुने क्षेत्रसम्म पुग्नेछ।
बागमती र विष्णुमती किनारमा भायडक्ट
चार लेनको यो एक्सप्रेस वे नदी किनारको अधिकार क्षेत्रमा निर्माण गर्ने प्रस्ताव छ। नदी किनार हुँदै उचाइमा सडक निर्माण गर्दा निजी जग्गा धेरै अधिग्रहण गर्नुपर्ने छैन।
आयोजनामा पाइल फाउन्डेसन, पियर, गर्डर र डेक स्ल्याब प्रयोग गरिनेछ। यसले काठमाडौं-तराई द्रुतमार्गबाट आउने र जाने सवारीलाई उपत्यकाको उत्तरी सडक सञ्जालमा जोड्नेछ। टोखा-छहरे सुरुङमार्ग हुँदै रसुवागढी नाकासम्म पुग्ने मार्गसँग जोडिएपछि उत्तर-दक्षिण सडक सञ्जाल तयार हुनेछ।
यो आयोजना पनि पीपीपी मोडलमा बुट प्रणालीबाट विकास गर्ने प्रस्ताव छ।
आयोजनामा सरकारले नियामकीय निगरानी, जग्गा अधिग्रहण तथा अधिकार व्यवस्थापन र आवश्यक वित्तीय सहयोग तथा प्रोत्साहन उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ।










