जिरीमा नेपालमा बनेको विद्युतीय स्कुटर पी२ को ‘रोड टेस्ट’, उत्पादनको अन्तिम चरणमा सिप्रदी-यात्री

बिजमाण्डू
२०८३ असार ७ गते ११:३२ | Jun 21, 2026
जिरीमा नेपालमा बनेको विद्युतीय स्कुटर पी२ को ‘रोड टेस्ट’, उत्पादनको अन्तिम चरणमा सिप्रदी-यात्री


काठमाडौं । नेपाली कम्पनी यात्री मोटरसाइकल्स र सिप्रदी ट्रेडिङको सहकार्यमा निर्माण भइरहेको ‘मेड इन नेपाल’ विद्युतीय दुईपाङ्ग्रे सवारी पी२ अहिले प्रि-प्रोडक्सन चरणमा प्रवेश गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले सार्वजनिक गरेको जानकारी अनुसार लामो समयसम्म विभिन्न भौगोलिक क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि पी२ अब बजारमा ‘इन्ट्री’ गर्ने नजिक पुगेको हो।

कम्पनीले सामाजिक संजालमार्फत सार्वजनिक गरेको पोस्टमा पी२ विकास यात्रा हजारौं किलोमिटर परीक्षणका क्रममा हिमाली भूभाग दोलखाको जिरीमा पुगेको छ।

धेरै प्राविधिक परीक्षण तथा इन्जिनियरहरुको निरन्तर मेहनतबाट नेपालको हरेक भूगोलहरुमा परीक्षण गरेर स्कुटरलाई ‘राम्रो मात्र होइन, उत्कृष्ट उत्पादन’ बनाउने लक्ष्यसहित काम गरिएको कम्पनीको दाबी छ।

पी२ को परीक्षण नेपालका विभिन्न भूभागमा गरिएको छ। यात्रीले तराईदेखि मध्यपहाडसम्मका सडकमा दैनिक सयौं किलोमिटर चलाएर यसको सहनशीलता, पफ्रमेन्स र विश्वसनीयताको परीक्षण गरेको थियो। परीक्षणका क्रममा जिरी सहित काठमाडौं, मुलकोट, कटारी, भरतपुर र वालिङलगायत क्षेत्रमा स्कुटर चलाइएको कम्पनीले जनाएको छ।

नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी२ लाई स्थानीय उत्पादन र नवप्रवर्तनको महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ। यसअघि सार्वजनिक भएका विवरणहरु अनुसार स्कुटरमा आधुनिक डिजाइन, मिड-माउन्टेड मोटर, डिस्क ब्रेक र नेपाली बजारलाई लक्षित विभिन्न स्मार्ट सुविधाहरु समावेश गरिएका छन्।

यात्रीले पी२ लाई नेपालमै डिजाइन र उत्पादन गरिएको नयाँ पुस्ताको विद्युतीय स्कुटरका रुपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीका अनुसार अब स्कुटर प्रि-प्रोडक्सनको चरणमा प्रवेश गरिसकेको छ र व्यावसायिक उत्पादन तथा बजार प्रवेशको प्रतीक्षा छोटिँदै गएको छ।

विद्युतीय सवारी उत्पादनमा स्वदेशी क्षमता विस्तार गर्ने लक्ष्यसहित अघि बढेको यो परियोजनाले नेपालमा स्थानीय उत्पादनमा आधारित विद्युतीय दुईपाङ्ग्रे उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसले आफ्नो उत्पादन प्लान्ट अहिले गल्छीमा निर्माण गरिरहको छ। उक्त उत्पादन प्लान्टको निर्माण कार्य पनि लगभग अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।