काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएसँगै पराजित पक्षले निर्वाचन परिणाम ‘रिभ्यु’ गरेको छ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले ३० र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेलले २५ मतसहित हार बेहोरेपछि पराजित पक्षले भोट कम आउनुको कारणबारे ‘रिभ्यु’ गरेको हो।
मत अपेक्षा गरेभन्दा कम आएका कारण गम्भीर रुपमा ‘रिभ्यु’ गरेको स्रोतले बतायो। शुक्रबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्णले ५६ र कोषाध्यक्षमा मनिषलालले ६१ मत पाएका थिए। निर्वाचनमा पदाधिकारीसहित कार्यसमितिका ८९ जना भोटर थिए।
तीमध्ये एसोसिएट सदस्य सुयश प्याकुरेल र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य मनोज पौडेल विदेशमा रहेका कारण अनुपस्थित भए। अध्यक्ष अन्जन श्रेष्ठले ७ मध्ये ६ जना मात्रै मनोनीत गरेका थिए।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा संघईको पक्षमा एसोसिएटबाट १९ भोट, वस्तुगतबाट ५ भोट, जिल्लाबाट पाँच भोट र निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको भोट आएको निष्कर्ष निकालिएको छ।
यस्तै वस्तुगतबाट भक्त हमाल, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, विदुर धमला र नरेशलाल श्रेष्ठको मात्र भोट आएको हिसाब निकालिएको छ। जिल्लाबाट नरेश कँडेल, उज्जवल कसजु, विकास शारडा, राजेन्द्र राउत र पदम शाहीको मात्र भोट आएको पराजित पक्षको बुझाइ छ।
तर, भोटको यो प्याटर्न कोषाध्यक्ष पौडेलका हकमा मिल्दैन। एउटै प्यानल भए पनि पौडेलले २५ मत मात्रै पाएका थिए। त्यही प्यानलमा रहेका एक व्यवसायीका अनुसार एसोसिएटतर्फ संघईलाई भोट हालेका केहीले कोषाध्यक्षमा पौडेललाई दिएनन्। यस्तै वस्तुगततर्फ पनि संघईलाई भोट दिएका केही व्यवसायीले पौडेललाई क्रस गरेको हिसाब निकालिएको छ।
वरिष्ठ उपाध्यक्षमा संघई र कोषाध्यक्षमा पौडेललाई एसोसियट उपाध्यक्ष प्रबलजंग पाण्डेको समूहले मैदानमा उतारेको थियो। प्रबलजंगले संघईको पक्षमा माहोल बनाउन अन्तिम समयमा हेमराज ढकाललाई उम्मेदवारी फिर्ता गराउन लगाएका थिए।
रिभ्युमा हारका चार कारण रहेको निष्कर्ष निकालिएको छ। पहिलो कारण भनेको अध्यक्ष अन्जन श्रेष्ठले मनोनित गरेका ६ जनाको मत।
दोस्रो कारण अन्तिम समयमा हेमराजलाई उम्मेदवारी फिर्ता गर्न लगाउनु। तेस्रो- आफ्नै प्यानलबाट पराजित शिवप्रसाद घिमिरेले धोका दिनु। र, अन्तिम कारण जिल्लालाई आफ्नो ग्रिपमा राख्न नसक्नु।
वैशाख तेस्रो साता भएको पदाधिकारी तथा कार्यकारिणी सदस्यको निर्वाचनमा एकै प्यानलमा रहे पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा अध्यक्ष अन्जन र एसोसिएट उपाध्यक्ष प्रबलजंगको समूह फूटेर आमनेसामने भएका थिए। अन्जनले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र कोषाध्यक्षमा मनिषलाललाई अगाडि सारेपछि प्रबलजंग रुष्ट भएका थिए।
अन्जनले अध्यक्ष निर्वाचित भएपछि सुरकृष्णलाई अघि बढाएकामा प्रबलजंग भने संघईलाई उम्मेदवार बनाउने प्रतिबद्धता गरिसकेकोले अरुलाई अगाडि सार्न नहुने पक्षमा थिए।
तर, अन्जनले प्रबलजंगको कुरा सुनेनन्। अझ अन्जनले अध्यक्ष हुनेबित्तिकै मनिषलाललाई कोषाध्यक्षमा अघि सारेपछि प्रबलजंग आक्रोशित बनेका थिए।
त्यसपछि अन्जन र प्रबलजंगबीच फुट आएको थियो। दुवै समूह जुनसुकै हालतमा आ-आफ्नो उम्मेदवार जिताउने रणनीतिमा थिए। त्यही रणनीति अनुसार मनोनीत सदस्यले मत दिन नपाउने कार्यविधि अन्जनले पहिलो बैठकबाटै तीन सदस्यीय समिति गठन गरेर परिवर्तन गरे।
त्यो निर्णयविरुद्धमा महासंघका पूर्वउपाध्यक्ष किशोरकुमार प्रधान अदालत गएका थिए। अदालतले यो मुद्दामा अन्तरिम आदेश दिन मानेन। अन्जनको यो निर्णय नै सुरकृष्ण र मनिषलाललाई जिताउन सबैभन्दा बलियो आधार बन्यो।
प्रबलजंग पक्षले भरतराज आचार्यलाई उम्मेदवारी दिनबाट रोक्नु पनि अर्को गलत रणनीति भएको निष्कर्ष निकालिएको छ।
निर्वाचनमा आकांक्षी रहेका आचार्यलाई अघिल्लो दिन बिहीबार र ढकाललाई उम्मेदवारी दिइसकेपछि अन्तिम मिनेटमा प्रतिस्पर्धा गर्न रोकेर संघईलाई समर्थन गर्न लगाइएको थियो। सहमतिका लागि महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्रमुख भूमिका निर्वाह गरेका थिए। तर त्यो निर्णयले उल्टै सुरकृष्ण र मनिषलाललाई फाइदा गरेको निष्कर्ष निकालिएको छ।
हेमराजले उम्मेदवारी फिर्ता लिए पनि उनको समूहबाट संघई र पौडेललाई एक मत पनि नआएको देखिएको छ। ‘अन्तिम मिनेटमा उम्मेदवारी फिर्ता लिने निर्णय प्रबल पक्षका लागि घातक भयो। बरु हेमराज उठेको भए केही मत काटिएर फाइदा हुन सक्थ्यो,’ प्रबलनिकट एक व्यवसायीले बिजमाण्डूसँग भने, ‘केही नभए पनि वस्तुगत र जिल्लाको भोट हेमराजलाई जाँदा संघई र पौडेललाई फाइदा हुन्थ्यो।’
प्रबल पक्षका अनुसार आफ्नो टिमबाट वस्तुगत उपाध्यक्षमा पराजित घिमिरेले कोषाध्यक्षमा धोका दिएका छन्। वस्तुगत उपाध्यक्षमा पराजित घिमिरेलाई अन्जनले कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेका छन्।
स्रोतका अनुसार सुरकृष्ण र भाष्कररराज राजकर्णिकारलाई वरिष्ठ उपाध्यक्ष तथा मनिषलाल र घिमिरेलाई कोषाध्यक्ष पद आधा आधा कार्यकाल बाँड्ने सहमति गरिएको छ। यही सहमतिका कारण घिमिरे प्रबललाई छाडेर अन्जनतिर गएका हुन्।
घिमिरे मनिषलालपछि आधा कार्यकालका लागि कोषाध्यक्ष भएर अर्को कार्यकाल वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने योजनामा छन्।
स्रोतका अनुसार प्रबलले वरिष्ठ उपाध्यक्षमा संघईलाई अगाडि सारेको घिमिरेलाई मन परेको थिएन। ‘संघईलाई बोकेर हिंडेको उनलाई मन परेको थिएन। त्यही भएर अन्जन र घिमिरे भित्रभित्रै एक ठाउँमा थिए,’ एक व्यवसायीले भने, ‘प्रबलले यो कुरा बुझेनन्। अन्तिममा अन्जनले वरिष्ठ उपाध्यक्षमा लड्न मिल्नेगरी सहमति गरेकाले घिमिरेले प्रबललाई छाड्नु के नौलो कुरा भयो र?’
स्रोतका अनुसार अन्जनले आफ्नो कार्यकालपछि भाष्करलाई अध्यक्ष बनाउने योजना अनुसार उनलाई वरिष्ठ उपाध्यक्षको आधा कार्यकाल दिने सहमति गरिएको हो।
अन्तिम कारण भनेको संघईले जिल्ला नगरलाई होल्डमा राख्न नसक्नु नै हो। सुरकृष्ण अघिल्लो कार्यकालमा जिल्ला जिल्ला घुमेका थिए। उनी प्रत्येकजस्तो कार्यक्रममा जाने गर्थे। त्यसमा पनि भर्खरै जिल्लाबाट निर्वाचित दुई जना कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ सुरकृष्णका लागि मरिमेटेर लागेका थिए।
तर, यता संघईले भने जिल्ला नगरलाई होल्डमा राख्नका लागि खासै मेहनत नगरेको प्रबल पक्षको बुझाई छ। ‘उहाँले २० भोट जिल्ला नगरबाट पक्का गर्नुभएको थियो। तर, पाँच भोट भन्दा आएन,’ प्रबल पक्षका एक व्यवसायीले भने, ‘अन्तिम दिनमा समेत जिल्ला नगरलाई आफ्नो पक्षमा पार्नका लागि खटिनुपर्नेमा त्यतिकै छाडिदिनुभयो।’
सुरकृष्ण पक्षले गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा जिल्ला नगरका सदस्यलाई राखेको थियो। त्यही होटलमा राखेर उनीहरुको मतलाई अन्जन पक्षले एकीकृत गरेका थिए। तर, संघईले तपाइँहरु त्यहाँ जानुस् भोट मलाई दिनुस भनेर बस्दा हार भएको प्रबलजंग पक्षको निष्कर्ष छ।









