दोहोरो आइजीनबारे सन्तोषनारायणले निर्णय नलिएपछि पन्दाक फायर, सेबोनमाथि उठाइन् प्रश्न



सुनिल कुँवर
२०८२ फागुन ११ गते २०:५७ | Feb 23, 2026
दोहोरो आइजीनबारे सन्तोषनारायणले निर्णय नलिएपछि पन्दाक फायर, सेबोनमाथि उठाइन् प्रश्न

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा स्वीकृत नगरी सात महिनासम्म होल्ड गरेपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेड आगो भएको छ।

Tata
GBIME
Nepal Life

सेबोनको अनिर्णयका कारण निर्देशिकामा प्रस्ताव गरिएको आइजीनको विषयलाई विवादित बनाइएको भन्दै सीडीएसीकी प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाक फायर भएकी हुन्।

उनले निर्देशिकामा प्रस्तावित विषयबारे स्पष्ट पार्न सोमबार अपराह्न ३ बजे एउटा कार्यक्रम राखेकी थिइन्। जहाँ सेबोन र नेप्सेका प्रमुखदेखि निजी क्षेत्रका प्रतिनिधिसम्म बोलाइएका थिए। तर, सीडीएसीको समेत नियामक रहेको सेबोनबाट कुनै प्रतिनिधि उपस्थित भएनन्।

सीडीएससीकी सीइओ पन्दाकले आधा घण्टा लगाएर आइजीनको व्यवस्था प्रस्ताव गर्नुको कारणबारे प्रष्ट पार्न खोजिन्। ‘रुल बेस क्यापिटल मार्केटको परिकल्पना गरेर आइजीन निर्देशिकाको मस्यौदा बनाउँदा मैले दबाब, प्रभाव, हिंसा र कानुनी लँडाइ भोगिसकेको छु,’ उनले भनिन्, ‘यो कार्यक्रम पनि नगर्न दबाबका बाबजुत म यहाँ उभिएको छु। तर, इन्भेष्टर सचेतना अन्तर्गत आइजीन सम्बन्धी निर्देशिकाको विषय प्रस्ट पार्न कार्यक्रम गरेका छौं।’

पन्दाकले कम्पनीको लकइन अवधिमा संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गरेर बिक्री गर्न प्रणालीभित्रै गम्भीर छेडखानी भएको पाइएकाले दुई वटा आइजीन प्रस्ताव गरेर सीडीएससीले निर्देशिकाको मस्यौदा तयार पारी स्वीकृतिका लागि सेबोनमा पठाएको बताइन्।

नियामक नभएका क्षेत्रका कम्पनीलाई आफू अनुरुप व्याख्या गरेर कुनैलाई दुई वटा र कुनैलाई एउटा आइजीन दिइएकाले त्यसलाई व्यवस्थित गर्न आवश्यक ठानेर निर्देशिका प्रस्ताव गरेको उनको प्रष्टोक्ति छ।

‘कम्पनीको लकइन अवधिमा संस्थापक सेयरलाई साधारण सेयरमा प्रणालीभित्र प्रवेश गराएर बिक्री गर्न खोजिएको जुन गम्भीर वित्तीय अपराध छ, यसलाई रोक्नका लागि हामीले दुई वटा आइजीन प्रस्ताव गरेका हौं,’ पन्दाकले भनिन्, ‘नियामक निकाय नभएका बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीमा आइजीनमा मनपरी भएको पाइएपछि यसलाई व्यवस्थित बनाउनुपर्छ भन्ने उद्देश्यका साथ निर्देशिको मस्यौदामा दुई वटा आइजीन प्रस्ताव गरेका छौं। तर, नियामकबाट स्वीकृति किन भएन? हामीलाई त्यसको कुनै जानकारी भएको छैन।’

पन्दाकले सिटी होटल र कालिञ्चोक दर्शन कम्पनीको संस्थापक सेयरलाई साधारण सेयर भनेर प्रणालीमा प्रविष्ट गराएको पाइएको भन्दै यस प्रकारका गतिविधि रोक्नुपर्ने र कम्पनीमाथि कारबाही हुनुपर्ने बताइन्।

सीडीएससीको सञ्चालक समितिले गत साउन १२ गते धितोपत्र अभौतिकीकरण निर्देशिकाको मस्यौदा तयार पारेर स्वीकृतिका लागि सेबोनमा पठाएको थियो। तर, निर्देशिकाबारे सेबोन अहिलेसम्म अनिर्णित छ।

सीडीएससीले प्रस्ताव गरेको विषयलाई लिएर संस्थापक सेयरधनी र साधारण सेयरधनीबीच चर्को अन्तरविरोध छ।

कम्पनीका संस्थापक सेयरधनीले दोहोरो आइजीनको व्यवस्थाले सेयर बजार नै कोल्याप्स हुने बताउँदै आएका छन्। साधारण लगानीकर्ता भने संस्थापक र साधारण सेयरमा छुट्टै आइजीन लागू हुनुपर्ने पक्षमा छन्।

सीडीएससीको कार्यक्रममै निजी क्षेत्रका प्रतिनिधिले कम्पनीमा संस्थापक र साधारण सेयरको एउटै आइजीन हुनुपर्ने बताए।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्नेमा सरकारी निकायबाटै निरुत्साहित गर्ने काम भएको बताए।

‘कुनै कम्पनीले गलत गरेको भए त्यसलाई कारबाही गर्नुपर्छ। सबैलाई एउटै डालोमा हाल्न हुँदैन। निजी क्षेत्रलाई निरुत्साहित गरे लगानी आउँदैन,’ उनले भने, ‘नियमन आयोगले रोकेको रोक्यै छ। सरकार एकातिर कुद्ने, नियामक अर्कोतिर, राजनीतिक दल अर्कातिर। त्यसैले पोलिसीमा एकरुपता हुनुपर्छ। त्यसपछि मात्रै लगानीको वातावरण बन्छ।’

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले पनि एकल आइजीनको पक्षमा धारणा राखे।

सीडीएसीले निर्देशिकाको मस्यौदामा कम्पनीको लकइन सकिएपछि संस्थापक सेयर साधारणमा रुपान्तरण हुँदा एउटै आइजीन बनाउनका लागि मर्जर गर्न सकिने प्रस्ताव गरेको छ।

कम्पनीका संस्थापकहरु मस्यौदामा गरिएको यही प्रस्तावलाई लिएर तरंगित देखिएका छन्। संस्थापक र साधारण सेयरको फरक फरक आइजीन हुँदा पछि कम्पनीको लकइन सकिएपछि आइजीन मर्जर नभए संस्थापक सेयर साधारण सरह बिक्री गर्न नपाउने अवस्था आउन सक्नेमा उनीहरुको मुख्य चिन्ता देखिन्छ।

आइजीनको बारेमा सेबोन अनिर्णित हुँदा कम्पनीका संस्थापक सेयरधनीको खातामा सूचीकरण तथा साधारण सेयरमा रुपान्तरणको प्रक्रिया रोकिएको छ।

आइपीओ निष्कासनपछि कम्पनीको संस्थापक सेयरमा ३ वर्षको लकइन लाग्छ। यो बीचमा संस्थापकहरुले सेयर किनबेच गर्न पाउँदैनन्। बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको हकमा ३ वर्षे लकइन अवधि सकिएपछि संस्थापक सेयर साधारणमा परिणत भएर बजार मूल्यमा कारोबार हुने गरेको छ।

एउटै आइजीनमा साधारण र संस्थापक सेयर अभौतिकीकरण गरिने र लकइन अवधिसम्म संस्थापक सेयरलाई लक गरेर राखिने गरेकामा इमर्जिङ नेपालको सेयरमा दिइएको फरक आइजीनलाई सीडीएससीले एकीकृत गर्न नमानेपछि दोहोरो आइजीनको विवाद सुरु भएको थियो।

पोहोर फागुनमा लकइन अवधि सकिएको इमर्जिङ नेपालको संस्थापक सेयर साधारणमा रुपान्तरण भए पनि कारोबारमा आएको छैन। दोहोरो आइजीन लागू गरे यही समस्या अरु कम्पनीमा देखिने संस्थापक सेयरधनीको त्रास छ।

सीडीएससीले भने सेबोनले निर्देशिका स्वीकृत नगर्दा व्यर्थमा विवाद भएको बताएको छ।

‘निर्देशिका सीडीएससीले स्वीकृतिका लागि सेबोनमा गत साउनमै पठाएको थियो। तत्कालीन अवस्थामा सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठबाट निकै सहयोग र सद्‍भाव प्राप्त भएको थियो। तर, उहाँले आजको दिनसम्म निर्देशिका स्वीकृत नगरेपछि हामी चकित भएका छौं। स्वीकृतिमा किन बिलम्ब गरिएको भन्ने जानकारी पनि दिइएको छैन। दोहोरो आइजीन लागू गर्न पाएका छैनौं,’ सीडीएससीकी सीइओ पन्दाकले भनिन्।