धनुषाकै सबैभन्दा ठूलो नगरपालिका गणेशमान चारनाथकी नगर उपप्रमुख तुलसाकुमारी पाण्डेलाई जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुअघि घरायसी धन्धा छिनिसक्नुपर्ने हुन्छ। मधेशको ४० डिग्रीसम्मको उखरमाउलो गर्मीमा खाना बनाइसकेर भान्छाबाट निस्कँदा उनी नुहाए जसरी नै भिज्थिन्। धुँवा खेपेर भान्छामा बस्दाबस्दै उनी बिरामी परिन्। यो नगरपालिकाका ११ वटै वडाका अधिकांश महिलाहरूमा देखिने आँखा, फोक्सो र पाठेघरको समस्या उनीहरूको यस्तै दैनिकीसँग जोडिएको छ।
जब एसियाली विकास बैंकले क्लिन कुकिङ अलायन्सको सहयोगमा यस क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढाउने कार्यक्रम ल्यायो पाण्डेले चासोका साथ यसलाई अघि बढाएको बताउँछिन्। हालसम्म गणेशमान चारनाथको १२ सय घरधुरीमा विद्युतीय चुलो पुगिसकेको छ। उनले आगामी २ वर्षभित्र नगरका कम्तीमा ५ हजार घरधुरीलाई विद्युतीय चुल्हो पुर्याउने लक्ष्य राखेकी छिन्।

‘महिला भएको नाताले यो परिवर्तन मैले नै चाहिरहेकी थिएँ किनकी चुलाचौकाको समस्या पुरुषले भन्दा बढी महिलाले नै भोग्छन्। त्यसैले म यो अभियानका लागि पहलकर्ता मात्र नभई प्रयोगकर्ताका हिसाबले अघि बढेकी हुँ। मधेशको गर्मीमा भान्छाका लागि ढुंगा खोज्दा देउता मिले झैं भएको छ विद्युतीय चुलो,’ उनले भनिन्।
उनले आफ्नो भान्छामा २ मुखे विद्युतीय चुलो राखेको बताइन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका नवीकरणीय उर्जा नीति पास गर्ने देशकै पहिलो नगरपालिका पनि हो।
उनले भनिन्, ‘अब चाँडै कानुन र कार्यविधि बनाएर अघि बढ्छौं। विद्युतीय चुलोका लागि हामीले पहिले ३ लिटरको कुकर वितरण पनि गरेका थियौं। पालिकाले विद्युतीय चुलो प्रयोग बढाउने कार्यक्रमका लागि म्याचिङ फण्डमा पैसा पनि राखेको छ। यस क्षेत्रका मानिसहरूको दैनिकी कसरी सहज बनाउन सकिन्छ त्यसमा लागिरहेका छौं।’
वर्षौंसम्म दाउरा र गुँइठा बालेर भान्छामा बस्नुपर्दा धनुषाका अधिकांश महिला स्वास्थ्य समस्या खेपिरहेका छन्। यस नगरपालिकामा अहिलेपनि ५९ प्रतिशतले दाउरा प्रयोग गर्ने तथा ११ प्रतिशतले गोबरबाट बनाइएको गुँइठा प्रयोग गरी खाना बनाउने तथ्यांक छ।

विद्युतीकरणले फेरिएको दैनिकी
भरतपुरकी रामदुलारी रामले जन्मैदेखि दाउरामामा मात्र खाना पकाइन्। ६२ वर्षकी रामदुलारीले ३ महिना भयो बिजुली चुलो चलाउन थालेको। बिजुली चुलोले उनलाई छुट्टै रमाइलो दिएको छ। यो गाउँका धेरै घरमा एकमुखे र दुईमुखे बिजुली चुलो प्रयोग हुन थालेको छ। उनका दुवै बुहारीले पनि आ-आफ्नै भान्छामा बिजुली चुलो राखेर खाना पकाउन थालेका छन्।
‘पहिले खाना बनाउन कति गाह्रो हुन्थ्यो। न बत्ती, न पंखा, न बिजुली चुलो। आगो अगाडि बस्दा हप्हप् हुन्थ्यो। अहिले त बिहानै दालभात र आलुको भुजिया पाकिसक्छ। बाख्राको खोले पनि बिजुली चुलामै पाक्छ,’ उनले खुशीसाथ सुनाइन्।
रामदुलारीका अनुसार उनको दैनिकी विगत ४ वर्षदेखि सजिलो हुँदै आएको हो। जब घरमा बत्ती आयो, पंखा आयो अनि अहिले बिजुली चुल्हो आयो। उनीहरूको जीवन सहज हुँदै गएको छ।
मधेशमा सानातिना व्यवसायमा गुजारा गर्ने परिवारले उद्यमको नयाँ सिकाइ र दक्षता पाएपछि आफ्नो कामलाई विस्तार गरिरहेका छन्। यसबाट व्यवसायको आकार र जीवनस्तर दुवैको स्तरोन्नति भइरहेको छ।



धनुषाकै वीरेन्द्रबजार वडा नम्बर ४ जंगली भुईंया टोलकी हमिदा खातुनलाई अचेल भान्छामा भ्याइनभ्याइ हुन्छ। उनकी १ महिनाकी सुत्केरी छोरी माइती आएकी छिन्। छोरीलाई बेला बेला पकाएर खुवाउन उनलाई चुलो फुकिराख्नै पर्दैन। उखरमाउलो गर्मी भएपनि बाहिरै पिढीमा राखिएको बिजुली चुलो बालेर उनी उतिबेलै पकाइहाल्छिन्। उनका श्रीमान मञ्जुर शा यस टोलमै विद्युतीय चुलो लिने पहिलो व्यक्ति हुन्।
पढ्नुस् : एडीबीको उद्यम परियोजनाले बदलिएको चाफी गाउँ, पर्यावरण जोगाउँदै पातबाट कमाउँदै महिला
यस्तै, रौतहट मोतिहारी ६ मोथियाईस्थित झन्झने टोलकी कल्याणीदेवी चौधरी आफ्नो गोठमा बिजुली आउनुअघि २० बस्तुका लागि २ क्विन्टल धान बोकेर परको मिलमा पुग्थिन्। बस्तुलाई खुवाउने पानीका लागि कलबाटै पानी खिचेर ल्याउँथिन्। बस्तुभाउलाई खुवाउने घाँस काट्न घण्टौ खर्चिने कल्याणीदेवीका लागि गाउँमा बिजुली आउनु उज्यालोको निम्ति मात्र थिएन उनका लागि त्यो शक्ति थियो उद्यमको।
चौधरीका श्रीमान दिल्लीमा काम गर्छन्। उनी भने गाउँमै बस्तुभाउ पालेर गुजारा गर्थिन्। उद्यम परियोजनासँग आवद्ध भएर विभिन्न तालिमहरू लिन थालेपछि कल्याणीदेवीको सोचनै फराकिलो भएको छ। उनले नश्ल सुधारको तालिम पाइन् हिसाब राख्न सिकिन्।
‘गोठ सुधार, आहार सुधार, बजार सुधारबारे तालिम लिएको छु। लेखपढ नजानेपनि अहिले म बोलेरै सबै हिसाब राख्छु,’ उनले सुनाइन्।
उनको सानो गोठ बढेर एक बिघाहा जमीनमा फैलिएको छ। जेठी छोरी काठमाडौंमा सिलाईबुनाइको काम गर्छिन्। ११ वर्षका छोरा साथमा छन्। उनले अहिले २ बिघाहा जमीन लिजमा लिएर तरकारी खेती समेत गर्छिन्।

विद्युतीकरणसँगै संचालन भैरहेको एसियाली विकास बैंकको इनर्जी फर लाइभ्लीहुड परियोजनाबाट उनले आफ्नो गोठमै धानबाट भुस छुट्याउने मेशिन राखिन्। मोटर राखेर पानी तानिन्। बस्तुभाउको लागि कुटी काट्ने मेशिन ल्याइन्। अनि अहिले त गोठमै फ्रिज राखेर दैनिक दही बनाएर बजारमा पुर्याउँछिन्। दैनिक डेढसय लिटरसम्म दूध बेचेकी कल्याणीलाई अहिले टाउकोमा भारी राखेर बेच्न हिँड्न पर्दैन उनी आफ्नै स्कुटीमा सरर दूध डेरीसम्म पुर्याउँछिन्। दही बेच्छिन्।
बिजुलीले उनको जीवन सजिलोमात्र बनाएको छैन। आत्मविश्वासपनि थपिदिएको छ। अहिले त उनी गाउँका सानातिना निर्माणकार्यमा पनि ठेकेदारको भूमिकामा हुन्छिन्।
‘भर्खरैमात्र मैले प्रदेशबाट आएको ७ सय मिटर नालाको काम पूरा गरें,’ आँगनमा राखिएको मिक्सर अघि उभिएर उनले गर्वका साथ सुनाइन्।
२०७१ सालमा मकवानपुरको नाम्टर गाविसबाट पटेर्वा सुगौली गाउँपालिकाको चाफी गाउँमा बसाई सरेर आएका कृष्ण थिङले माल्टा जान ७० हजार रुपैयाँ डुबाए। बिएसम्म पढेका कृष्ण हाल उद्यम परियोजनासँग जोडिएर गाउँमै बाख्रापालन गरिरहेका छन्।
‘अरुको सुख आफ्नो इख’
कलैयाको उत्तर जिटकैया वडा नम्बर १६ अवधापूरमा चलिरहेको जय माता दी कपास उद्योग पनि यस्तै उद्यमको उदाहरण हो जसले घरायसी काममा अल्झिरहेकी बबिताकुमारीलाई जिल्लामै चिनिनेगरीको सफलता दिलाएको छ।
श्रीमानको कपास कारखानामा सघाइरहेकी बबिताकुमारीले आफ्नै बलबुतामा खडा गरेको जय माता दी कपास उद्योगबाटै उनले २० जनालाई रोजगारी दिन सक्नेगरीको उद्यम गरिरहेकी छिन्। २०६५ सालदेखि उनका श्रीमानले चलाइरहेको सानो कपास कारखानामा काम गर्ने उनले विगत ५ वर्षदेखि ३ कठ्ठाको आफ्नै जग्गामा उद्योग फैलाएकी छिन्।
जिल्ला उद्योग वाणिज्य संघकी सदस्य समेत रहेकी बबिताकुमारीले उद्यम स्केलअप गर्न एडीबीको उद्यम परियोजनाकै सहयोग लिएकी थिइन्। पहिले वार्षिक २५ टन कपासको व्यापार गर्ने उनको उद्योगबाट हाल दैनिक १०००किलोभन्दा बढी कपास हेटौंडा पोखरा र काठमाडौं जान्छ।
मधेशका लघु उद्यमीले गरिरहेको पेशा व्यवसाय भलै साना वा मध्यम स्तरका हुन् यी व्यवसायको स्तरोन्नति हुँदै जाँदा उनीहरूमात्र नभई उनीहरूसँग जोडिएको परिवार, गाउँसमाज र त्यहाँको बजार चलायमान भैरहेको स्पष्ट देख्न सकिन्छ।

‘अरुको सुख आफ्नो इख’ हुने रहेछ। पैसा भएपछि आत्मनिर्भर भइयो। तेरो श्रीमती बाहिर निस्केर काम गर्यो भनेर कुरा काट्नेको कमी भएन। तर, मैले उनैलाई साथ दिइरहें,’ बबिताकुमारीका श्रीमान राजकुमार साहले बताए।
अहिले बबिताका दुई छोराहरू पनि उनैलाई उद्यममा सघाउँछन्।
यस्तै, बटेश्वर २ धुमासनका सरोजकुमार महतोले पनि बिजुली आएपछि इलेक्ट्रिक कल किने। ३५ वर्षका सरोजले एसएलसी दिएदेखि नै कटिङ र कल चलाउने काम सिकेका थिए। गाउँमा बिजुली आएपछि बिजुलीबाट चल्ने कल आयो। लुगा आइरन गर्न कोइला भर्ने परम्परागत आइरनको सट्टा बिजुलीकै आइरन आयो।
फेरि एडीबीबाट संचालित उद्यम परियोजना अन्तर्गत उनले शिप तालिम पाए। पुरानो किसिमको मेशिन छउन्जेल दिनभर लाग्ने काम अहिले बिजुलीबाट चल्ने मेशिन राखेपछि २ घण्टामै सकिन्छ। उनी आफूमात्र होइन ३ जना सहयोगी राखेर टेलर चलाइराखेका छन्। हालै उनले स्थानीय जनप्रिय माविका लागि तीनसय पिस ट्र्याक सुट सिलाउने अर्डर पाएको खुशीसाथ सुनाए।


‘मधेशमा बिजुली भनेको चिमको उज्यालो मात्र होइन’
नेपाल विद्युत् प्राधिकरणको विद्युतीकरण तथ्यांक २०८१ अनुसार मधेशमा शतप्रतिशत विद्युतीकरण भइसकेको छ। तर, पूर्वाधार तथा जीवनस्तरका सवालमा मधेश अझै पनि धेरै पछि छ।
राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जीवनस्तरको चौथो सर्वेक्षण २०७९/८० अनुसार नेपालमा कुल ५८ लाख मानिस गरिबीको रेखामुनि रहेकोमा मधेश प्रदेशमा करिब १४ लाख ६० हजार भन्दा बढी जनसंख्या गरिब छन्। कुल गरिबीको रेखामुनि रहेको जनसंख्यामा गरिबीको फैलावट सबैभन्दा बढी मधेश प्रदेशमा २५.०८ प्रतिशत रहेको देखिन्छ।
पढ्नुस : उज्यालोले फेरिएको मधेश : बटेश्वरका विपन्न बस्तीमा अब बल्छी फस्दैन, निर्धक्क बल्छ बिजुली
जीवनस्तर सर्वेक्षण प्रतिवेदनमा मधेश प्रदेशका लागि कायम गरिएको गरिबी रेखा ग्रामीण क्षेत्रमा ४७ हजार ३४४ रुपैयाँ हो भने मधेशकै सहरी क्षेत्रका लागि ५३ हजार ३३५ रुपैयाँ हो। उही रेखा काठमाडौं उपत्यकासँग तुलना गर्दा आधाभन्दा कम छ। काठमाडौं उपत्यकाको गरिबी रेखा १ लाख २९ हजार ९३४ रुपैयाँ कायम गरिएको छ। यस आधारमा पनि मधेशको जीवनस्तर कस्तो छ सहजै अनुमान लगाउन सकिन्छ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास जस्ता सबै पक्षमा कमजोर रहेकाले मधेशमा गरिबीको दर उच्च रहेको मधेश नीति तथा योजना आयोगकै प्रतिवेदनले देखाउँछ।
त्यसैले मधेशमा साना तथा लघु र मध्यम स्तरका व्यवसाय तथा उद्यमहरूको स्तरोन्नतिबाटै उनीहरूको जीवनस्तर उकास्न सकिने आँकलन गरी विद्युतीकरणसँगै उद्यम परियोजना संचालन गरिरहेको एसियाली विकास बैंककी परामर्शदाता तथा प्राविधिक सहायता विज्ञ लचना श्रेष्ठाचार्य बताउँछिन्।
मधेशमा सानातिना व्यवसायमा गुजारा गर्ने परिवारले उद्यमको नयाँ सिकाइ र दक्षता पाएपछि आफ्नो कामलाई विस्तार गरिरहेका छन्। यसबाट व्यवसायको आकार र जीवनस्तर दुवैको स्तरोन्नति भइरहेको छ।
मधेशका लघु उद्यमीले गरिरहेको पेशा व्यवसाय भलै साना वा मध्यम स्तरका हुन् यी व्यवसायको स्तरोन्नति हुँदै जाँदा उनीहरूमात्र नभई उनीहरूसँग जोडिएको परिवार, गाउँसमाज र त्यहाँको बजार चलायमान भैरहेको स्पष्ट देख्न सकिन्छ।
विद्युतीकरणका कारण मधेशमा सिंचाईको लागत सहज र सस्तो भएको छ। यसबाट कृषि क्षेत्रको उत्पादकत्व बढाउन मद्दत पुगिरहेको छ। त्यस्तै, महिलाहरूको कठिन दैनिकीबाट उनीहरूलाई राहत मात्रै दिएको छैन भान्छामा दाउरा र गुइँठाबाट निस्कने धुँवाको प्रदुषणबाट लाग्ने रोगबाट पनि बचाइरहेको छ।



कल खिचेर पानी तान्नुको दुख अहिले पानी तान्ने मोटरले बिर्साइदिएको छ। भारी बोकेर परको गाउँमा धान कुट्न जानेहरूलाई आँगनकै मिलले सुविस्ता दिएको छ। मधेशका पिछडिएका बस्तीहरूमा डिबियाको चलन हराइसक्यो उनीहरू चिम बालेर पढ्छन्, बिजुली चुलोमा खाना बनाउँछन् र पंखा चलाएर गर्मी छल्छन्। मधेशको जीवनलाई विद्युतीकरणले सहज बनाउँदै लगेको छ।
‘उर्जासम्बद्ध कार्यक्रमहरूबाट मधेशका पिछडिएका बस्ती, समुदाय, महिला तथा बालबालिकाको जीवनस्तरमा सुधार आउँदा हामी खुशी छौं। विद्युतीकरणले मधेशको आर्थिक सामाजिक विकासमा मद्दत पुर्याएको छ,’ एडीबीकी देशीय निर्देशक आर्नो कोश्वाले भने।
विद्युतको पहुँच बढाएर दुर्गम तथा पिछडिएका क्षेत्रमा एडीबीले रोजगारी तथा विभिन्न अवसरहरू सिर्जना गरी नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता पनि उनले जनाए।

काठमाडौं, पोखरा वा कुनै सम्पन्न सहरभन्दा फरक छ मधेशको जीवन। सानो सुविधाले पनि धेरै फरक पार्छ यहाँका मानिसलाई। उर्जासँग जोडिएपछि हामीले उनीहरूको दिनचर्यामात्र होइन सिंगो परिवार र समाज नै प्रगतितर्फ लम्किइरहेको देखिरहेका छौं
नेपालको उर्जा क्षेत्रमा एसियाली विकास बैंकले विगत ५० वर्षदेखि सहकार्य गर्दै आएको छ। मधेश प्रदेशको ग्रामीण विद्युतीकरणअन्तर्गत एसियाली विकास बैंक, नर्वे सरकार र नेपाल सरकार बीचको सहकार्यले मधेश प्रदेशका ८ जिल्लाहरूमा देखिने गरीको परिवर्तन आएको नेपाल विद्युत् प्राधिकरण बर्दिबास सबस्टेसनका प्रमुख अमित भगत बताउँछन्।
हालसालै निर्माण सम्पन्न भएको बर्दिबास सबस्टेसन गौशाला वितरण केन्द्र महोत्तरीअन्तर्गत संचालनमा छ। ५ लटमा छुट्याएर निर्माण भइरहेका परियोजना अन्तर्गत अरु जिल्लाहरूमा पनि सबस्टेशनहरू निर्माण भइरहेका छन्। यी सबस्टेशनहरूको निर्माणले मधेशका जिल्लामा राम्रो भोल्टेजसहितको विद्युत् प्रवाहलाई सुनिश्चित गरेको बर्दिबास सबस्टेसन प्रमुख भगतले जानकारी दिए।
‘बर्दिबास सबस्टेसनकै कुरा गरौं। संचालनमा आएपछि यसले लोड सहज गर्ने मात्र नभई ओभरलोडले हुने ट्रिपिङ घटाएको छ। यस क्षेत्रमा संचालित परियोजनाले विद्युत् आपूर्ति नपुगेका विपन्न वर्गसम्म वितरण सुनिश्चित गर्ने निःशुल्क मिटर बाँड्ने लगायतका काम पनि गरिरहेको छ,’ उनले भने।

मधेशका जिल्लाहरूमा क्लिन कुकिङ अलायन्समार्फत विद्युतीय चुलो प्रवर्धन गरिरहेकी अलायन्सकी नेपाल प्रतिनिधि करुणा बज्राचार्य मधेशमा बिजुली प्रयोगले ल्याएको परिवर्तनलाई दीगो राख्नु अबको चुनौती हो भन्छिन्।
‘काठमाडौं, पोखरा वा कुनै सम्पन्न सहरभन्दा फरक छ मधेशको जीवन। सानो सुविधाले पनि धेरै फरक पार्छ यहाँका मानिसलाई। उर्जासँग जोडिएपछि हामीले उनीहरूको दिनचर्यामात्र होइन सिंगो परिवार र समाज नै प्रगतितर्फ लम्किइरहेको देखिरहेका छौं,’ उनी भन्छिन्, ‘मधेशमा बिजुली भनेको चिमको उज्यालो मात्र होइन उनीहरूको जीवन उकास्ने उर्जा पनि हो। त्यसैलाई शक्ति बनाएर उनीहरू अघि बढिरहेका छन्।’











