उज्यालोले फेरिएको मधेश : बटेश्वरका विपन्न बस्तीमा अब बल्छी फस्दैन, निर्धक्क बल्छ बिजुली



भावना शर्मा
२०८२ भदौ ९ गते १८:१७ | Aug 25, 2025
उज्यालोले फेरिएको मधेश : बटेश्वरका विपन्न बस्तीमा अब बल्छी फस्दैन, निर्धक्क बल्छ बिजुली


धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरको मुसहर बस्तीकी पवित्री सदा केही अघिसम्म पनि उनकै शब्दमा ‘कालो बत्ती’मा रात बिताउँथिन्। कालो बत्ती अर्थात डिबिया। उनले उज्यालो पाउन कि मट्टितेल किन्नुपर्थ्यो कि मैनबत्ती। जनबन गरेर जीविका चलाउने पवित्रीको हातमा पैसा पर्दामात्र घर उज्यालो हुन्थ्यो।

Tata
GBIME

जब उनीहरुको घरको धुरी हुँदै बिजुलीको तार कुद्यो अनि उनीहरुले सिके ‘बल्छी फसाउन’। साँझपरेपछि त्यही तारमा लुकीलुकी अर्को तार अल्झाएर ‘बल्छी फसाउँदै’ उनीहरुले घरभित्र उज्यालो छिराए। तर कहिलेकाहीँ ‘झट्का’ लाग्ने! गाउँमा धेरैलाई करेन्ट लागिसकेकोले पवित्री डराउँथिन्।

लुकीचोरी बिजुली बाल्ने पवित्रीको गाउँ अहिले बदलिएको छ। अब उनीहरु तारमा बल्छी फसाउँदैनन् अर्थात बिजुली चोर्दैनन्। न त डिबिया नै बाल्नुपरेको छ। गर्वसाथ उनले माटोको झुपडीमा पानीले नभिज्ने गरी भित्तामा अड्याइएको विद्युत प्राधिकरणको मिटर देखाइन्।

‘अहिले म उज्यालोमा खाना पकाउँछु। बत्ती पाएपछि साँपकिराको डर पनि लाग्दैन। गर्मी धेर छ। अब त पंखा पनि किनेर राख्ने सोचेको छु।’- उनले भनिन्।

‘अहिले म उज्यालोमा खाना पकाउँछु। बत्ती पाएपछि साँपकिराको डर पनि लाग्दैन। गर्मी धेर छ। अब त पंखा पनि किनेर राख्ने सोचेको छु।’

बिजुली उपयोग गर्न पाउँदा खुसी रहेकी पवित्री सदा ।

पवित्रीकै छिमेकी पानो सदाका श्रीमान उमिया सदा मद्रासमा नोकरी गर्छन्। छानामाथि घुसारेको वाइफाइको राउटर हेर्दै ३० वर्षकी पानो मुस्कुराउँछिन्। ‘यसैमा बतियाउँछु श्रीमानसँग’- काखे छोरा चेपेर उभिएकी पानोको हातमा सानो मोबाइल पनि छ। उनको घरमा भित्र बत्ती बलिरहेको छ, पंखा पनि चलिरहेको छ। जेठा छोरा नजिकैको स्कुलमा ५ कक्षामा पढ्छन्। ‘बिजुली बालेर राती छोरा पनि पढ्छ।’- अहिले छोरालाई उज्यालोमै होमवर्क सक्न गाली नगर्ने उनले सुनाइन्। ‘अब त लइन छ नि!’ खुशी हुँदै उनले बिजुलीले उनलाई दिएका खुशीहरु गनिन्। पानो कम बोल्छिन् तर घरमा बत्ती बलेपछि बदलिएको जीवनको लय अनुहारबाटै झल्किन्छ।  

बटेश्वरकै वडा नम्बर ४ पुजारी टोलकी समुन्द्रीदेवी मल्लिकलाई त हुकिङ गरेर बिजुली बाल्दा २ पटक करेन्ट लाग्यो। उनका छोरालाई पनि करेन्ट लाग्यो। त्यसपछि उनीहरु चोरेर बिजुली बाल्न पनि डराउन थाले। बाँसका टोकरी बुनेर हटियामा लगेर बेच्ने समुन्द्रीको घर नै पुजारी टोलमा मिटर राख्ने पहिलो घर बन्यो। उनको घरमा अहिले बत्ती मात्र बल्दैन। तीनवटा नयाँ पंखा र एउटा टेलिभिजन पनि चल्छ। ४५ वर्षकी समुन्द्री फुर्सदको समय टेलिभिजनमा हिन्दी सिरियल हेर्छिन्। गाउँका अरु घरमा पनि मिटर जडान गर्न समुन्द्रीले नै अगुवाइ गरिन्।

जसको घरमा बिजुलीको मिटर पुगिसकेको छैन उनीहरुले पनि छिमेकीसँग साझेदारी गरेर बिजुली बाल्छन्। मिलेर मिटरको पैसा तिर्छन्। मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्ने परिवारले त बिजुलीको पैसा पनि तिर्नु पर्दैन।

बटेश्वरमा विपन्नका बस्तीमध्येको एक घर।

नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा संचालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक विद्युत प्रसारण तथा वितरण सुदृढीकरण आयोजना पीटीडीएसएसपी मिसन अन्तर्गत संचालन भइरहेको ग्रामीण विद्युतीकरण आयोजना अन्तर्गत बटेश्वर गाउँपालिकाका डोम र मुसहर बस्तीहरुमा बिजुलीको सहज उपलब्धता भएको हो। यसका लागि विपन्न वर्ग पहिचान गर्दै स्थानीय सरकारसँगको समन्वयमा विद्युत प्राधिकरणले बिजुलीको मिटर निःशुल्क उपलब्ध गराइरहेको छ।

अहिलेसम्म ११९ विपन्न घरधुरीलाई निःशुल्क मिटर दिइसकिएको लास्ट माइल इलेक्ट्रिफिकेसन परियोजनाकी संयोजक मीना बस्नेतले जानकारी दिइन्। उनका अनुसार जसको घरमा बिजुलीको मिटर पुगिसकेको छैन उनीहरुले पनि छिमेकीसँग साझेदारी गरेर बिजुली बाल्छन्। मिलेर मिटरको पैसा तिर्छन्। मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्ने परिवारले त बिजुलीको पैसा पनि तिर्नु पर्दैन। त्यसैले यस बस्तीमा रहेका पंखा समेत नभएका अति नै विपन्न घरहरुले साँझमा बिजुलीमात्र बाल्दा २० युनिट पनि उपभोग हुँदैन। त्यसैले अधिकांश घरहरुले बत्तीको पैसा नै तिर्नु परेको छैन।

चोरीको बत्तीले केहीबेर गाउँ उज्यालो त हुन्थ्यो तर सधैं करेन्टको त्रास अनि प्राधिकरणले थाहा पाए कारवाही हुने डर। अब उनीहरुको दैनिकी सुरक्षित बिजुलीका कारण उज्यालो भएको छ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेका डोम र मुसहर बस्तीका मानिसहरु धेरै समय अन्धकारमै बाँचिरहेका थिए। शान्तिपुरको मुसहर बस्ती र पुजारी टोलको डोम बस्तीमा बिजुली पुगेको धेरै भएकै छैन। पुग्न त अहिलेसम्म त्यहाँ त्यो चेत पुगेको छैन जसले मान्छे मान्छे बीच कथित ‘अछुत’को खाडल पुरिदेओस्। उनीहरु खानेपानीका लागि अहिले पनि ५०० मिटर परको धारामा पुगेर लाम लाग्नुपर्छ। नजिकै इनार वा धारा रहेका छिमेकका घरहरुले उनीहरुलाई आफ्नो धारामा पानी भर्न दिँदैनन्। धेरैको घरमा चर्पीसमेत छैन। अहिले पनि उनीहरु मैदान जाने गर्छन्। लुगा धुने र भाँडा माझ्नका लागि नजिकैको माछापोखरीले राहत दिएको छ। लुकीचोरी बिजुली बाल्ने अवस्था भने यी गाउँहरुमा अब रोकिएको छ।

चोरीको बत्तीले केहीबेर गाउँ उज्यालो त हुन्थ्यो तर सधैं करेन्टको त्रास, अनि प्राधिकरणले थाहा पाए कारवाही हुने डर। अब उनीहरुको दैनिकी सुरक्षित बिजुलीका कारण उज्यालो भएको छ। यो गाउँका अधिकांश घरमा बिजुलीको मिटर जडान गरेका नरेशकुमार महतो पहिले गाउँमा हुकिङको समस्या सधैंलाई बन्द भएकोमा खुशी छन्।

परियोजना संयोजक बस्नेत भन्छिन्- ‘यी बस्तीहरुमा यति विपन्न मानिस छन् जोसँग निःशुल्क मिटर पाउनका लागि भर्नुपर्ने फारामको लागि पैसा तिर्न १ हजार रुपैयाँ पनि छैन। मिटर त दियो घरसम्म लैजाने तार र वाइरिङको लागि समेत पैसा जोहो गर्न सक्दैनन्। एक वर्षको अथक प्रयासपछि हामीले यो अभियानलाई सफल बनाउन सक्यौं।’

मुलुकका विद्युत चुहावट उच्च रहेका प्रदेशमा मधेश सबैभन्दा अगाडि छ। मधेशमा प्राधिकरणका २३ वटा वितरण केन्द्र छन्। तथ्यांकहरुका अनुसार बारा, पर्सा, सर्लाही, सिरहा, धनुषा लगायतका जिल्लामा चुहावट अधिक रहिआएको हो। निःशुल्क मिटर वितरण, हुकिङ निरुत्साहनका कार्यक्रमले बिस्तारै चुहावटको दर घटिरहेको विद्युत प्राधिकरणको मधेश प्रदेश प्रमुख मनोजकुमार यादवले बताए। ‘चुहावट बिस्तारै घटेको छ भन्ने हाम्रो तथ्यांकले देखाउँछ,’ उनी भन्छन्, ‘विभिन्न कार्यक्रमका कारण समग्रमा विद्युत चुहावट क्रमिक घटेको छ।’

उनको भनाइलाई प्राधिकरणको तथ्यांकले पनि पुष्टि गर्छ। धनुषाधाम वितरण केन्द्र अन्तर्गत अघिल्लो आवको चुहावट ३२.८३ प्रतिशत रहेकोमा गत आव १९.१९ प्रतिशतमा आएको छ। जनकपुर वितरण केन्द्रको २४.०४ बाट २०.०२ र यदुकुहाको २५.२५ बाट घटेर २१.९३ प्रतिशतमा आएको छ।

गाउँमा बिजुलीले उज्यालो मात्र दिएको छैन। विपन्न वर्गका महिलाहरुलाई बिजुलीले सीपमूलक कामतर्फ पनि अघि बढाएको छ।

एडीबी अन्तर्गत ग्रामीण प्रविधि केन्द्रमा रही मीनाले विद्युतीकरणका लागि मधेश प्रदेशका महोत्तरी, धनुषा, सप्तरी र सिरहा चारवटा जिल्ला हेर्छिन्। दैनिक विपन्न वर्गको घर दैलोमा पुग्ने मीना विपन्नलाई स्थानीय सरकार र विद्युत प्राधिकरणसँग समन्वय गराएर उज्यालो बाँड्न सकेकोमा हर्षित छिन्। यस गाउँमा बिजुलीले उज्यालो मात्र दिएको छैन। विपन्न वर्गका महिलाहरुलाई बिजुलीले सीपमूलक कामतर्फ पनि अघि बढाएको छ।

परियोजनाले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर हुने किसिमका सीपमूलक तालिममा पनि सहयोग गर्दै आएको छ। अधिकांश पुरुषहरु काम गर्न भारत जाने बस्तीका महिलाहरु ढक्की बुन्ने, तरकारी खेती गर्ने, पशुपालनमा लागेका छन्। यसले उनीहरुलाई आत्मनिर्भरतातर्फको यात्रामा पनि अघि बढाएको मीनाले जानकारी दिइन्।  

बटेश्वर गाउँपालिकामा करिब ५०० घरधुरी कथित दलित, सिमान्तकृत तथा विपन्न परिवारका रुपमा पहिचान भएका छन्। यसमध्ये अब एक सयभन्दा कम घरधुरीहरुमा मात्र मिटर बाँड्न बाँकी छ।

बटेश्वर गाउँपालिकामा करिब ५०० घरधुरी कथित दलित, सिमान्तकृत तथा विपन्न परिवारका रुपमा पहिचान भएका छन्। यसमध्ये अब एक सयभन्दा कम घरधुरीहरुमा मात्र मिटर बाँड्न बाँकी रहेको परियोजना संयोजक मीना बताउँछिन्। ‘सबै तथ्यांक हामीले विद्युत प्राधिकरणमा बुझाइसकेका छौं। चाँडै सबै विपन्न घरधुरीमा मिटर जडान हुनेछ।’- उनले भनिन्।

नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत वितरण लाइन तथा सबस्टेसन विभागकी प्रविधि निर्देशक चन्धा न्यौपाने विपन्न बस्तीहरुमा मानवस्तर उकास्नकै लागि विद्युत विस्तार भइरहेको बताउँछिन्।

उनी भन्छिन्- ‘विपन्नहरुको मानवस्तर उकास्ने दायित्व प्राधिकरणको पनि हो। नेपाल सरकार, नर्वे सरकार र एसियाली विकास बैंकसँगको सहकार्यमा पिछडिएका गाउँहरुमा बिजुली पुगिरहेको छ। अहिले विपन्न वर्गले लालपुर्जा नभए पनि मिटर पाउने प्रावधान छ। २० युनिट खपत गर्दा निःशुल्क हो। हामी बिजुली बेच्ने मात्र त होइनौँ नि, हामी पनि मानव हौं मानवस्तर उकास्नका लागि हामी सधैं साथसाथै छौं।’