एडीबीको उद्यम परियोजनाले बदलिएको चाफी गाउँ, पर्यावरण जोगाउँदै पातबाट कमाउँदै महिला



भावना शर्मा
२०८२ भदौ १५ गते ०६:३५ | Aug 31, 2025
एडीबीको उद्यम परियोजनाले बदलिएको चाफी गाउँ, पर्यावरण जोगाउँदै पातबाट कमाउँदै महिला

पटेर्वा सुगौली। भदौरे उखरमाउलो गर्मी मध्य दिनमा ‘श्री पवित्रा दुना टपरी कृषि समूह’मा जोडिएका १६ जना महिलाहरू समूहकै दुई कोठे घरमा भेला भएका छन्। हरेक दिन घरायसी धन्दा सकिएपछि उनीहरू यसैगरी भेला हुन्छन्। कोही वनबाट सालको पात टिपेर ल्याउँछन्, सुकाउँछन्। कोही बाँस चिरेर सिन्का बनाउँछन् र कोही पातलाई गाँसेर गोलो टपरीको आकार दिन्छन्।  

Tata
GBIME
Nepal Life

यतिबेला म पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने चाफी गाउँमा छु। यहाँका महिलाहरूले सुरु गरेको उद्यमको कथा लेख्दैछु। यस गाउँका महिलाले थालेको उद्यम मधेशका ८ जिल्लाका करिब ४०० उद्यमीको प्रतिनिधि कथा हो जसले उनीहरूको जीवनलाई सकारात्मक परिवर्तन र दीगो आयआर्जनसँग जोडिदिएको छ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर २ मा पर्ने चाफी गाउँ, वन क्षेत्रमा पर्छ। पुलामी, आले, सुयाल, मगर जातिको बाहुल्यता रहेको यो बस्तीमा करिब ७० घर छन्। ती अधिकांश घरहरू बाहिर सिन्काले उनेर सालका पातहरू लहरै सुकाइएका देखिन्छन्। वनबाट टिपेर ल्याएका सालका यीनै पातहरूले यहाँका महिलाहरूको उद्यमको कथा भन्छ।

यो वन उनीहरूको दैनिकीसँग जोडिएको छ। वनबाट उनीहरू गाइबस्तु र बाख्राका लागि स्याउलामात्र होइन उद्यमी बन्ने कच्चा पदार्थ अर्थात सालको पात समेत ल्याउँछन्।

उनीहरू बिहान सातै बजे जंगल पस्छन्। ढिलोमा ११ बजे फर्किन्छन्। एक्लै जान बाघभालुको डर छ। त्यसैले उनीहरू पात टिप्न पनि समूहमै जान्छन्। एक पटक वन पस्दा ४ देखि ६ मुठासम्म पात टिप्ने समूहकी एक सदस्य सिर्जना प्रजाले बताइन्।

‘मान्छे पनि खायो बाघले त्यो थर्कटी गाउँमा। हाम्रोतिर पनि जंगल घारी छ। एक्लै वन पस्न डर छ त्यसैले समूहमै हिँड्ने गरेका छौं,’ उनले वनको त्रासबारे बताइन्। पोहोरमात्रै सिर्जनाका ३ वटा खसी पालैपालो वनमा हराए। चर्न वन गएका खसी उतै बाघले लतारेर लगेको सिर्जनाले सुनाइन्।  

सिर्जनाको खेतबारी छैन। उनका श्रीमान मजदुरी गर्छन्। उनी पात टिपेर ल्याएर घाममा ओर्काइफर्काइ सुकाएर पतरी बनाएर बेच्छिन्। घरधन्धा छिनेर उनी वन पस्छिन्। पातै टिपेर महिनामा ४ हजारजति कमाइ हुन थालेपछि उनमा बेग्लै उत्साह थपिएको छ।

भन्छिन्, ‘हामी बेरोजगार थियौं। पैसो आउने कुनै बाटो थिएन। मजदुरीबाट पैसा हात पर्ने हो। तर वनवाट पातको मुठो ल्याएर पतरी गाँस्दा दुईचार पैसा आयो। नुनतेल टर्‍यो।’

परियोजनाले समाजमा बोल्न पनि नसक्ने महिलाहरू अब निर्धक्क पातका टपरी लिएर स्टल चलाउन थाले। बजार खोज्न सक्ने भए।

सिर्जनाको भन्दा फरक छैन गाउँकै नानीमाया थिङ ५८ वर्ष, इन्दु आले ४१ वर्ष र पोहोरै ‘भत्ता बुझिसकेकी’ फुलकुमारी आलेको कथा पनि। उनीहरू मध्ये अलिक टाठीबाठी छिन् ६० वर्षकी शिवभक्ति मगर जो समूहकी अध्यक्ष पनि हुन्।

पातको व्यापार गर्ने ‘आइडिया’मा शिवभक्तिले नै नेतृत्व लिइन्। गाउँका दिदीबहिनी भेला पारिन् अनि वनबाट पात ल्याउँदै दुना टपरी बनाएर बजारमा बेच्न पठाइन्। दुना टपरी गाँस्ने काम त शिवभक्तिले ६० सालबाटै गरेकी थिइन् तर त्यो घरदेखि छेवैको बजारसम्म मात्र सीमित थियो। त्यसबेला एउटा पतरी जम्मा २० पैसामा बेचेको सम्झन्छिन् उनी।

समय फेरियो त्यही पतरीको अहिले ३०, ४०, ६०, ७० पैसा हुँदै अहिले २ रुपैयाँको पुग्यो। मेशिनमा राखेर आधुनिक तरिकाले बनाइएको १२ डायमिटरको टपरी त ४ रुपैयाँमा अनि १४ डायमिटरको टपरी ५ रुपैयाँमा बेचिन्छ।

‘पात प्राकृतिक हो। यो चोखो भनेर पूजाआजमा पनि चल्छ। भोजभतेरमा जान्छ। शुद्ध भन्छन् पातलाई। फाइदा त कति छ कति। प्रयोग गरिसकेको टपरी सही ठाउँमा फाल्दा मल पनि हुन्छ। यसले वातावरण विनास गर्ने प्लास्टिकको प्रयोगलाई पनि घटाउँछ,’ शिवभक्तिले फाइदा गन्दै औंला भाँचिन्।

गाउँमा महिलाहरूको यो चहलपहल सुरु भएको २ वर्षमात्र भयो। घरायसी कामका रुपमा भइरहेको पात गाँस्ने कामलाई एसियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा संचालित परियोजनाले उद्यमका रुपमा लैजान प्रेरित गरेपछि यो समूह उद्यमीहरूको समूह बनेको हो।

‘हामीलाई उद्यममा जोडिदिएको त सन्तोष सरले हो। हामी हिसाब जान्दैनम्। खातापाता राख्न पनि उहाँले नै सिकाइदिनुभएको हो,’ उनले भनिन्।

हरहिसाबसँगको आधुनिक तरिकाभन्दा पर रहेका शिवभक्तिहरू २ वर्षको यो अवधिमा लेजर राखेर कारोबार गर्ने भइसकेका छन्।

सन्तोष शाह शंकर पर्सा जिल्लाका उद्यम विकास अधिकृत हुन्। यस जिल्लामा उद्यम विकासको लागि परियोजनाबाट खटिएका सन्तोष शाह अब यो गाउँकै भइसकेका छन्। जो कसैलाई उद्यममा समस्या आयो सन्तोषलाई फोन गइहाल्छ।

उनी भन्छन्,’पर्सामा पहिले विभिन्न समूहहरू त थिए। तर उद्यम नै गर्न भनेर समूह थिएन। व्यावसायिक समूह बनाउन मैले नै पहल गरें। वडा नम्बर २ मा मात्र मैले ५ वटा उद्यमी समूह बनाएर ५३ जना उद्यमीहरूलाई सहायता गरिरहेको छु।’ 

यो गाउँमा पहिलोपटक आउँदा सन्तोषले पात गाँसिरहेका दिदीबहिनीहरू देखे। उनीहरू निकै सस्तोमा पात बेचिरहेका थिए। कच्चा पदार्थ नजिकै वनकै पात थियो। यसलाई व्यावसायिक रुपमा अघि बढाउन सकिन्छ भनेर मैले उहाँहरूलाई बाटो देखाएँ।

उनले २ वर्ष पहिलेको अवस्था सम्झिए,’पात टिप्न वन कार्यालयमा गएर कुरा गर्‍यौं। यस क्षेत्रको विद्युतको व्यवस्थापन विद्युत उपभोक्ता समिति गादीले गर्छ। उहाँहरूले यस क्षेत्रमा बिजुलीको राम्रो प्रवन्ध गर्ने हुनुभयो। मेयर र वनका अधिकारीहरूसँग पनि छलफल गरेर यहाँका दिदीबहिनीलाई व्यावसायिक रुपमा उद्यमी बनाउनतिर लाग्यौं।  बिजुली र पात भएपछि पतरी बेच्नुभन्दा आफै टपरी उत्पादन गरी बजार लैजान थालियो।’

पातबाट टपरी गाँस्ने मेशिन उनीहरूले ३ लाख हालेर किने। यसमा पालिकाले डेढ लाख अनुदान दियो। समूहले गरेको बचत र परियोजनाले थपिदिएको पैसाबाट मेशिन आयो। यसरी उद्यमकै रुपमा संचालन भइसकेपछि उनीहरू विभिन्न आकारका टपरी बनाउँदै जिल्लाका प्रदर्शनी र मेलाहरूमा भाग लिन जान थाले।

परियोजनाले उनीहरूलाई जिल्लाका व्यापारीहरूसँग जोडिदियो। बोल्न पनि नसक्ने महिलाहरू अब निर्धक्क पातका टपरी लिएर स्टल चलाउन थाले। बजार खोज्न सक्ने भए। पातको टपरीले बजार चर्चा पाउन थालेपछि स्थानीयले पनि भोज भतेरमा पातकै थाल प्रयोग गर्न थालेका छन्। 

शिवभक्ति भन्छिन्, ‘दुई वर्ष भयो मेशिन आएको। मेशिन आएदेखि हामीले पात फाल्न परेको छैन। नत्र बर्खामा माग कम हुँदा पात कुहिएर छियाछिया हुन्थ्यो। फाल्नै पर्थ्यो। अब त टपरी बनाएर राखिन्छ। आफूले आराम गर्ने समयको हामीले सदुपयोग गरेका थियौं। तर जब हामीलाई यहीँ आएर सिकाउनुभयो हाम्रो समूहलाई अब आफैं व्यवसाय गर्न सक्छौं भन्ने भयो।’  

उनका अनुसार बर्खामा व्यापार अलि ‘ब्याक’ हुन्छ। चाडवाड आएपछि सिजन सुरु हुन्छ। एकपटकमा कम्तीमा ४ हजारसम्मको अर्डर आउँछ।

‘मालसामान भाको र नभाको फरक पर्दो रहेछ। अहिले त दोब्बर आम्दानी हुन्छ। डिमान्ड आउँदा हामी रातमा नसुती पनि पात बनाउँछौं। दिनमा व्यस्त भए बेलुकी बस्ने बिहान व्यस्त भए दिनमा गर्ने गरी हामीले पालो मिलाएका छौं। बेला बेला बजार लगिरहन्छु। प्रचारप्रसार गर्न सक्नुपर्ने रहेछ,’ गाउँघरमै साँघुरिएर बाँचेका शिवभक्तिले समूहका दिदिबहिनीसँग प्रदर्शनीमा भाग लिन ३ पटक वीरगंज र एकपटक काठमाडौं पुगेको दंग परेर सुनाइन्।  

सहायताबाट शिवभक्तिले अगुवाई गरिरहेको ‘पवित्रा दुना टपरी’जस्ता दुर्गम गाउँका समूहहरू उद्यमशीलतातर्फको यात्रा सफलताउन्मुख देखिन्छ

नेपाल सरकार, नर्वे सरकार र एसियाली विकास बैंकको संयुक्त प्रयासमा मधेशका ८ जिल्लाहरूमा ३ वर्षदेखि पाइलट परियोजनाका रुपमा उद्यम विकास, सिमान्तकृत बस्तीहरूमा बिजुली, सिप सिकाइ तथा दाउराको प्रयोग न्यून गरी विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरिँदै आएको छ। विद्युतीकरणसँगसँगै मानवस्तर तथा दैनिकीमा स्तरोन्नतिका लागि यी परियोजनाले मधेशका धेरै पालिकाका मानिसलाई सघाइरहेको छ।

नेपाल सरकार, नर्वे सरकार र एसियाली विकास बैंकको साझेदारीमा संचालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक विद्युत प्रसारण तथा वितरण सुदृढीकरण आयोजना पिटिडिएसएसपी मिसन अन्तर्गतसंचालन भइरहेको ग्रामीण विद्युतीकरण आयोजना अन्तर्गत इनर्जी फर लाइभलीहुड परियोजनासँग जोडिएको छ पवित्रा दुना टपरी कृषि समूह पनि।

एसियाली विकास बैंककी परामर्शदाता तथा लचना श्रेष्ठाचार्य यस परियोजनाले हालसम्म मधेशका ८ जिल्लामा ४०० जनालाई उद्यमी बनाउन सकेकोमा खुशी व्यक्त गर्छिन्। लचना आफैं पनि परियजनाको प्रगति हेर्न मधेशका विभिन्न जिल्लाहरूमा पुगिन् र नजिकबाट परियोजनाको प्रगति हेरिन्।

‘मानव विकास तथा विकासका सबै सूचक हेर्दा मधेश पछाडि छ। मधेशमा हामीले विद्युतको वितरण प्रणालीका पूर्वाधार विकास गरिरहँदा त्यस क्षेत्रमा मानवस्तर उकास्ने काम किन नगर्ने भन्ने गहन छलफलपछि उद्यमशिलता विकास र सीपमूलक तालिमहरू पनि दिनेमा पुग्यौं। यस परियोजना अन्तर्गत हालसम्म ४ सयभन्दा बढीले आफ्नै उद्यम खोलिसक्नुभएको छ भने सीपमूलक तालिम दिएका करिब २ सय जनाले रोजगारी पाइसक्नुभएको छ,’ उनले जानकारी दिइन्।

उनका अनुसार उद्यमी बनेका ४०० मध्ये ५२ प्रतिशत महिला छन्। त्यसमा पनि मधेशी, दलित र मुस्लिम समूदायको संख्या ७२ प्रतिशत रहेको छ। मधेश प्रदेशका ८ पालिकाका लागि प्राविधिक सहायता अन्तर्गत करिव ३० लाख रुपैयाँ छुट्याएर काम थालिएको उनले बताइन्।

उनी सुरुवातदेखि अहिलेसम्मको प्रगति हेर्दा महिलाहरूमा धेरै परिवर्तन आएको बताउँछिन्।  

‘पहिले खुलेर बोल्न पनि नसक्नेहरू अहिले मज्जाले कम्युनिकेट गर्नुहुन्छ। महिलाहरू आफ्नो कामको बारेमा निर्णय लिन सक्ने हुनुभएको छ। सबैभन्दा ठूलो कुरा उहाँहरूको आय आर्जनको क्षमता राम्रो भएको छ। हाम्रो प्रमुख चासो भनेको यसलाई दीगो बनाउनु हो। हामीले स्थानीय सरकार र स्थानीय साझेदारहरूसँग काम गर्नुको उद्देश्य पनि उहाँहरूलाई लामो समयसम्म स्थानीय तहबाटै सहयोग पुगिरहोस् र उद्यमले निरन्तरता पाओस् भन्ने नै हो,’ उनले भनिन्।

एसियाली विकास बैंकले नेपालले ऊर्जा क्षेत्रमा सहकार्य गरेको ५० वर्ष पुगिसकेको छ। यो अवधिमा जम्मा दुई प्रतिशत रहेको विद्युतीकरण हाल करिब शतप्रतिशत पुगिसकेको तथ्यांकले देखाउँछ। नेपालमा उर्जा रुपान्तरणको प्रमुख साझेदारको रुपमा रहँदै आएको एसियाली विकास बैंकले पूर्वाधार विकासका क्षेत्रमा मात्र नभई विविध परियोजनाअन्तर्गत महिला तथा सीमान्तकृत समूदायको जीवनस्तर उकास्नका लागि पनि सहयोग गर्दै आएको छ।

एसियाली विकास बैंकका नेपाल निर्देशक आर्नो कोश्वा यस परियोजनामार्फत मधेशका जिल्लाहरूमा विशेषगरी महिलालाई उद्यममार्फत आत्मनिर्भरताको यात्रामा अघि बढाउन सकेकोमा प्रशन्न सुनिन्छन्।

‘एडिबीले विद्युतीकरणमार्फत उर्जामा पहुँच दिनेमात्र नभई सिंगो समुदायको जीवनस्तरमा सुधार गर्नुका साथै महिला तथा सिमान्तकृत समुदायलाई समावशी अवसर दिलाउन प्रतिबद्ध छ। हामी ती समुदायहरूमा अझ बढी पहुँच बढाउने, स्थानीय उद्यमलाई सहायता गर्ने र लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै नेपालको आर्थिक वृद्धिमा सघाउन चाहन्छौं,’ उनले भने।  

चार वर्षदेखि बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाको इन्टरप्राइज डेभलपमेन्ट एण्ड लाइभलीहुड कोअर्डिनेटरका रुपमा काम गरिरहेका लिखाराम चौधरीको अनुभवमा मधेश प्रदेशमा महिलाहरूलाई घरबाट निस्कनै गाह्रो छ, उद्यमको  सोच त धेरै पछिको कुरा! परिवारलाई विश्वास दिलाउन उनीहरूले परिवारका सदस्यलाई साथै तालिममा आउन भन्नुपरेको उनी सम्झन्छन्। उनीहरूको घरघरमै गएर परिवारको विश्वास जितेर परिवारको स्वीकृतिमा मात्र उनीहरूलाई सहयोगको आधार तयार पार्न सकिने लिखारामको अनुभव छ।

परियोजनामा एडिबीसँग स्थानीय स्तरमा सहकार्य गरिरहेको हिबस इन्टरनेशनलकी उद्यमशीलता विकास विज्ञ मञ्जरी श्रेष्ठ यो परियोजना सफल हुनका लागि कोही एक व्यक्तिलाई मात्र तालिम वा सहयोग गरेर नपुग्ने बताउँछिन्। पिछडिएका समूदायलाई उद्यममा अघि बढाउनका लागि पालिका, प्रदेश र जिल्ला तहबाट पाइने वित्तीय तथा नीतिगत सहयोग, अनुदानमा पहुँच तथा जानकारीकै तहमा पनि पहुँच बढाउनका लागि सबै पक्षलाई समेटेर  ‘इको सिस्टम’ तयार पार्नुपर्ने उनको भनाई छ।

‘उद्यमशीलता विकास क्षणिक भन्दा पनि दीर्घकालीन हुनुपर्छ। स्थानीय स्तरमा सबै निकायहरूसँग समन्वय गरिदिएर उहाँहरूलाई त्यो सञ्जालमा जोडिदिन सकेमात्र उद्यम दीगो हुन्छ। हामीले त्यसै अनुरुप उहाँहरूलाई स्थानीय तहमा लिंक गराइदिने गर्छौं।’

परियोजनाले उद्यमीहरूलाई उनीहरूको उद्यमको प्रकृति हेरी स्थानीय कृषि ज्ञान केन्द्र वा पशु सेवा विज्ञहरूसँग जोडिदिएको छ। यस्तै सम्बन्धित विषयका विज्ञहरू तथा बजारसँग पनि गाँसिदिएको छ। यस्तै सहायताबाट शिवभक्तिले अगुवाई गरिरहेको ‘पवित्रा दुना टपरी’जस्ता दुर्गम गाउँका समूहहरू उद्यमशीलतातर्फको यात्रा सफलताउन्मुख देखिन्छ।

उनीहरूको उत्साह पनि हेर्न लायक छ। ठूलो पातको मुठो फुस्किएपछि मज्जाले हाँस्दै शिवभक्तिले सोहोरिन् र भनिन्,’यसरी नै काम भयो भने त हामीलाई २ कोठे घर पनि साँघुरो हुन्छ होला। चाँडै हामीलाई पातको छुट्टै संकलन घर नै चाहिन्छ जस्तो छ। अहिले एउटामात्र मेशिनले काम हुँदैछ। थप्दैथप्दै धेरै मेशिन बनाएर हामी ठूलो उद्यम चलाउने सोचमा छौं।’