तारकेश्वरको त्यो ८ तले ‘आलिशान घर’ जसलाई चिनियाँले बनाएका थिए ठगीको अड्डा

सविन ढकाल/बिजमाण्डू
२०७६ पुष ९ गते १६:३४ | Dec 25, 2019

Tata
GBIME

काठमाडौं। तारकेश्वर नगरपालिका-१ मनमैजुको मुल बाटोमै छ एउटा आलिशान घर। घरधनी हुन् नुवाकोटका पाण्डे थरका व्यक्ति। केही समययता उक्त घरमा घरबेटी पाण्डेले नै पनि सजिलै पस्न पाउँदैनथे।

उनले चिनियाँ नागरिकलाई भाडामा दिएको घरको गेटमा नै सुरक्षागार्ड खटिएका हुन्थे, जसले कार्ड नभएका व्यक्तिलाई घरमा प्रवेश नै दिँदैन थिए।

सोमवार त्यही घर एक्कासी प्रहरीले घेर्‍यो। नेपाली र चिनियाँ प्रहरीको संयुक्त अप्रेसन 'चार्ली फोस्टर' को टीमले घरबाट ८४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो। समातिएकामध्ये आठजना महिला थिए।

पहिलेदेखि नै स्थानीयले त्यस घरलाई शंकास्पद रूपमा हेर्थे। स्थानीयले त चीनका सैनिक नै घरमा रहेको खासखु गर्थे। तर, उनीहरूको अनुमान सोमबार प्रहरीको अप्रेसनसँगै मिथ्या साबित भयो। केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा गएको टोलीले घरमा छापा मार्दा चिनियाँ नागरिकले अनलाइनमार्फत यहीँ बसेर अपराध गरेको भेटियो। ठगीको मुख्यालय बनाएका रहेछन् यही घरलाई।

'घर एकदमै भव्‍य। सबै सुविधा पनि। जो कोहीलाई प्रवेश नै गरिँदैन रहेछ,' केन्द्रीय अनुसन्धान ब्युरोका डीआइजी निरज शाहीले भने।

यस घरमा आठवटा तल्ला छन्। भाडा लिए लगत्तै घरको गेटमा नेपाली सुरक्षा गार्ड खटाइएको थियो। अहिले भने चिनियाँ नागरिकले नै सुरक्षा दिइरहेका थिए। सोमबार प्रहरी पुग्दा गेट भित्रबाट नै लक गरिएको थियो। सादा पोशाकमा पुगेका प्रहरीले पटकपटक आवाज दिँदा पनि गेट नखुलेपछि प्राविधिक ल्याएर नै तोड्न परेको थियो।

'हामीले गेट खोल्न खोज्दा खुलेन। त्यसपछि प्राविधिक बोलाएर नै भित्र छिरेका हौं,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

पाण्डेले यस घरलाई मासिक साढे १२ लाख रूपैयाँमा भाडामा दिएको प्रहरीमा बयान दिएका छन्। तर, स्थानीय भने २० लाखमा घर भाडा गएको दाबी गर्छन्। घरको पहिलो तलामा व्यवस्थित किचेन छ। त्यहाँ काम गर्ने चिनियाँ नागरिकका लागि खाना र खाजा यहीँ तयार हुन्छ।

एक तलामाथि उक्लिएपछि एउटा सानदार अफिस पुगिन्छ। त्यहाँ एकचोटीमा तीन सय जनासम्मले काम गर्न सक्छन्।

'एकदमै ठूलो स्पेसमा अफिस रहेछ। मानिसले शान्त भएर काम गर्छन्। त्यहाँ कम्युटर र ल्यापटप जोडिएका थिए,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने। अफिस छैटौं तलासम्म छ। घरका कुनै पनि भित्तामा फोटो खिच्न मनाही गरिएको नोटिस झुन्ड्याइएको छ।

छैटौंमा भने कर्पोरेट शैलीको रूम छ। जहाँ महँगा सोफा छन्। पक्राउ परेको गिरोहलाई नेतृत्व गर्ने यही ल्याबिस अफिसमा बस्छन्। सातौं तलामा भने महिलाको सेल झै लाग्ने ठाउँ छ। त्यहाँ पुरूषलाई निषेध गरिएको छ।

आठौं तलामा पनि कार्यालय नै छ। प्रहरीले सोमबार पक्राउ गरेको १ सय २२ जनामध्ये सबैभन्दा धेरै सामाग्री र मानिस यही भवनबाट नियन्त्रणमा लिइएको थियो।

प्रहरीले अझै पनि त्यहाँ भएको दुईवटा सेफ भने फोर्न सकेको छैन। 'त्यहाँ महत्वपूर्ण सामाग्री हुनुपर्छ भन्ने छ,' ती प्रहरी अधिकृतले भने।