
काठमाडौं। भिजिट भिसाका नाममा विदेश जाने युवाहरुसँग अवैध असुलीका लागि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईले एजेन्टसँग आफैं सिधै डिल गर्ने गरेको र एजेन्टमार्फत पाउने रकम एक महिलामार्फत व्यवस्थापन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट सहसचिव भट्टराईले नै एजेन्टहरुलाई आफैं फोन गरेर युवाहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको खुलेको हो। अहिलेसम्मको अनुसन्धान अनुसार भट्टराईले अध्यागमनका अरु कर्मचारी प्रयोग गरेको देखिएको छैन।
‘भट्टराईले सिधै नै एजेन्टहरूसँग सम्पर्क गरेर भिजिट भिसामा मानिसहरू बाहिर पठाउने गरेको देखिएको छ। अध्यागमनका माथिल्लो तहका अरु कर्मचारीलाई जानकारी दिएको देखिंदैन,’ अनुसन्धानमा संलग्न अधिकृतले भने, ‘तल्लो तहका कर्मचारीलाई भने हात लिएको देखिन्छ।’
सहसचिव भट्टराईले युवाहरुलाई भिजिट भिसाका नाममा विदेश पठाएबापत एजेन्टमार्फत आइपुग्ने रकम एक महिलालाई ‘असिस्टेन्ट’ बनाएर व्यवस्थापन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
‘उहाँले सिधै आफूले पैसा लिएको देखिएन। एक महिलालाई असिस्टेन्ट राखेर एजेन्टसँग उठाउने र तेस्रो पक्षलाई दिने गरेको प्रमाण हामीले फेला पारेका छौं,’ ती अनुसन्धान अधिकृतले भने।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार भट्टराईले विदेशीहरुलाई भिजिट भिसामा तेस्रो देश पठाएको समेत देखिएको छ। ‘भिजिट भिसाका नाममा नेपाली युवाहरुलाई विदेश पठाएर असुलिएको मात्र होइन कि पाकिस्तानका नागरिकलाई समेत तेस्रो देश पठाएको देखियो,’ स्रोतले भन्यो।
भट्टराईले एजेन्टसँग सम्पर्क गर्न अलग्गै मोबाइल प्रयोग गर्ने गरेका थिए। त्यो मोबाइल आयोगले नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि पठाएको छ। त्यसबाट थप प्रमाण खुल्नेमा अनुसन्धान अधिकृतहरू आशावादी छन्।
‘मोबाइलबाट थप प्रमाण खुल्ने विश्वास छ। नभए पनि हामीसँग पर्याप्त प्रमाण छन्। हामीले केही कागजपत्र र प्रमाण पहिले नै सङ्कलन गरिसकेका राखेका छौं,’ ती अनुसन्धान अधिकृतले भने।

अध्यागमनको सेटिङमा मानव तस्करीमा मुछिएका व्यक्तिलाई समेत भिजिट भिसामा विदेश पठाएको देखिएको छ। ‘कालोसूचीमा रहेका मानिसलाई सिस्टम नै गयो भन्दै अध्यागमनबाट पास गराएको समेत भेटियो,’ ती अनुसन्धान अधिकृतले भने।
भट्टराईले सेटिङ मिलाएर गरिरहेको असुलीबारे अख्तियारले करिब एक महिना अघिबाटै अनुसन्धान थालेको थियो। अहिलेसम्म अख्तियारले भट्टराई र तीन जना एजेन्टसँग यस विषयमा सोधपुछ गरेको छ।
‘हामीले अहिलेसम्म अनुसन्धान भट्टराईमा नै अनुसन्धान केन्द्रित गरेका छौं। अब उनलाई साथ दिने तल्लो तहका कर्मचारीमा पनि अनुसन्धान थाल्छौं,’ अख्तियार स्रोतले भन्यो।
भट्टराईलाई गृहमन्त्री रमेश लेखकले २०८१ असोजमा अध्यागमन प्रमुख बनाएका थिए। लेखकले भट्टराईलाई विमानस्थल पठाउने क्रममा त्यहाँका प्रमुखलाई चार महिनामै हटाएका थिए।
भिजिट भिसामा विदेश जानेहरुबाट दिनमा ५० लाख देखि ३ करोड रुपैयाँसम्म असुलेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुले दाबी गरेका छन्।
प्रहरीले २०८० असोजमा गरेको अनुसन्धानमा भिजिट भिसाका नाममा भएको असुलीमा अध्यागमनका अधिकृतहरुको संलग्नता देखिएको थियो। तर त्यतिखेर अनुसन्धान बीचमै रोकिएको थियो।
भिजिट भिसाका नाममा विमानस्थल अध्यागमनलाई वर्षौंदेखि असुलीको अड्डा बनाइएको खुले पनि सुधारका लागि अहिलेसम्म ठोस पहल गरिएको छैन।