एनपीएल छानबिन कार्यदलले बुझायो प्रतिवेदन, ‘क्यानको असहयोगले निष्कर्षमा पुग्न सकिएन’

मुकुन्द घिमिरे
२०८२ असार २७ गते १९:१४ | Jul 11, 2025
एनपीएल छानबिन कार्यदलले बुझायो प्रतिवेदन, ‘क्यानको असहयोगले निष्कर्षमा पुग्न सकिएन’

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा भएको भनिएको अनियमितता छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ।

GBIME
Tata

रञ्जना प्रधानको संयोजकत्वमा गठित कार्यदलले छानबिनमा नेपाल क्रिकेट संघ (क्यान)ले असहयोग गरेको र त्यही कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गरी शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएको हो।

आफूले विभिन्न मितिमा एनपीएलका दौरान भएका आर्थिक क्रियाकलापसँग सम्बन्धित कागजात माग्दा नपाएको बताएको छ।

‘जेठ १४ गते पठाएको पत्रमा २१ गते क्यानको पत्र पायौं। त्यसमा तथ्य हवइन भावनात्मक बेहोरा उल्लेख गरिएको थियो। जेठ २६ गते सक्कलै कागजात पेस गर्न पत्र पठाएकामा असार ३ गते झारा टार्ने हिसाबको जवाफ आयो,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ।

सम्बन्धित समाचार: के एनपीएल-२ रोकिन्छ? कार्यदल भन्छ ‘रोक्नै खोजेको होइन, हिसाब प्रष्ट मागेको हो’

कार्यदलले असार २२ गते क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई १२ घण्टाभित्र जवाफ दिन पत्र लेखेको थियो। तर, चन्दले जवाफ नै नदिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

‘उजुरीसँग सम्बन्धित निकाय नेपाल क्रिकेट संघ  र जिम्मेवार पदाधिकारीहरुले छानबिन कार्यदलबाट उजुरीमा उल्लेखित विषयवस्तुका बारेमा तीन पटकसम्म पत्राचार गरिएकामा दुईपटक सतही जवाफ आएको र तेस्रो पत्राचारको कुनै जवाफ पेस नगरिएकाले छानबिन कार्यदल निष्कर्षमा पुग्न नसक्ने अवस्था सिर्जना भयो,’ प्रतिवेदनमा भनिएको छ।

सम्बन्धित समाचार: क्यानलाई पत्र पठाएपछि कार्यदललाई राखेपको निर्देशन : परिषद्को लेटरहेड प्रयोग नगर्नू

क्यानले भने कार्यदलका तीनवटै पत्रको जवाफ दिएको बताएको छ। ‘हामीले तीनवटै पत्रको जवाफ पठाएका छौं,’ क्यानका सचिव पारस खड्काले बिजमाण्डूसँग भने।

गत मंसिरमा क्यानको आयोजना भएको एनपीएलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले समिति बनाएको थियो। पछि युवा तथा खेलकुद मन्त्री चौधरीले प्रधानको नेतृत्वमा कार्यदल बनाएका थिए।

एनपीएलका दौरान भएका टेन्डर, भुक्तानी, ब्रोडकास्टिङ अधिकार, हिसाबकिताबलाई लिएर क्यानविरुद्ध उजुरी छन्। क्यानले पनि अहिलेसम्म प्रतियोगिताको हिसाब सार्वजनिक गरेको छैन।

यस विषयलाई लिएर क्यानको कार्यसमितिमै पनि विवाद चर्किएको छ। अघिल्लो महिना उपाध्यक्षसहित कार्यसमितिका ८ सदस्यले अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै एनपीएलको हिसाब सार्वजनिक गर्न माग गरेका थिए।

मलाई बदनाम गर्न खोजियो : मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री चौधरीले विज्ञप्ति निकाल्दै कार्यदलले प्रतिवेदन बुझाएको र मन्त्रालयले यसमा अध्ययन गरेर कार्यान्वयनको प्रकृया अघि बढाउने उल्लेख गरेका छन्।

उनले आफूले एनपीएल रोक्न खोजेको आरोप गलत भएको भन्दै क्रिकेटप्रमी, खेलाडी र प्रतिस्पर्धी टोलीको मनोबल घटाउने काम नगर्न चेतावनी दिएका छन्।

खेल संघ/महासंघभित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन अनुसार हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सार्वजनिकरुपमै एनपीएल आयोजनालाई निरन्तरता दिन भनेका थिए। ‘एनपीएलको तपाइँहरु भव्यताका साथ तयारी गर्नुहोस्। एनपीएल हाम्रो नेसनल प्राइड हो। यसलाई अघि बढाउनु पर्छ,’ उनले भनेका थिए।