
काठमाडौं। नेपाली क्रिकेट टोली नेदरल्याण्ड्ससँग पराजित भएको छ। स्कटल्याण्डको ग्लास्गोमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको नेदरल्याण्डविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमै ८ विकेट गुमाएर १५२ रननै बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा पनि सहज नतिजा भने प्राप्त हुन सकेन। पहिलो र दोस्रो सुपर ओभरमा पनि बराबरी भएपछि तेस्रो सुपरओभरमा पुगेर बल्ल नेदरल्याण्ड्सले जित निकाल्न सक्यो। टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक तेस्रो सुपर ओभरसम्म खेल पुगेको हो। टी-२० मा भने फ्रेन्चाइज लिगहरुमा तीन सुपरओभरका खेल भइसकेका छन्।
पहिलो सुपर ओभर
सुपर ओभरमा नेपालका लागि ब्याटिङ गर्न आए कुशल भुर्तेल र रोहितकुमार पौडेल। त्यस्तै बलिङमा आए ड्यानियल डोरम।
पहिलो बलमा रोहितले १ रन लिए। दोस्रो बलमा भुर्तेलले चौका प्रहार गरे। त्यस्तै तेस्रो बलमा पनि भुर्तेलले चौका नै प्रहार गरे। चौथो बलमा २ रन लिएका उनले पाँचौ बलमा छक्का प्रहार गर्दा सातौँ बलमा उनी आउट हुन पुगे। नेपालले सुपर ओभरमा १९ रन बनायो।

त्यस्तै बलिङ लिएर करण केसी आए। ब्याटिङमा नेदरल्याण्ड्सका माइकल लेभिट र म्याक्स ओडाउड आए।
पहिलो बलमै लेभिटले छक्का प्रहार गरे। दोस्रो बल करणले डट लिए। तेस्रो बलमा लेभिटले एक रन लिए। चौथो बलमा ओडाउडले २ रन लिए। उनले पाँचौँ बलमा फुलटसमा छक्का प्रहार गरे। अन्तिम बलमा नेपाललाई बाउन्ड्री रोक्नुपर्ने चुनौती थियो। यसमा ओडाउडले चौका प्रहार गर्दा १९ रन बन्यो। र, सुपर ओभरले पनि नतिजा दिन सकेन।
दोस्रो सुपर ओभर
पहिलो सुपर ओभरमा बराबरी भएपछि दोस्रो सुपरओभरमा ब्याटिङमा आए नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्स र म्याक्स ओडाउड। बलिङ लिएर आए ललितनारायण राजवंशी।
पहिलो बलमा स्कट एडवार्ड्सले छक्का प्रहार गरे। दोस्रो बलमा एडवार्ड्सले १ रन लिँदा क्रिजमा म्याक्स आए। उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो बलमा वाइडसहित ललितले दुई रन दिए। पाँचौँ बलमा एडवार्ड्सले २ रन लिए। अन्तिम बलमा ऐरीले बाउन्ड्री नजिक क्याच गर्दा नेदरल्याण्ड्स १७ रनमा समेटियो।
१८ रनको लक्ष्य पछ्याउन नेपालको ब्याटिङमा आए रोहितकुमार पौडेल र दीपेन्दसिंह ऐरी। बलिङमा आए केल क्लेइन।
पहिलो बलमै रोहितले छक्का प्रहार गरे। दोस्रो बलमा पौडेलले १ रन लिँदा ब्याटिङमा पुगे ऐरी। तेस्रो बलमा ऐरीले चौका प्रहार गरे। चौथो बल डट हुन पुग्यो। पाँचौँ बलमा पनि ऐरीले रन जोड्न नसक्दा फेरि बराबरी बनाउन नेपाललाई छक्का आवश्यक थियो। र, ऐरीले यसमा भने छक्का प्रहार गरे।

तेस्रो सुपर ओभरमा नेपालको रननै बनेन
तेस्रो सुपर ओभरमा नेपाल ब्याटिङमा आयो। पहिलो बलमा रोहितकुमार पौडेल आउट भए। दोस्रो र तेस्रो बल डट खेलेका रुपेश सिंह चौथो बलमा आउट हुन पुगे। योसँगै नेपालले यो सुपरओभरमा खाता नै खोल्न सकेन।
अर्कोतर्फ नेदरल्याण्ड्सका माइकल लेभिटले पहिलो बलमै सन्दीप लामिछानलाई छक्का प्रहार गर्दै नेदरल्याण्ड्सलाई जित दिलाए।
योसँगै रोचक बनेको खेलको तेस्रो सुपरओभरमा पुगेर नेपाल पराजित भएको हो।
नेपालको इनिङ्स
१५३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर लोकेश बम गोल्डन डकआउट हुँदा दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिलकुमार साह १ रन बनाएर आउट भए। अर्का ओपनर कुशल भुर्तेलले भने ३४ रन बनाउँदै नेपालको स्कोर उकास्न योगदान दिए।
नेपालका लागि सर्वाधिक स्कोर बनाएका रोहितकुमार पौडेलले ३५ बलमा ३ चौका र २ छक्काको सहायतामा ४८ रन बनाए। त्यस्तै, आजै डेब्यु गरेका रुपेश सिंहले १९ तथा किरण ठगुन्नाले १५ रन बनाए।
बलिङमा नेदरल्याण्ड्सका ड्यानियल डोरमले किफायती बलिङ गर्दै ३ विकेट लिँदा विक्रमजित सिंहले २ तथा केल क्लेइन, बेन फ्लेचर र जच लायनले समान १ विकेट लिए।
नेदरल्याण्ड्सको इनिङ्स
टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदे १५२ रन बनाएको थियो। डच टोलीका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाउँदा विक्रम जित सिंहले ३० तथा सक्विब जुल्फिकारले अविजित २५ रनको योगदान दिए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।

नेपालले मंगलबार दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।