संघीय निजामती विधेयकमाथिको प्रतिवेदन सदनमा, सचिवहरुको देउसी भैलोले गरेन काम

बिजमाण्डू
२०८२ असार १ गते १६:३० | Jun 15, 2025
संघीय निजामती विधेयकमाथिको प्रतिवेदन सदनमा, सचिवहरुको देउसी भैलोले गरेन काम

काठमाडौं। संघीय निजामती विधेयकमाथि दफाबार छलफल गरेर तयार पारिएको प्रतिवेदन विधेयक प्रतिनिधि सभामा पेस भएको छ।

Tata
GBIME

प्रतिनिधि सभाको आइतबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिवेदन पेस गरेका हुन्। विधेयक २०८१ जेठ २३ गते समितिमा पुगेको थियो।

विधेयकमा १३० सांसदले १५५३ वटा संशोधन प्रस्ताव दर्ता गराएकामा समितिले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति गठन गरी विधेयकमाथि प्रतिवेदन तयार पारेको थियो। त्यो प्रतिवेदन समितिले जेठ २ गते सर्वसम्मतरुपमा पारित गरेको थियो।

समितिले सरकारी कर्मचारीलाई अवकाशपछि नयाँ नियुक्ति लिन दुई वर्ष कुलिङ पिरियड राखेर प्रतिवेदन पारित गरेपछि सचिवहरुले मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा त्यसलाई उल्टाउन जोडकबल गरेका थिए।

त्यसका लागि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासदेखि सभामुख र राष्ट्रिय सभाका अध्यक्षको कार्यकक्षमा पुगेर देउसी भैलो गरेका थिए।

समितिका सभापति खतिवडाले प्रतिवेदन उल्ट्याउन कर्मचारीबाट नारा जुलुस भए पनि कुलिङ पिरियड २ वर्ष कायम गरिएको जानकारी दिए।

‘हाइयर लेभलका कर्मचारीबाट नारा जुलुस भए पनि कुलिङ पिरियड दुई वर्ष कायम गरिएको छ। दोहोरो सुविधा लिन नपाउने व्यवस्था पनि गरिएको छ,’ उनले भने, ‘यसमा कतिपयको चित्त नबुझेको होला। त्यसको दोष समितिको सभापतिका नाताले मलाई दिए हुन्छ।’