
काठमाडौं। सेयर बजार सूचक लगातार चौथौ दिन ओरालो लागेको छ। नेप्से परिसूचक आइतबार ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा आएको छ। गत साताको अन्तिम दिनका तुलनामा कारोबार रकममा भने सुधार आएको छ।
आइतबार होटल तथा पर्यटन र जलविद्युत बाहेकका सबै समूह घटेका छन्, जसले बजार सूचकलाई घटाएको हो। वाणिज्य बैंक उपसमूहको सूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।
बजारलाई १.२२ प्रतिशतले बढेको जलविद्युत समूहले थामेको छ। १६२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ।
८६ कम्पनीको मूल्य बढेको छ। रिभर फल्स पावर र पियोर इनर्जीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बजारमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
राधी विद्युत कम्पनीको सबैभन्दा धेरै ७२ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, युनिभर्सल पावरको ६२ करोड २७ लाख र ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि गत बिहीबार नेप्से सूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा रहँदा ७ अर्ब ९७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। कारोबारमा अग्रणी जलविद्युत कम्पनीहरु नै थिए।