
संसारभर बर्सेनि मान्छे घुम्छन्। थोरै खर्चमा छोटा दुरी, धेरै खर्चमा जोखिमपूर्ण भूगोल र लामो दुरी। त्यसमा पनि २५/३० लाख रुपैयाँ खर्चिएर गरिने यात्रा आफैंमा सस्तो होइन। र, पृथ्वीको दक्षिणी ध्रुवको यात्रा आफैंमा सहज होइन। यो यात्रामा पुगेकामध्ये थोरैले मात्र अनुभवका वृत्तान्त लेखेका छन्। जसजसले लेखेका छन्, उनीहरुले पाठकलाई त्यो महँगो र अविस्मरणीय यात्राको कथा पस्किएका छन्।
ती नियात्रा पढ्दा पाठक पनि एक पटक कल्पनाको दुनियाँसँगै ‘अन्टार्कटिका’ पुग्छन्। यस्तै एउटा यात्रा वृत्तान्त नेपाली पाठक माझमा छ, जसमा लेखकले पढ्नेलाई आफूसँगै हिउँको संसारको त्यो अभूतपूर्व यात्रामा लैजान्छन्। एक जना एनआरएन, व्यवसायीको यात्रा हो यो, जो एडभेञ्चर ट्रिपको कल्पना गर्ने धेरैलाई रोचक लाग्छ।
धक मान्दै उनी पेन्गुइनका नजिक पुगे। मनमा थोरै भय र धेरै यात्राको उत्साह थियो। ती पेन्गुइनले उनलाई ट्वाल्ल परेर हेरिरहे। तिनले यस्तो त्रासरहित भावसहितको व्यवहार देखाए कि उनी चकित ! ‘मानिसलाई उनीहरूले आफूजस्तै कुनै प्राणीका रुपमा बुझ्ने रहेछन्। यिनले हानि पुर्याउन सक्छन् भन्ने समेत रहेनछ,’ भयरहित प्राणीको मनोभाव पढेर यस्तै निष्कर्ष निकाले उनले।
पेन्गुइन उनका लागि नौलो प्राणी थिएन। तर, तिनकै साम्राज्यमा पुग्दा पनि मानिसप्रति त्रासविहीन तर कौतुहलता सहितको हेराइले फरक अनुभूति गरायो उनमा। निचोड निकाले – ‘आक्रमण वा क्षतिको त्रास नभएपछि जोसुकै पनि निर्भय हुने रहेछन्।’
पेन्गुइनकै साम्राज्य र बहुसङ्ख्यक उपस्थितिमा सीमित संख्याका मानिस सीमान्तकृत हुन नपर्ने कस्तो गजबको संसार! एउटा अक्षत भूगोल।
जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’मा त्यही संसारको व्याख्या छ जहाँ छैन – वैरभाव। तर छ, मानिसको प्रवेशपछि भएका ध्वंशको वर्णन। मानिसको स्वार्थ र अन्टार्कटिकाका प्राणीको निस्वार्थ भावसहितको सिलसिलेबार व्याख्या। त्यही भूगोलमा हो जीवाले नजिकबाट पेन्गुइनका मनोभावलाई स्पर्स गरेको। दुरी त उनलाई ५ मिटरभन्दा पर नै रहन दिइएको थियो। मनोभाव बुझ्न त्यो दुरी टाढा थिएन। प्रकृतिसँगको उनको अनुपम मिलनमा एड्भेन्चर छ। प्रकृति छ। प्रेम र स्नेह छ। उनी पेन्गुइनजस्तै निर्भय चाहिँ छैनन् किनकि हुर्कँदैदेखि ‘डर’ले जमाएको डेरा भित्रै गडिएको छ। परिवार र व्यावसायिक जालोले थप बाँधिएका छन्।
एसियाको एउटा कुनाबाट अन्टार्कटिका पुग्ने चाहनालाई सबैभन्दा धेरै त आर्थिक कारणले नै रोक्छ। अस्वाभाविक होइन यो।

+++
यायावर बन्ने चाहना कसको हुँदैन? चाहनालाई रोक्ने तगाराहरू हरेक तहमा भेटिन्छन् – समय। पैसा। परिवार। एसियाको एउटा कुनाबाट अन्टार्कटिका पुग्ने चाहनालाई सबैभन्दा धेरै त आर्थिक कारणले नै रोक्छ। अस्वाभाविक होइन यो। युरोपेली वा अमेरिकीका लागि पनि सस्तो छैन यसखाले यात्रा। तर, जीवाले समातेको एन्टार्टिकाको रुट उनकै शब्दमा ‘सबैभन्दा सस्तो’ हो। सस्तो आफैंमा ‘रिलेटिभ’ शब्द।
सस्तो भनेको कति?
‘२५ देखि ३० लाख जति लाग्छ कम्तीमा। अर्जेन्टिना जानुपर्यो। फुक्काफाल भएर जाने हो भने २० लाखसम्म पनि हुन सक्छ। म विद्यार्थीकालमा त्यसरी नै हिँड्थे ब्यागप्याक लिएर। अब उमेरले त्यसखालको सकिन्न।’
कुनै पनि मुलुकमा जान भिसाको विषय उनका लागि ठूलो इस्यु होइन। तर एउटा अक्षत महादेशको भिसा कुन देशले दिन्छ त? खर्च गर्न सक्नेकै लागि पनि महँगो यात्रामा नेपालीले जान चाह्यो भने भिसा कसरी लाग्छ?

अन्टार्कटिका यात्राका जहाजहरू महँगा छ। यात्रामा ६० मिटरसम्म उचाइका समुन्द्री छालहरूसँग पौँठेजोरी खेल्न सक्नेगरि बनाइएका ती जहाज पनि सस्ता छैनन्। यात्राखर्च ‘लग्जरी’ले निर्धारण गर्छ। सबै यात्रुलाई एकै दृश्य, एकैखाले भोजन। एकैखाले यात्रा गतिविधि। तर, रुमको मूल्यले निर्धारण गर्छ महँगोभित्रको महँगो र सस्तो।
व्यवसायीका हिसाबले जीवाका सामु विश्व सीमाहीन छ। सबै महादेश पुगेका छन्। नपुगेको यही अन्टार्कटिका थियो। उनकै शब्दमा ‘२०-२२ वर्षदेखिको एउटा योजना।’ कुनै पनि मुलुकमा जान भिसाको विषय उनका लागि ठूलो इस्यु होइन। तर एउटा अक्षत महादेशको भिसा कुन देशले दिन्छ त? खर्च गर्न सक्नेकै लागि पनि महँगो यात्रामा नेपालीले जान चाह्यो भने भिसा कसरी लाग्छ?
‘त्यो कुनै पनि मुलुक मातहत नभएकाले इन्ट्रीमा भिसा लाग्दैन। तर त्यहाँ पुग्न अर्जेन्टिना हुँदै जानुपर्यो,’ जीवाले सुनाए, ‘सेन्जेन वा अमेरिकाको भिसा छ भने अर्जेन्टिनाले इटा अर्थात् इलेक्ट्रोनिक ट्राभल अथोराइजेनमार्फत् अनलाइनबाटै भिसा दिन्छ। मैले नेपालबाटै अप्लाइ गरेर भिसा लिएँ।’
अर्जेन्टिनाले ७० देशका नागरिकलाई यसखाले भिसाको सुविधा दिएको छ। अवमूल्यनको शृंखलामा अग्रपङ्तिमा रहेको नेपालको राहदानीले थोरै भए पनि यहाँ मूल्य पाएको छ। जीवाले ‘अक्षत अन्टार्कटिका’मा त्यहाँ पुग्ने वैकल्पिक मार्गहरूबारे चर्चा गरेका छन् तर सबैभन्दा कम समय र खर्चमा पुग्ने रूट चाहिँ अर्जेन्टिना भएरै हो। अर्जेन्टिनाको ओसोहाय भन्ने हार्बर सिटीबाट जहाज चढ्ने र समुन्द्रको छालसँग पौंठेजोरी लगाउँदै अघि बढ्ने। चिली वा दक्षिण अफ्रिका हुँदै पनि यात्रा गर्न सकिन्छ तर त्यो लामो पर्छ। जति लामो यात्रा, उति महँगो।
त्यो सेतो साम्राज्यको खोजमा हिँडेका ८ सय पानीजहाज समुन्द्रमा डुबे। तिनै दुर्घटनाले खडा गरेको २० हजार मानिसको चिहानभन्दा माथि तैरिँदै यात्रा गर्दा उत्पन्न मनोभावलाई शब्द शब्दमा उतारेका छन् जीवाले। त्यसैमा जोडिन्छ यात्राको ‘थ्रिलिङ’।

+++
जीवा लामिछानेको बहुआयामिक परिचय छ नेपाली समाजमा। व्यावसायिक परिचय छँदैछ। साहित्यानुरागी। यायावर। गैरआवासीय नेपाली अभियन्ता। उनका दुई यात्राकथा यसअघि आइसके- सरसर्ती संसार र देश देशावर। त्यसपछि अक्षत अन्टार्कटिका। क्षत् नभएको अर्थात् अक्षत।
मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर लामिछाने गैरआवासीय नेपाली संघ(एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुन्। सन् २०११ र २०१८ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा नियुक्त भएका थिए। बैंकिङ, जलस्रोत, शिक्षा, स्वास्थ्य, बीमा, होटल लगायत व्यवसायमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी गगरेका उनी संसारका १ सय ३० भन्दा बढी देश घुमिसकेका छन्।
उनका यात्राकथामा यात्रावर्णनसँगै पुगेका ठाउँको समाज र इतिहाससँग साक्षात्कार गर्न पाइन्छ। अक्षत भने पनि अन्टार्कटिकामाथि मानिसको दोहन नभएको होइन। लाखौं ह्वेल र सिलहरूको सिकारका सन्दर्भ हुन् या अन्टार्कटिकाको अन्वेषणका लागि भएका पहल – धेरैले ज्यान गुमाएका छन्। तिनलाई यात्राका रोमाञ्चकतासँगै घोलेका छन् उनले। त्यो सेतो साम्राज्यको खोजमा हिँडेका ८ सय पानीजहाज समुन्द्रमा डुबे। तिनै दुर्घटनाले खडा गरेको २० हजार मानिसको चिहानभन्दा माथि तैरिँदै यात्रा गर्दा उत्पन्न मनोभावलाई शब्द शब्दमा उतारेका छन् जीवाले। त्यसैमा जोडिन्छ यात्राको ‘थ्रिलिङ’।
त्यसो त ४२ हजार वर्गकिलोमिटर क्षेत्रफलको भएको यो महादेश कुनै पनि देशको अधीनमा छैन। पूरै घुम्ने सम्भावना सहज छैन। किनकि यो आफैँमा एउटा हिउँको साम्राज्य हो। कानुनी राज कसैको नभए पनि यहाँ टुर अपरेटरहरूले यात्रुलाई नियममा बाध्ने गरेका छन्। अन्टार्कटिका ट्रिटी अर्गनाइजेसनले तय गरेका मापदण्ड अनुसार चल्नुपर्छ यहाँ। यो भूगोल कुनै पनि मुलुकको नियन्त्रणमा नरहने तर वैज्ञानिक खोजका लागि सबैले प्रयोग गर्न पाउने ठाउँ हो। विश्वका ५० भन्दा धेरै देश यसको ट्रिटीमा जोडिएका छन्। तीमध्ये धेरैले अनुसन्धान केन्द्रहरू खडा गरेका छन्। त्यसरी केन्द्र बनाएर आफ्ना बैज्ञानिकलाई त्यहाँ पठाउने मुलुकमा भारत पनि पर्छ। भारतले अनुसन्धानका लागि तयार पारेको स्टेसनमा पुगेका छन् नेपाली पनि। जीवाले पुस्तकमा तिनै नेपालीलाई पनि समेटेका छन् जसले पहिलो पटक त्यहाँको धर्तीमा पाइला राख्यो।
विश्वका सबै महादेशको यात्रा पूरा गरेका छन् जीवाले। नेपालीको यात्रामात्र होइन, पाएसम्मका लिट्रेचरलाई अध्ययन गरेर अन्टार्कटिकाका साङ्गोपाङ्गो विषय समेट्ने प्रयास पुस्तकमा भएको छ। प्रकृतिमाथि मानवको दोहनप्रति उनी असन्तुष्ट लाग्छन्। अनि त्यहाँ भइरहेको संरक्षणप्रति उदार भावले प्रशंसा गर्छन्। मन नै त हो उनलाई पनि कोशेली ल्याउन मन लाग्यो त्यहाँबाट।
के ल्याउने त?
सानो ढुंगा।
उनले ढुंगा टिपेको देखेपछि उनीहरूले त्यहाँको केही पनि नचलाउन गरिएको निर्देशन सम्झाए र जहाँको तहीँ राख्न लगाए।
यस्तै कुराले हो जीवालाई यात्राले निक्कै घत पारेको। त्यो भूगोल जुन कसैको नियन्त्रणमा छैन। र, पनि सग्लो छ। त्यहाँ यसरी पर्यटकलाई लैजाँदा जोखिम हुनसक्छ। तर, त्यसलाई व्यवस्थित गरेका रहेछन् उनीहरूले।
कस्तो व्यवस्थापन त?
त्यहाँ कुनै पनि बीऊजन्य वस्तु लैजान निषेध। त्यसैले हरेक यात्री र उनीहरूको लगेजबाट छिर्न सक्ने ‘सिड’ पूरै भ्याकुम गरेर निकालिँदो रहेछ। दोस्रो त्यो भूगोलमा पैतालाले टेक्दा लगाउने बुट पूरै सेनिटाइज गरेर मात्र लगाउनुपर्ने। फर्केर जहाजमा आउँदा फेरि सेनिटाइज गरेर आउनुपर्ने। त्यहाँका जीवजन्तुमा मानिसले फ्लु सार्देलान् भन्ने त्रास। कुनै शासकीय नियम नहुँदा पनि टुर अपरेटरहरू यस्ता नियम अक्षरस पालन गर्ने रहेछन्।
उनले आफ्नो छोराको इमेल पाए। त्यसमा थियो – ‘अन्टार्कटिकाको वातावरणमा मानवका कारण केही खराबी भयो भने तपाइँको भागमा पनि उक्त दोषको हिस्सा हुनेछ।’

उनले त्यहाँ पालन गरिएको नियम देखेपछि झलक्क सम्झिए सगरमाथा। त्यहाँ मानिसको भिड र फैलिरहेको फोहर। ‘हामीकहाँ त कानुनी व्यवस्था छ। लियाजोन अफिसर पनि अनिवार्य छ। तर, अवस्था?,’ जीवा प्रश्न गर्छन्, ‘पर्यटन बोर्डदेखि धेरै निकाय र नियम हामीकहाँ छ। तर सगरमाथाको समाचार हेर्दा “पेनफुल” हालत देखिन्छ।’
इन्टरनेशनल अन्टार्कटिका टुर अपरेटरले बनाएको नियम सबैले पालन गर्ने रहेछन्। जतिखेर उनले पर्यावरण प्रदूषणको सन्दर्भलाई नजिकबाट तुलना गरिरहेका थिए त्यही सन्दर्भमा उनले आफ्नो छोराको इमेल पाए। त्यसमा थियो – ‘अन्टार्कटिकाको वातावरणमा मानवका कारण केही खराबी भयो भने तपाइँको भागमा पनि उक्त दोषको हिस्सा हुनेछ।’
अन्टार्कटिकामा पर्यटक लैजाँदा हुनसक्ने पर्यावरणीय विनासको सन्दर्भमा बीबीसीको लेख पढेर जीवाका छोराले इमेल गरेका थिए।
उनले हुलका हुल ह्वेल देखे। पेन्गुइन त पाँच मिटरको दुरीसम्म पुगेरै हेर्न भ्याए। जहाजमा यात्रा गरिरहँदा तिनैसँग खेल्न झुन्डका झुन्ड ह्वेलहरू आएका दृश्य उनले अन्त कतै देखेका थिएनन्।

+++
जीवाले आफ्नो परिवारलाई तिनै पत्रमार्फत् पुस्तकको सहयात्री बनाएका छन्। अर्जेन्टिनाको ओसायामा रहेको पृथ्वीकै अन्तिम मानव बस्तीबाट उनी जहाजबाट यात्रामा थिए। त्यसक्रममा हरेक दिन परिवारलाई आफ्नाबारे खबर दिन्थे। रोमाञ्चकता सुनाउँथे। उनी यात्रा त एक जना क्यानडामा बस्दै आएका नेपाली साथीसँग गर्दै थिए तर उनको पलपलको खबर लिएर उनीसँगै रहन्थ्यो उनको परिवार। यात्रा कथालाई भावनात्मक पक्षमा उनले पत्राचारको सन्दर्भ मार्फत् ‘ग्लु’ लगाएका छन्। त्यहाँ प्रेम र स्नेहसँगै पर्यावरण जोगाउनुपर्ने सन्देश अट्याच छ।
जहाँबाट उनले यात्रा गरे त्यहाँबाट अन्टार्कटिकाको उत्तर पश्चिमको पेइन्सुला प्रायदीप सबैभन्दा छिटो पुगिन्छ। मानव बस्ती र इतिहास नै नभएको अन्टार्कटिकाको यो भूगोल इतिहासबिहीन भने छैन। यही भूगोलको खोज गर्नेको इतिहास छ। यहाँ सिकार गर्न आउनेको इतिहास छ। त्यसले जीवालाई ठम्याउन कठिन लागेन – मानिसको बसोबास नभए पनि विरासत तय हुने रहेछ।
सोह्रौं शताब्दी अन्वेषणको युग थियो। त्यतिखेर पश्चिमा मुलुकका खोजकर्ता स्रोतमाथि पहुँच जमाउने लक्ष्यसाथ निस्किए। तर लामो समयसम्म अभेद्य ठाउँ रह्यो, यो भूगोल। ‘एक हिसाबले त्यस युगमा वैभवका लागि खोजीमा पश्चिमा मुलुकहरु लागेका थिए। तर अन्टार्टिकमा केही छैन भनेर अघि सरेनन्,’ उनले थोरै इतिहासलाई जोड्दै सुनाए, ‘त्यहाँ पुग्ने सुरुका प्रयास एकपछि अर्का विफल भए।’
जीवाले जे देखे त्यसले ठम्यायो – त्यो भूगोल त पेन्गुइन, ह्वेल र सिलको बासस्थान हो। तिनै ह्वेलको मासु, सिलका भुवा र छालाका लागि सिकार गर्नेहरू जोखिम उठाएरै कठ्याङ्ग्रिँदो भूगोलमा पुगेका थिए। लाखौंलाख संख्यामा ती प्राणी मारिएका थिए। र, तिनका मासु प्रशोधन गर्ने कारखाना समेत त्यहाँ स्थापित भए। अहिले सिकार निषेध भइसकेको छ। तिनका भग्नावशेष अझै जीवित छन्। त्यसैले यात्रामा उनले हुलका हुल ह्वेल देखे। पेन्गुइन त पाँच मिटरको दुरीसम्म पुगेरै हेर्न भ्याए। जहाजमा यात्रा गरिरहँदा तिनैसँग खेल्न झुन्डका झुन्ड ह्वेलहरू आएका दृश्य उनले अन्त कतै देखेका थिएनन्।
उनले लेखनीबारे सुनाए, ‘पानीजहाजबाट अन्टार्कटिकामा प्रवेश गरिसकेपछि वा ल्यान्डिङ गराएपछि फ्री टाइम हुन्छ। त्यहीँ लेखेँ। यात्रा सकेर आउँदा २५ हजार शब्द तयार भइसकेको थियो।’

+++
जीवाका अघिल्ला दुई किताबमा भूगोल र जीवन जोडिएको थियो। यसपाला निर्जन भूगोलको विरासत बयान गरेका छन् उनले। यात्रामा उनी चढेको पानीजहाजमा १५२ यात्री थिए। उनीहरूका लागि चिकित्सक र वैज्ञानिकसहित १७६ क्रु मेम्बर। कसैको भूगोल नभएकाले त्यहाँ यात्रा गर्ने सबैतिरका थिए। तिनीहरूसँगका संवादलाई उनले सन्दर्भअनुसार जोडेका छन्। यसरी यात्रा गर्न जति धेरै भए पनि ज्यादै थोरैमात्र हुन्छन् जसले उनले जसरी कलम चलाउँछन्।
किताब लेख्ने निधोमा उनी कसरी पुगे त जीवा?
सुरुमा उनी दुई/तीनवटा लेख लेख्ने मुडमा थिए। हरेक पटकको यात्रा उनलाई विशेष लाग्छ। कतै प्रकृत त कतै पूर्वाधारले उनको ध्यान खिच्छ। मरुभूमिको सौन्दर्यबाट लठ्ठिन्छन् उनी। ती क्षेत्रमा पुगेपछि केही न केही लेख्ने उनको आदत बनेको छ। यो भूमिको यात्रामा जानुअघि उनलाई फाइन प्रिन्टका निरज भारीले लेखमा सीमित नभई किताब नै लेख्न सुझाए।
‘लेख्ने भन्ने सोच र चेत बनाएर हिँडेपछि जता पनि सामग्री पाइन्छ। लेख्ने अभ्यास पनि अलिअलि छ। भिसाको प्रक्रियादेखि नै टिपोट गर्न थालेँ,’ उनले लेखनीबारे सुनाए, ‘पानीजहाजबाट अन्टार्कटिकामा प्रवेश गरिसकेपछि वा ल्यान्डिङ गराएपछि फ्री टाइम हुन्छ। त्यहीँ लेखेँ। यात्रा सकेर आउँदा २५ हजार शब्द तयार भइसकेको थियो।’ हरेक दिन २ घन्टाजति उनीसँग समय हुन्थ्यो। त्यसैले लेखनलाई जोडिरह्यो। यात्रा थाल्नुअघि र पछि पनि उनले विभिन्न सामग्रीको अध्ययन गरेका थिए। त्यसले पुस्तकलाई खँदिलो बनाउन सघायो।
जीवाले अक्षत अन्टार्कटिकाबाट धेरैलाई यात्रा गराएका छन्। हिउँको पोखरीमा पौडी खेलाएका छन्। त्यहाँ हाइकिङ पनि गराएका छन्। पेन्गुइनसँग भेटाएका छन्। आफ्नो अन्तर्मनको यात्राभित्र प्रवेश गराएका छन्। त्यसैले असाध्यै महँगो गन्तव्यको सस्तो यात्राका लागि उनको पुस्तक गजब लाग्छ।
उनलाई लाग्छ यात्राले व्यवसाय सिकाउँछ। कसरी हेर्ने वा सोच्ने भन्ने दायरा बढाउँछ। अर्थात् फराकिलो दृष्टिकोण बनाउन सघाउँछ। यसो हो भने यात्राले नै उनलाई कुनै व्यवसायतिर धकेल्दै छ त?

जीवा पेसाले व्यावसायी। तर, उनी घुमिरहन्छन्। ट्राभल र व्यवसाय कसरी म्यानेज हुन्छ त?’
‘समय सबैको लागि २४ घन्टा हो। त्यसबाट परिवारलाई पनि दिनुपर्छ। पढ्नु पनि रूटिन नै हो। किताब साथी हुनेगर्छ मेरो। मेरो रुचि यात्रामा पनि हो। रुचिका लागि जसरी पनि समय निकाल्नुपर्छ।’
उनका अनुसार सुरुमा उनका लागि बिजनेस एडिक्सन हो। तर त्यही बिजनेस आजभोलि ‘अटो पाइलट’मा रुपान्तरित भएको छ। त्यसैले उनीसँग सजिलो जवाफ छ – ‘साथीहरू हुनुहुन्छ। विश्वको जुन कुनामा भए पनि काम चलाउन सकिन्छ। डिसिजन मेकिङ लेभलमा हुँदा जुन भूगोलमा हुँदा पनि काम गर्न सकिन्छ।’
उनलाई लाग्छ यात्राले व्यवसाय सिकाउँछ। कसरी हेर्ने वा सोच्ने भन्ने दायरा बढाउँछ। अर्थात् फराकिलो दृष्टिकोण बनाउन सघाउँछ। यसो हो भने यात्राले नै उनलाई कुनै व्यवसायतिर धकेल्दै छ त?
‘पछिल्लो समय हामी पर्यटनमा छौं। पर्यटनमा धेरै गर्न सक्छौं भन्ने इम्प्रेसन छ। सोच छ केही नयाँ गर्ने। मेटेरिलाइज गर्न बाँकी छ। जंगल र हिउँमा हुनसक्ने पर्यटनबारे सोचेको छु। धेरै क्षेत्रमा सम्भाव्यता अध्ययन भएको छैन हामीकहाँ। पानीमा धेरै एक्टिभिटी हुनसक्छ देखेको छु,’ उनले सुनाए।